१. पहिलो लघुकथा
(आमा विषयक पहिलो लघुकथासंग्रहबाट)

बाकस

वनमाली निराकार

वनमाली निराकार

बूढी आमा पिंढीमा बसेर तरकारी बनाई रहेकी थिइन् । तीन चार जना छिमेकी आँगनमा देखा परे । बूढीआमा आँखाले राम्रै देखे पनि कानले रम्ररी सुन्दिनन् । त्यसैले मान्छेले भनेका कुरा खण्ड खण्डमा सुन्थिन् र खण्डमै बुझ्थिन् । यति सबेरै आफ्नो आँगनमा आइपुगेका छिमेकीहरू किन आएका हुन् भन्ने आशयको प्रश्नवाचक दृष्टिले हेरिन् ।

त्यहाँ आएकामध्ये अलि पाको जस्तो देखिने मान्छे अघि सरेर भन्यो, ‘आमै, सदरमुकाम जानु पर्ने भयो हजुरको छोराको बाकस बुझ्न ।’

दाहिने हातले दाहिने कानलाई छेके जस्तो गरी भनिन्, ‘छोराको बाकस ? ‘

‘हजुर,’ पूर्ववक्ताले यत्ति भन्यो ।

त्यसपछि केही नबोली बूढी आमा तरकारीको भाँडो उठाइन् र भित्र पसिन् । र, केही बेरमा सदरमुकाम जान तैयार भएर निस्किन् ।

जिल्ला प्रशासन कार्यालयको परिसरमा चारैतिर एक प्रकारको स्तब्धता थियो । त्यहाँ केही मान्छे त थिए, ती पनि चुपचाप थिए । अचानक एउटा कुनाबाट पाँच छ वर्षको केटो ‘हजुरआमा’ भन्दै निस्कियो र बूढीआमासँग टाँसियो । बूढीआमाले पनि ‘मेरो नाति’ भनेर अँगालोले बाँधिन् । केटाको पछिपछि रुँदारुँदा थाकेका आँखा र गलित शरीर लिएर एउटी युवती बुढीआमा छेउ आएर उभिई ।
बूढीआमाले एक नजर बुहारीलाई हेरिन् र नातिलाई माया गर्नमा नै व्यस्त भइन् । युवती सासूलाई अँगालेर बेसरी रुन चाहन्थिन् तर सकिनन् । लोग्ने वैदेशिक गोजगारका लागि विदेशिएपछि सासूलाई एक्लै गाउँमा छाडेर छोरा पढाउने बहानामा सहर बस्न थालेकी हो ।
गाउँ छाड्ने बेलामा सानो बालकले हजुरआमालाई पनि सँगै लिएर जाऊँ भनी जिद्दी गरेकै हो तापनि उसले छोरालाई लगभग तान्दै घिसार्दै सहरतिर लागेकी हो । आज अचानक सासूसँग यस्तो अवस्थामा भेट्नु पर्ला सोचेकै थिइन ।

त्यसैले सासूसँग अँगालो मारेर निर्धक्क रुन सक्दिन । यस्तो अवस्थामा सासूबुहारी बीच कुनै सम्वाद हुने कुरै भएन ।

बुहारीले गाउँबाट आमालाई लिएर आउने छिमेकीसँगकुरा गर्न लागी – ‘काठमाण्डुबाट लास जिल्ला पठाइदिने खबर पाएपछि म यही बसेँ । लास बुझ्न जाँदा – परिवारमा को को हुनुहुन्छ ? तपाईं मृतकको को हो ? आदि प्रश्न सोधियो। गाऊँमा आमा हुनुहुन्छ भनेपछि लास बुझ्न आमालाई लिएर आउनू – भने त्यसैले तपाईँहरुलाई दु:ख दिएकी हुँ ।’

‘दु:खको के कुरा ? यस्तै बेला न हो छिमेकी चाहिने ! बरु औपचारिक काम सकौं पहिले,’ बूढी आमालाई लिएर आउनेहरूले भने ।

सबै कार्यालय भित्र पसे । आवश्यक कागजपत्रमा सासूबुहारीको ल्याप्चे सहीछाप लगाएपछि चारजना सिपाहीले लास भएको बाकस मोटरमा चढाई दिए ।

बूढीआमालाई पनि सबै मिलेर मोटरमा चढाए अनि सबै चढे । मोटर हिँड्नै लागेको बेला बुढआमाले हर्ष मिश्रित स्वरमा भनिन् – ‘मेरो छोरो पहिलेदेखि नै पौरखी नै हो । खूब मिहिनेती थियो । सधैँ भन्ने गर्थ्यो-आमा, तिमीलाई कुनै अभाव हुन दिने छैन । नभन्दै यी आज यति ठूलो ‘बाकस’ पठाएछ !’

###
(बिषय केन्द्रित भएर केही लघुकथा संग्रहहरू प्रकाशन हुन थालेका छन् । आमा विषयक पहिलो लघुकथा कृति “सौन्दर्यमा आमा” सम्पादक ममता मृदुलद्वारा सम्पादित एक संयुक्त कृति हो । यसै कृतिमा वनमाली निराकारको “बाकस” लघुकथा पनि संग्रहित छ ।

नेपाली साहित्यको आख्यान क्षेत्रमा वनमारी निराकारको नाम महत्त्वपूर्ण स्थानमा छ । २० को दशकको अन्त्यबाट उनी अनवरत रुपमा लघुकथा र कथाहरू लेख्दै आएका छन् । हाल वनमारी निराकार लघुकथा समाज, नेपालको लुम्बिनी प्रदेशको अध्यक्षमा रही नेपाली लघुकथालाई अझै माथि उठाउने काम गरिरहेका छन् ।

प्रस्तुत लघुकथा “बाकस” निर्दोष आमाको कथा हो । कथाले विदेशी श्रम र पारिवारिक जीवनले भोगेको समसामयिक विषय बोकेको छ । कारुणिक विषयलाई कौतुहलतामा उनिएको यो लघुकथा “सौन्दर्यमा आमा” संग्रहको एक महत्त्वपूर्ण लघुकथा पनि हो ।)

२. व्यापककाल

सास

लक्ष्मण अर्याल

लक्ष्मण अर्याल

“सास छ साहुजी ?” – उसले पसलेसँग सोध्यो ।

“कति जाने दिउँ ?” – साहुजीले प्रतिप्रश्न गरे ।

उसले टाउको कन्यायो र भन्यो – “सबैभन्दा सानोलाई कति पर्छ साहुजी ?”

साहुजीले भने – “यो अठार सय, यो पच्चीस सय र अनि यो प्रतिगोटा ३ हजार ।”

“ओहो !” – उसको आश्चर्य एकाएक चुलियो ।

साहुजीले भने – “सास किन्न आउनेहरू धेरै भइसके । एकछिन बस्यौ भने यो पनि सकिन्छ । भन, कुन दिऊँ ?”

सबैभन्दा सानो सासलाई पनि ३ सय नपुग छ उससँग । यसैले साहुजीसँग गथासो बिसायो – “आमा सिकिस्तै छिन् । सास नभए बाँच्दिनन् होला । अलिकति सास जोहो गर्दिन पाए हुन्थ्यो । कोभिडले सासको मूल्य र माग दुबै अचाक्ली नै बढाएको छ ।”

बजारमा एकाएक भीड बढ्यो । कार चढेर आउनेहरूले सबै सास कब्जा गरे अनि बोकेर हिंडे । हेर्दाहेर्दै सास पसल रित्तो भयो । पसल रित्तिएसँगै उसको आशा पनि रित्तो भयो ।

ऊ तन्द्राबाट बिउँझियो । सोच्यो – बाह्र दिन अघि एक भाँडो सास किनदिन सकेको भए सायद उसकी आमा भन्दै हुन्थिन् होला – “यो काले मोराले एक भाँडो सास जोड्न नसकेको भए म आकाश भैसक्ने थिएँ होला यतिखेरसम्म ।”

###
(नेपाली लघुकथामा ६० को दशकलाई व्यापककाल मानिन्छ । यही कालखण्डमा नेपाली लघुकथाले व्यापकता पायो ।

लघुकथाकार लक्ष्मण अर्याल ६० को सुरुवाती समयदेखि लघुकथामा उदाएका एक विशिष्ट लघुकथाकार हुन् । लघुकथा लेखन, सम्पादन र लघुकथाहरूको विवेचनात्मक दृष्टिकोण राख्न खप्पिस मानिने स्रष्टा अर्याल पेशाले प्राध्यापन गर्नु हुन्छ ।

प्रस्तुत लघुकथा “सास” अनौठो विषयमा लेखिएको कारुणिक र समसामयिक लघुकथा हो । कथाकारको कल्पनाशीलताले सामान्य विषय सोचिएको सासलाई अनौठो रुपमा प्रस्तुत गरिदा लघुकथाले सुरूबाट नै पाठकलाई च्याप्पै समात्छ । लघुकथाको प्रस्तुति बेजोड र विषय कुमारी छ ।)

३. मलाई मन परेको लघुकथा

नमस्ते

हेमलता उप्रेती

म शिक्षक । आफूलाई बाल मनोविज्ञानको प्रयोगकर्ता ठान्छु । चार कक्षामा पढाउँदै थिएँ । पाठ थियो हाम्रा साँस्कृतिक मूल्य मान्यता ।

हेमलता उप्रेती

त्यो बगैँचाका सबै फूलहरू मेरालागि समान हुनुपर्थ्यो । थिए । तथापि चन्चलता विशेष थिई किनकि ऊ मौरीको रानोजस्तै थिई ।

पढाउने क्रममा मैले देवीदेवताको कुरा गरें । त्यतिबेला ऊ पुलकित हुनुपर्थ्यो । भइन ।
अनि मैले कुरा गरेँ, हजुरबा, हजुरआमाको । त्यतिबेला उसले रमाउँदै तिखो श्वरमा उसका हजुरबा हजुरआमाको इतिबृतान्त सुनाउनुपर्थ्यो । सुनाइन । ऊ पुक्क फुलेर बसिरही ।

फेरि मैले कुरा गरेँ, गुरु र गुरुआमाहरूको । त्यतिबेला उसको जूनजस्तो मुहार खुसीले चम्किनु पर्थ्यो । अहँ । पटक्कै चम्किएन । उल्टो कालो बादल पो छायो त्यहाँ त !

मलाई असह्य भयो । अनि छेउमै गएर आँखै जुधाएर सोधें, “आज के भयो ? सन्च त छ ?”

आँखिर चन्चलता न थिई । उसको रिस कति बेर टिक्न सक्थ्यो र ? मुख फुलाउँदै मलाई आँखा तरेर उसले प्वाक्क बोली, “मैले अगि नमस्ते गर्दा किन नफर्काएको त ?”

###
(हेमलता उप्रेतीको सुरुवाती लघुकथादेखि नै म उनीको नियमित पाठक र पहिलो टिप्पणीकार हुँ । तसर्थ उनका लघुकथाको प्रत्येक परिवर्तनको म साक्षी हुँ । उनी आफ्ना प्रत्येक लघुकथाहरूलाई आफ्नै लघुकथाहरूले जित्दै हिँड्थिन् । पछिल्लो समय एक्कासि कोरोनाबाट संक्रमित हेमलता कोरोनाबाट पराजित भएर मृत्युवरण गरिन् । यस दुखद् क्षणले उदाउँदै गरेको एक कलिलो सूर्य नेपाली लघुकथाको आकाशबाट एक्कासि गायब भएको छ ।

हेमलता प्रकृति, पशु र निर्जिव वस्तुहरूलाई नायकत्त्व प्रदान गरी लघुकथा लेख्ने पछिल्लो समयको एक शक्तिशाली लघुकथाकार थिइन् । उनको एक लघुकथाकृति प्रकाशोन्मुख छ ।
प्रस्तुत लघुकथा “नमस्ते” बाल मनोविश्लेषणको एक बेजोड लघुकथा हो । कथाले एक बालिकाको चञ्चलताको उद्घाटन गर्दै बालिकामा देखिएको परिवर्तन र परिवर्तन गराउने कारणलाई कुशलतापूर्वक सजाएको छ । कथा हृदयस्पर्शी छ ।)