बरन्डामा मोटो मैनबत्ती बालेर तिनीहरूले एउटा बन्द बाकस एम्बुलेन्सतिर लिएर गए ।
डिभी परेर सुखका लागि अमेरिका पसेको पाँच वर्ष भयो । मेरो छिमेकी बुढो भिक्टर जोसेफलाई मैले प्रायः देखिरहन्थेँ । ऊ सधैँ सेतो कुकुर डोर्याएर यताउता गरिरहन्थ्यो । यतिका वर्षमा मैले मुस्किलले ऊसँग आठ-दशपटक मात्र बोलेँ होला । प्रायः ऊ उसकै तानामा हुन्थ्यो र म आफ्नै सङ्घर्षमा हुन्थेँ ।
ऊसँगका बसाइमा उसले मलाई पटक-पटक भनेको थियो — “पारिवारिक जिन्दगी त तिमीहरूको राम्रो लाग्यो ।” उसैसँगका उठबसबाट मैले थाहा पाएको थिएँ — उसको एउटा छोरो छ । नाम ह्यारिस हो । अठार पुगेपछि ऊ चराझैँ गुँड छाडेर भुरुरु उड्यो । ऊ व्यस्त र बेफुर्सदिलो डक्टर भएको छ । उसको नाम छ, चर्चा छ । अहिले ऊ भए ठाउँ पुग्न उडेर पाँच घण्टाको समय लाग्छ । प्रायः ऊ बिदा मिलाएर दुई-चार वर्षमा एकचोटि मात्र बुढालाई भेट्न आउँछ । एक-दुई दिन रमाइलो गर्छन् अनि त्यस घरमा बुढा र त्यही सेतो कुकुर मात्र देखिन्छ ।
आज भिक्टर बितेछन् — घरभित्रै । रातिदेखि कुकुर बेस्सरी भुकेकाले नजिकैका प्रहरीहरू पुगेर ढोका खोल्दा बुढाको प्राण गइसकेको रहेछ । एम्बुलेन्स आयो । बुढालाई एउटा बाकसमा बन्द गरेर अन्त्येष्टिका लागि लिएर गए । हाम्रो उताको संस्कारमा झैँ मृत्युमा न मलामी थिए न छोरो थियो न छिमेकीको लस्कर । तेह्र दिनको क्रियाकर्म कता गरिनु । क्रियाकर्म भनेकै एउटा बलिरहेको मैनबत्ती हुन्थ्यो जो हृदयदेखि मृत्युमा बलुन्जेल पग्लिएर रुने आफन्त बन्थ्यो ।
भिक्टर जोसेफ बितेपछि यहाँकै कानुनअनुसार लागेको अन्त्येष्टि खर्चको बिल डक्टर ह्यारिसका हात पर्यो होला । बिदा मिलाएर अत्येष्टि कार्यमा आउन नपाए पनि उसले सुनेको दिन एउटा रुने मैनबत्ती बाबु जोसेफका नाममा बाल्यो पनि होला ।
मेरो पनि ननापी ह्यारिसजस्तै एउटा छोरो छ । यहाँको संस्कृति र संस्कार भिन्न भएर ऊ के बाँच्न सक्ला र खै । सायद मेरा अन्त्येष्टिकर्मका लागि पनि यो सपनाको देशमा एउटा रुने मैनबत्ती कुनै फ्याक्ट्रीमा बन्दै छ होला ।
रत्ननगर – ३, चितवन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला