साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा-कसिङ्गर

Chovar Blues Mobile Size
नीलिमा आचार्य (असम)

जीवनलाल एक जना सफल व्यक्ति हुन् । धेरै कष्ट गरेर उनले सफलता प्राप्त गरेका छन् । मान्छेहरू उनलाई मायाले “जीवने” भनेर बोलाउन गर्थे । त्यसैले “जीवने” उनको परिचित नाम बनिसकेको थियो । सानैदेखि गाउँका मान्छे उनलाई “जीवने” भनेर बोलाउने गर्थे । “यसो गर जीवने !” “उसो गर जीवने !” उनलाई “जीवने” भनेको सुन्दा धेरै दु:ख लाग्थ्यो, आफैँलाई रित्तो भाँडो, जताततै लड्ने जस्तो लाग्थ्यो ।

उनले एकदिन एउटा प्रण लिए “अब यो जीवनेले जीवनमा केही गरेरै मात्र छाड्ने छ, यति अर्थ बटुल्छ कि मान्छेले जहाँ जस्तोसुकै बेलामा पनि मलाई सलाम ठोक्ने छन् । बस् जीवनेले दायाँबायाँ केही हेरेनन्, सफलता हासिल गर्नलाई दिनरात मिहिनेत गर्न थाले । अथक परिश्रम र असीम साहसले जीवनेले चाडैँ सफलता पनि प्राप्त गरे तर आफन्त, सम्बन्धी, इष्टमित्रहरूको साथ छोड्दै गए । कर्ममा यति मग्न भए कि साथीहरूले बोलाएको पनि सुनेनन्, कष्ट मात्रै गरे तर भोग गरेनन् । अति कम समयमै उनको नाम “जीवने” बाट सेठ जीवनलाल भयो । नामका पछाडि “लाल” जोडिनु नै उनका निम्ति काल भयो, उनले आजभोलि बोलीमा दम्भ र अहङ्कारको अत्तर छर्किन थालेका छन् , व्यवहारमा पनि धेरै परिवर्तन आउन थालेको छ ।

घरमाथि घर बनाउँदै गए तर बिर्से कि उनले बनाएको महल माटामै खडा छ । आकाशमा उड्दा उड्दै धरतीलाई बिर्से । एक दिन जीवनलाल आफ्नो पाँचतले महलको “बेलकनी” मा बसेर तलका मान्छेलाई हेर्दै थिए, उनलाई यो सोच आहिरहेको थियो कि “यी जमिनमा घर बनाएर बस्नेहरूले कहिल्यै अनुभव गर्न सक्दैनन् सफलताको आनन्द । जान्दैनन् सुख के हो ? प्राप्ति कसलाई भन्छन् त्यो पनि जान्दैनन् यी जमिनमा बस्ने तुच्छ मान्छेहरू ।”  यी कुरा सोच्दासोच्दै एक्कासि उनका आँखामा कतैबाट मसिनो कसिङ्गर हावामा उडेर आएर पस्यो आँखा मिच्दा पनि गएन । उनले चारैतिर धमिलो देख्न थाले । भित्र गएर आँखामा पानी छ्याप्नुपऱ्यो भन्दै उठ्न खोज्दा सिढीबाट झरे । धेरै चोट लाग्यो, हातखुट्टा भाँच्चिए, शिरमा पनि चोट लाग्यो ।

आज जीवनलाल अस्पतालमा बसेर यो सोच्दै छन् कि एउटा सानो कसिङ्गरका सामुन्ने पराजित भएपछि जीवनमा अहङ्कार गरेर के फाइदा ? आज उनीसँग गगनचुम्बी महल छ तर उनले एउटा कोठामा आबद्ध भएर बस्नुपरेको छ । धेरै गाडीहरू छन् तर उनले “हुइल चेयर” को भरमा एउटा कोठाबाट अर्को कोठामा घुम्नुपरेको छ ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...