देवीप्रसाद थापा ‘मामा’ (मणिपुर)

हामी चढेको बस इम्फाल सहर पुग्न लागेको थियो ।

“गाडी रोक, जान हुँदैन । आतङ्क भएको छ । भागाभाग देख्दैनौ ? मर्ने विचार छ क्या हो ? मान्छेका हातगोडा भाँचिएको हेर,” एउटा प्रहरीले भन्यो ।

साँच्चै त्यस्तै थियो । मान्छेले मान्छे हेरेको थिएन । पसलका दैलाहरू बन्द, स्कुल, कलेज, अफिस-अड्डा सबै ठप्प थिए । हातगोडा भाँचिएका मान्छे ओसार्ने एम्बुलेन्सहरू लामेताँत कुद्दै थिए ।

“दाइ के भयो ?” ,ड्राइभरले एउटा प्रहरीलाई सोध्यो ।

“भोलि समाचारमा पढ्नू” , प्रहरीले छोटो जवाफ दियो ।

“सतर्क रहेस् । ज्यान, धनको सुरक्षा गरेस् । ठाउँमा सुरक्षाकर्मी पुग्न सकेका छैनन् । ठूलै आतङ्क भएको अनुमान छ,” माइकबाट प्रशासनले फुक्यो ।

मणिपुर ठाउँ पनि अचम्मको छ । यहाँ संस्था जन्मिन र फुट्न बेरै लाग्दैन । समस्या देशभरि नै भए पनि यहाँ अलि बढी र बेग्लै हुने गर्छन् । कति बेला को मर्ने थाहा हुँदैन, सधैँ त्रासैत्रास।

बेलुकी चारबजेसम्म त्यस्तै रह्यो ।

कसैले मुख्यमन्त्रीका गाडीमा बम विस्फोट भएको कुरा ल्याए । कसैले राज्यपाल मारिएको भन्ने सुनाए ।

आ-आफ्ना बनावटी कुरा, परिभाषा मिलेन ।

पाँच बजे प्रशासनले फेरि माइकमा फुक्यो,” तपाईँहरू अब आ-आफ्ना घर जान सक्नुहुन्छ, सहरका माझमा बिहान नौ बजे हल गोरु जुधेछन् ।”