पीपी कोइराला

एक दिन  प्रधानमन्त्रीले अर्थमन्त्रीलाई सम्झाउँदै थिए, “जस्तो  बजेटको आशा   नागरिकको छ  त्यहीअनुसार बजेट तयार गर्नुहोस है अर्थमन्त्रीज्यू ।”
“हस् प्रधानमन्त्रीज्यू म आगामी बजेटमा  जनजीवन रक्षाका निम्ति दूरदर्शी कार्यक्रमहरू ल्याउने छु । जनताको जीवन जोगाउन र  जीवनस्तर उठाउनका लागि  राहत प्याकेजदेखि सामाजिक न्यायसम्बन्धी धेरै कार्यक्रमहरू ल्याउने छु प्रमज्यू।”
प्रमले मुस्कुराउँदै सोधे, “उसो भए के के कार्यक्रम ल्याउनुहुनेछ त? केही सुनाउनू न ।”
अर्थमन्त्रीले गोजीबाट  एउटा कागज निकाल्दै भटाभट सुनाउन थाले,
  • “प्रत्येक वडा समितिको कार्यालयबाट कोरोनाको निःशुल्क ओषधि उपचारको व्यवस्था गर्ने र स्थानीय सरकारी खाली भवन, विद्यालयका कोठाहरूको प्रयोग गर्ने र  सबै जनतालाई तु खोपको व्यवस्था गर्ने साथै प्रत्येक वडामा १ सरकारी डाक्टरसहित ५ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने,
  • प्रत्येक  वडामा  प्रहरीका अतिरिक्त १० जना  स्थानीय व्यक्ति रहेको सुरक्षा फोर्स बनाउने जसले सबै जनतालाई  नियमानुसार लोकतान्त्रिक ढङ्गले शान्तिपूर्वक जनजीविका चलाउन मद्दत गरोस्,
  • बेरोजगारी भत्ता तोक्ने,
  • गाउँ, भिर र पाखामा खेती गर्ने सबै किसानका परिवारलाई  मलबिउ अनुदान  दिने  र सबै किसानहरूको सबै बालीको निःशुल्क बिमा  पनि गर्ने,
  • व्यापारबाहेक अन्य कुखुरा, माछा, मौरी, पशुपालन आदि कृषिकार्यमा लागेका सबैको निःशुल्क  बिमा गर्ने,
  • त्येक स्थानीय निकायमा दुईदेखि पाँच वटासम्म सरकारी कृषि उत्पादन सङ्कलन केन्द्र खोल्ने,
  • खाद्यान्न, जडीबुटी औषधि, दूध, कपडा आदि सम्बन्धित सरकारी उद्योगहरू खोल्न प्रत्येक  स्थानीय निकायभित्रै पाँचदेखि १० वटा अलग-अलग मिल सञ्चालन गर्ने,
  • सरल जीवन यापनका लागि नभई नहुने वस्तुमात्र हालको बजार दर भन्दा २५% कम मूल्यमा (कोटामा)पाउने गरी प्रत्येक वडामा १० देखि १०० वटा (जनसङ्ख्याका आधारमा ) सरकारी पसल तयार पार्ने,
  • देशभरि नेट योजना सहज बनाई हालको भन्दा ९0% कम दरमा सम्पूर्ण जनतालाई उपलब्ध गराई प्रत्येक  अफिसबाट हुने काम ग्राहकहरूले इन्टरनेट सेवामार्फत नै गर्न सक्ने बनाउने,
  • कसैको भनसुन र घुसबिना नै सबै जनताको अफिसियल काम हुने सिस्टम ल्याउने,
  • सामाजिक सुविधामा वृद्धि गर्न विगतको दायरा फराकिलो पार्ने,
साथै सबै स्वदेशी उत्पादन र सेवामा ५०%  कर  घटाउने आदि जस्ता जनप्रिय र लोकप्रिय कार्यक्रम छन् ।
प्रधानमन्त्रीज्यू ।”
यति पढिसिद्ध्याएर अर्थमन्त्रीले टाउको उठाएर हेर्दा त प्रधानमन्त्री अघि नै बेहोस भइसकेका रहेछन् । कोही सल्लाहकारहरूले  पानी छ्याप्तै र कोहीले हम्किँदै पो थिए ।
डरले थरथर काँप्दै अर्थमन्त्रीले सोधे, “के भको उहाँलाई?”
एक जना सल्लाहकारले हकार्दै भने, “तपाईंँ के खालको अर्थमन्त्री, कसको सिफारिस को हो तपाईँ, हँ?
अर्का सल्लाहकार,  “एकैचोटि देशलाई अमेरिका, बेलायत, जापान बनाउन खोजेर हुुन्छ?”
तेस्रो सल्लाहकार, “त्यसपछि देशमा सिस्टम आउला अनि हाम्रो के हुन्छ थाहा छ? यताउता आँखै नहेरी पढेको पढ्यै गर्नुपर्छ !”
चौथा सल्लाहकार, “अब भो अति भो नसुनाऊ भन्दाभन्दै उहाँ बेहोस हुनुभएको हो ,बुझ्नुभो?।”
अर्थ मन्त्री ट्वाँ परेर हेरेको हेऱ्यै भए अनि मनमनै सोच्न थाले, “जस्तो  बजेटको आशा नागरिकको छ  त्यहीअनुसार तयार गरेकै हुँ क्यारे ! “
 धरान