गाउँ छोडेर काठमाडौँ आएपछि गाउँले र सहरिया जीवनशैलीबीच दैनिकीमा हुने फरकपनका गहिरा खाडल ठम्याउन नपाउँदै एक जना नवमित्रले ठट्यौली पारामा सोधेका थिए,
“मित्र! विवाह गर्नुभयो ?”
“छैन”को उत्तरछि फेरि उनले सोधे,
“कोही केटीसाथी?”
फेरि “छैन” को जबाफमा उनले भनेका थिए, “ अरे यार, कोही कल्पना देवी वा भावना देवी त होलान् नि जीवनमा?”
म अवाक् बनेको थिए त्यस बखत !
पछि थाहा भयो अविवाहित अनि कोही केटीसाथी नभएका ठेट्ना केटाहरूले कोही केटीसाथी भएको भान दिने लफ्फाजी रहेछ,”कल्पना देवी अनि भावना देवी !”
यो बुझेपछि म मरी-मरी हाँसेको थिएँ ।
हामी प्रेम सम्बन्धमा अनुबन्धित नभएकाहरू यिनै कल्पना देवी र भावना देवीसित प्रेमिल मनोरम साथ र समय बिताउँथ्यौँ, विवाह नगरुन्जेल ।
विवाहपछि आफ्नै खाले जीवन-पद्धति रहन्छ । मेरो पनि रह्यो नै ।
सकुशल चलेको मेरो जीवनमार्गमा एकदिन म आमालाई भेट्न घरको सिँढी चड्दै थिएँ । घरमा मेरो मोवाइलले सङ्केत गऱ्यो र हेरेँ कुनै सुन्दरी नारीले फेसबुक साथीका निम्ति अनुरोध गरेकी रहिछिन् ।
अरू थुप्रै साथी बन्ने अनुरोधको व्यवस्थापन गर्न पाएको थिइनँ मैले । किन हो कुन्नी! “भावना” नामले मलाई निकै मोहित गऱ्यो । कारण भने थाहा भएन, मैले केही नहेरी सहृदय साथ उनलाई साथी स्वीकार गरेँ ।
साथी बनेपछि उनको भावभङ्गी, बहुत आकर्षक रह्यो मेरा निम्ति । उनी मेरो मनमा खेलिन्, दिलमा बसिन्, दिमागमा हाँसिन र सपनाभरि नाचिन् ।
हरदिनका दैनिकी बिहान, दिउँसो, बेलुका र राति उनी मेरो भावयात्रामा साथ हिँडिन्,यसो भनूँ, मेरो दैनिकी नै परिवर्तन गरिदिइन् । यस्तो लाग्थ्यो मनमा कि यिनी मेरी मानक हुन्, यिनको भावगत अनुपस्थिति मेरा निमित्त असह्य बोध हुन थाल्यो । जस्तै समयाभावमा पनि उनीसितको फेसबुक वार्तामा मेरो समय सुलभ बन्न थाल्यो । यस क्रियामा सायद उनी पनि रमाएकै हुनुपर्छ भन्ने मेरो ठम्याइ थियो ।
उनीप्रतिको यो लगाव कुनै स्वार्थपरक वा भिन्न लैङ्गिक आकर्षण थिएन मेरा निमित्त । उनले, बताएको उनको आफ्नो अवस्था र दयनीय परिवेश अनि कारुणिक सृजनशैली मेरा लागि एउटा जीवन्तता बोध हुन्थ्यो, अझ भनूँ कुनै पुजारीका निमित्त मन्दिरभित्रको देव वा देवीझैँ प्रतीत हुन्थ्यो ।
मेरो उनीसितको माग एउटै थियो कि म कुन नामको वा रूपको देवी वा देवयानीलाई मानक मानिरहेछु, श्रद्धाको कुन सिदा वा फूलप्रसाद उनका निमित्त उपयुक्त होला? मेरो मन तुलबुलाइरहन्थ्यो उनलाई बुझ्न हरक्षण ।
उनको शैलीयुक्त चेतको भावजन्य संयोजनले मलाई जहिल्यै आश्वस्त बनाउँथ्यो, उनी बादलमाथि चढेर हावाको गतिमा क्षितिज नजिक जहिल्यै आएको देख्थेँ म तर क्षितिज छिचोलेर उनी कहिल्यै पारिलो पाखातर्फ आँइनन् ।
एक दिनको कुरा हो उनी उसै गरी बादलमाथि तुफानसरि आइरहेकी थिइन् । क्षितिजवारि घाम लागेको थियो बेसरी भने उनी उता पारि जाडाले काँपिरहेकी थिइन् थरथरी ।
मैले न्यानो पनका निमित्त रापिलोमा आउन आग्रह गरेँ, अनुनय-विनय गरेँ र भनेँ,
“डाँडापारिकी मेरी मनकी जून
पूर्ण आकारकी कहिले हुनेहुन्
मेरो मनको अन्तर कुन्तरमा
प्रकाश पुञ्ज भै कहिले उदाउने हुन् ।।”
तर उनी आइनन् ।
खै किन हो कुन्नी ! उनी यो पाटो मन पराउँदिन थिइन् ।
म पनि अलि मुडी स्वभावको मानिस, जिद्दी नै गरेँ मैले उनलाई पारिलोमा ल्याउन ।
मेरो ध्येय केवल उनीलाई ओसिलोबाट मुक्ति दिलाउनु नै थियो ।
मेरो जोर जबरजस्ती उनलाई मन परेन सायद त्यसैले उनले पठाउने गरेको भाव र चेत दुवै बन्द गरिन् । विमानरूपी बादलको वाहनको आवाज बन्द भयो, बिजुलीझैँ चम्किली मनकी मेरी मानक “भवाना” ध्याप्प निभिन् ।चारैतिर मनको आकाशमा सन्नाटा छायो ।
सम्झेँ मेरो अविवाहित कालमा मन मस्तिष्कमा रम्ने भावना देवी यस्तै रहिन्, अब कल्पना देवी कस्ती होलिन् कुन्नी !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।