‘ ढोका खोल्नुस् ! हामी हामी देश र जनताका लागि लडाइँ लड्ने क्रान्तिकारी लडाकु । बाहिर ठूलै गाइँगुइँ आवाज सुनेर परशुराम दम्पतीले डरई-डराई ढोका खोले ।
” किन यति ढिला गरेको ?” नाइकेको स्वर ठूलो थियो ।
“ मस्त निद्रामा रहेछु हजुर” ,परशुराम फाल्गुन महिनाको गर्मीमा पनि पुषमाघको जाडामा जस्तै थरथर काँपिरहेको थियो ।
” हामी भने देश र जनता भनेर रातदिन नसुती नखाई काम गर्ने तपाईँहरूचाहिँ मस्त निद्रामा है !” फेरि कड्कियो नाइके ।बाहिर कम्तीमा बीस जनाको समूह देख्यो परशुरामले ।
” हामीलाई छिटो भन्दा छिटो खानाको व्यवस्था गर्नू” ,नाइकेले परशुरामलाई आदेश दियो ।
“ हामी त मजदुरी गरेर खाने मान्छे हौँ हजुर, दुई तीन केजी चामल र अलिकति पिठोबाहेक केही छैन घरमा” ,परशुराम डराई-डराई बिन्ती बिसायो ।
“हामीलाई थाहा छैन जसरी पनि एक घण्टामा खाना तयार हुनुपर्छ तर पल्लो छिमेकीले केही थाहा नपाओस् नि विचार गर्नू” ,नाइकेले औला ठड्याउँदै भन्यो ।उनीहरू पछि आउने गरी गए ।
परशुराम एकैछिन गाउँ डुलेर दश केजी बराबरको चामल सापट लिएर आयो । श्रीमतीले आफ्नै बारीको घिरौँला टिपिन् रतेसैमा अलिकति आलु मिसाएर तरकारी पनि तयार पारिन् ।
“हैन बूढा जनताका लागि लडेका रे हामी जनता हैन कि के ?” ,श्रीमतीले पाकेको भात अगेनाबाट उतर्दै बुढालाई प्रश्न गरी ।
“खै के जान्ने बूढी सधैँ देश र जनता भन्दै हिँडेका हुल धेरै देखियो हाम्रो दुःख जहाँको त्यहीँ छ । यी सकी नसकी सहयोग गर् भन्छन्” ,लामो स्वास फेर्दै परशुरामले श्रीमतीलाई भन्छ ।
“ गरिबका दिन आउँदैनन् होला बूढा, यसरी नै जीवन जाने भो है हाम्रो” ,श्रीमतीले फेरि गुनासो गरिन् । “कसैको आशभरोसा त छैन, आफ्नो काम सम्म पनि निर्धक्कसँग गर्न पाए हुन्थ्यो जस्तो लाग्छ तर खै!” ,फेरी फुसफुसायो परशुराम । बाहिरको आवाजले जहानलाई चुप हुने इसारा गऱ्यो ।
एक हुल क्रान्तिकारीहरू गरिबको घरमा तयार पारेको खाना खाएर आफ्नो बाटो लागे । गाउँलेलाई चुइँक्क सम्म पनि थाहा भएन । परशुरामका बूढाबूढी सुते ।
बिहानीपखको ठुलो विस्फोटको आवाजले श्रीमान् श्रीमतीको निद्रा खुल्यो । लगातार पाँच छ पटकको गाउँनै हल्लाउने गरी भएको विस्फोटले सारा गाउँलेको सातो उडेको थियो । उज्यालो भएपछि सबैतिर हल्ला खल्ला भयो । गाउँमा भएको स्वास्थ्य चौकी, टेलिकमको टावर, झोलुङ्गे पुल, विद्युत् कार्यालय, नापी कार्यालय, खानेपानीको ट्याङ्की ध्वस्त हुने गरी विस्फोट भएको रहेछ । प्रहरीको बाक्लो उपस्थिति भइसकेको थियो । विस्फोटनले लागेको आगो निभाउन सबै व्यस्त थिए । परशुराम दम्पतीले क्रान्तिकारीहरूले जनताका लागि गरेका काम नजिकबाट नियालिरहेका थिए । क्रान्तिकारीहरूले देश र जनताका लागि राति आएर गरेका कार्यको ज्ञान उनीहरूलाई मात्र थियो । यो कस्तो क्रान्तिकारी काम रहेछ ? दुवैका मनमा एउटै प्रश्न एकसाथ उब्जियो ।