साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा: श्रीमतीको स्वीकृति

अमित सङ्ग्रौला

चिसो मौसम छ । श्रीमती चुल्होमा दाउरा ठेल्दै छिन् ।

छोराछोरी अर्को कोठामा पढिरहेका छन् । वातावरण स्तब्ध छ । माघको महिना भएकाले चिसो अत्यधिक बढेको छ ।

श्रीमतीलाई भनूँ या नभनूँ मन दोधारमा छ । थोरै पिउन पाए पनि हुन्थ्यो नि ! मौसमले पनि च्यालेज गरेको छ । अलिकति पिउँदैमा के हुन्छ र ?

जहिल्यै पिउने हो र ?

कहिलेकाहीँ पिउदा के हुन्छ ?

यस्ता अनेकन् कुरा मनमा उठिरहेका छन् ।

श्रीमतीलाई कसरी भनूँ ? उनले स्वीकृति दिने हुन् कि होइनन् !

अनेक प्रश्न मनमा आउँछ । अर्को मनले भन्छ, चिसो समय छ भन्दैमा रक्सी नै पिउनु पर्छ र ? नपिउँदा पनि हुन्छ नि !

सोतेले आगो फुक्दै श्रीमती मलाई पुलुक्क हेर्छिन् । म उनलाई हेरिरहेको थिएँ, बेला-बेलामा । श्रीमती त अझ नियालेर हेर्न थालिन् । उनको गाला रातो हुँदै गयो । नाक पनि फुल्न थाल्यो । यस्तो लाग्दै थियो- भित्रभित्रै उनलाई क्रोध उत्पन्न भइरहेको छ ।

यत्तिकैमा उनले मलाई घुरेर हेर्न थालिन् । म खङ्ग्रङ्ग भएँ । मेरो मनभित्रको कुरा थाहा पाइन् क्या हो ? म उनको नजिकै गएँ । नजिक जाँदा एक किसिमको डर पनि लाग्यो । हिम्मत जुटाउँदै मैले उनलाई बिस्तारै सोधेँ, “सावित्रा म तिमीलाई खाना पकाउन सहयोग गरुँ ?”

केही बोलिनन् उनी । मात्र पाकेको खाना अँगेनामाथि राखिन् । केही समय उनी शान्त देखिइन् र थोरै मुस्कुराइन् ।

मुस्कुराउँदा उनका मिलेका दन्त लहर देखियो र साथमा आवाज पनि निस्कियो र त्यो मेरा लागि मधुर ध्वनि थियो । भनिन्, “दराजभित्र अस्तिको व्हिस्की राखी दिएकी छु गएर पिउनुहोस् । त्यसपछि खाना खान आउनु चाँडो । मैले स्वीकृति दिएँ ।”

बिर्तामोड, झापा

प्रतिक्रिया
Loading...