१. पहिलो लघुकथा
(मधुपर्क कथा विशेषाङ्कको पहिलो लघुकथा)
विचार
सुमन सौरभ
हत्तपत नआउने उच्छृङ्खल विचार आयो एक दिन – कति लर्याङलुरूङ मात्र गर्नु, अब देश बनाउँछु ।
मुखमा मास्क लगाएँ, आँखामा चस्मा लगाएँ, टाउकादेखि घाँटीसम्म फनफनी गलबन्दी बेरेँ र आफ्नो ड्राइभरको थोत्रो मोटरसाइकल लिएर सडकमा निस्किएँ ।
सडक देखेर अलमल भो, सडक कालोपत्रे गर्नु कि बिनाकारण सडक जाम गरेको बुद्धिमा अलकत्रा खन्याउनु ? धत् ।
अन्तरार्ष्ट्रिय स्तरको धमिलो विचारमा दुईचार अफिस पनि गएँ । घुस लिने र घुस दिनेको भीड थियो, कमिसन खाने र कमिसन दिनेको भीड थियो, काम चोर कर्मचारी र लाइन मिच्ने जनताको भीड थियो ।
पत्याउनुपर्ने कुरो नपत्याउने र नपत्याउने कुरो पत्याउने दुई चार जनासँग कुरा गरेँ । सरकारी अफिसमा काम गरेर निजी स्कुल, निजी अस्पतालमा लगाव भएका कर्मचारीहरूलाई आँखैले कुटेँ । चियापसलमा सिन्को नभाँची गफै मात्र हाँक्ने र दैलो छेउको फोहरमा सरकारलाई सराप्ने फुर्सदिलाहरूलाई मनमनै लात्तले हानेँ ।
दिनभरिको दौडाहाले थाकेर फर्किएँ र मभन्दा बढी थाकेको मोटरसाइकल थन्काएँ ।
ड्राइभर र सुरक्षाकर्मीहरू दौडदै आए – बिहानदेखि कसैलाई खबर नगरी कता हराउनुभएको हजुर ? केही तलमाथि परेको भए ?
भन्दिएँ – जनताको लागि केही विकासको काम गरिदिउँ भनेर “फिल्ड भिजिट”मा गएको थिएँ । जताततै स्याउँस्याउँती निकम्मा जनताको बिगबिगी पो देखेँ । देश बनाउँछु भनेर हिँडेको, यस्ताहरूको देश के बनाउनु, कसका लागि बनाउनु ?”
सुरक्षाकर्मीहरूको गनगनको बीचमै दिनभरि नबसेको आफ्नो अफिस पसेँ । भित्तामा देशको नक्सा देखेर फेरि कहिल्यै नआउने अश्लील विचार आयो, “अब देश बनाउँछु ।”
###
(मधुपर्क पूर्णाङ्क ६२१ कथा विशेषाङ्कको रुपमा देखिएको छ । यसै अङ्कमा सुमन सौरभको लघुकथा “विचार”लाई लघुकथाहरूको सूचीमा अगाडि राखिएको छ ।
सुमन सौरभ नेपाली साहित्यमा लघुकथा मात्र लेख्ने स्रष्टाको सुचीमा छन् । उनी स्वैरकल्पनायुक्त समसामयिक र कालजयी लघुकथा लेख्न माहिर छन् । लघुकथा समाज, नेपालको केन्द्रीय कोषाध्यक्षसमेत रहेका सौरभले लघुकथाका केही उम्दा कृतिहरू प्रकाशन गरेका छन् ।
प्रस्तुत लघुकथा “विचार” सत्तावालको मनमा पलाएको अनौठो विचार हो । कथाले देशको वास्तविकतालाई नजिकबाट छोएको छ । देश विकास नहुनुमा स्वाँठ जनता र नेताको अश्लील विचार कारक तत्त्व रहेको कुरो कथाकार सुमन सौरभले पाठकलाई छर्लङ्ग पारिदिएका छन् । कथा कालजयी छ ।)
२. सक्रियकालीन लघुकथा
चरित्रहीन
सञ्जय मित्र
‘तपाईँको साथीले मलाई त्यसरी किन घुर्छ ? उसले घुरेको मलाई फिटिक्क मन पर्दैन । उसको आनीबानी मलाई राम्रो मान्छेको जस्तो पनि लाग्दैन । गए राति मलाई फेसबुक रिक्वेस्ट पनि पठाएको छ । म्यासेन्जरमा मेरो खुब तारिफ गरेको छ । बदमास छ कि क्या हो, तपाईँको साथी ?’
फोनमा एकजना महिला साथीले मलाई सोधेकी थिइन् साँझमा । त्यस दिन चोकमा अचानक भेट भएपछि हामीले केही औपचारिकता निर्वाह गरेका थियौँ । मेरो एक जना पुरुष साथी पनि सँगै थिए । त्यहाँबाट छुट्टिएपछि साथीले ती महिलाको खुब तारिफ गरेको थियो । मसित फोन नम्बर मागेको थियो तर मैले आफ्नो मोबाइल उसलाई थमाउँदै मसित नम्बर नभएको बताएको थिएँ ।
‘फोनमै प्रत्युत्तर दिएँ । ऊ चरित्रहीन पुरुष हो । हरेक सहरमा उसका केटी साथी छन् । पैसालाई पानी पनि बुझ्दैन । जतिसुकै पनि खर्च गर्न सक्छ ।’
‘छ्या ! त्यस्तो पनि मान्छे हुन्छ ? सुनेरै घिन लाग्यो । तपाईँको पनि त्यस्तो साथी हुन्छ ?’
घृणा र अपशब्दका केही दुर्वचन कानलाई असहज लाग्यो । मेरो मनको ऐनामा मस्तिष्कले चरित्रहीनताको छवि खोज्न थाल्यो ।
‘एउटै बजारका हौँ । राम्ररी चिन्दछु । यात्रामा आज सँगसँगै परेका मात्र हौँ । मेरो घनिष्ट साथी भने होइन ।’
दुई दिनपछिको शनिबार । छोराछोरीलाई लिएर स्मारक पुगेँ । निस्कने बेलामा एउटा कार रोकियो । कारबाट दुई पात्र ओर्ले । दुवै जनाले एक साथ नमस्कार गरे मलाई अनि तालिमे स्वरमा बोले – यहाँ एउटा काम छ ।
त्यही पुरुष र तिनै महिला साथी छेवैको लजतिर पाइला बढाउँदै गर्दा अनुहारमा फरक-फरक मुस्कान सजाएका थिए ।
###
(नेपाली लघुकथाको ५० को दशकलाई सक्रियकालीन समय मानिन्छ । यही समयको सुरुवाती अवस्थादेखि नै सञ्जय साह मित्रले लघुकथामा कलम चलाएका हुन् ।
सञ्जय साह मित्र बज्जिका भाषासेवी हुन् । त्यसो त उनी बज्जिका भाषामा लघुकथा लेख्ने पहिलो लघुकथाकार पनि हुन् । साहित्य र पत्रकारितामा विशेष रुचि र दखल राख्ने सञ्जय प्रदेश नं. २ को होनहार प्रतिभा त हुन् नै, उनको प्रतिभाले नेपाली साहित्यमा नै सम्मानित स्थान बनाउँदैछ ।
प्रस्तुत लघुकथा “चरित्रहीन”ले मान्छेको अनौठो चरित्रको चित्रण गरेको छ । पैसा नहुन्जेल हीन चरित्र लाग्ने व्यक्ति पैसाको सामुन्ने चरित्रहीन नहुने वर्तमान उपभोक्तावादी समाजको कथामा प्रस्तुत गरिएको छ । कथाको अन्त्यले कथालाई अनेक व्याख्यामा अग्रसर गराएको छ ।)
३. मलाई मन परेको लघुकथा
भाइ
इन्दिरा गौतम
असम, भारत
“ए आरती, आरती……..,ए नानी……।”
मलाई सपनामै आमाले बोलाए जस्तो लाग्यो। राति निष्पट्ट अन्धकार थियो। टुकी बालेर आमाको छेउमा गएँ ।
आमा खुनमा लतपतिएको देखेर एकचोटि कहाल्लिएँ। मलाई असाध्यै डर लाग्यो । कसैले धारिलो हतियारले हाने छन् ! पक्कै, इ बाउ भनौदाले जस्तै लाग्यो। हिजो मात्रै छोरो जन्माउन नसक्ने नामर्दी भनेर आमालाई दाउराको चिर्पटले हानेर गएका घर फर्केका छैनन् । हेरेँ, मेरा दुइटी बैनीहरू मस्त निन्द्रामा छन् । चिच्याउँदै बाहिर निस्केँ। पल्लो घरको अगाडि गई रुँदै बोलाउन थालेँ। जेठीआमा घरका जराक जुरुक्क उठेर सोध्न थाले।
मुखमा भन्न आयो ‘आमा खुनमा… ।”
“ए,मोरीले त आजै पो ….” भनिन्, जेठीआमाले।
म डर र शङ्काले आतङ्कित भएँ। हातमा बोकेको टुकीको सहारामा जेठीआमा र म हाम्रा घरभित्र छिरिउँ। त्यति बेलासम्म बाउ घरमा फर्केका थिएनन्। मलाई जेठीआमाले आगो बाल्न भन्नुभयो। दुई जनाको कुराकानीबाट थाहा लाग्यो, आमाले अर्को बच्चा पाउन लागेको रहेछ भनेर। छेउमा गएर सोधेँ, ‘आमा, भाइ पाउन लागेको हो ? ‘
“अँ….।”
भाइ शब्द नै मलाई कति प्यारो छ। कसरी व्यक्त गर्न सक्थेँ र ! भाइसँग खेल्ने रहर…। आमाको घाइते अवस्थाबाट उद्धारमा जुटेकी जेठीआमाको मुखमा भगवान्का श्लोकहरू सुनिन्थ्यो। तर मेरो मनमा एउटै मात्र चाहना थियो, सबै साथीहरूका भाइ छन्। तर हाम्रो घरमा भने… ।
आमाको छटपटी, चिच्याई र जेठीआमाको साहसी आवाजलाई उछिन्दै अर्को झन् तिखो रुञ्चे स्वरले घरको छानै उचालो। जेठीआमाले मलाई तँसँग खेल्ने भाइ आयो है भन्दा एक्कासि म त खै के भएँ भएँ ।
त्यो बेला आमालाई युद्ध मैदानमा उभिएकी योद्धाजस्तै देखेँ जो भर्खर युद्ध जितेर मलाई भाइ र बाउलाई पिण्ड दिने छोरो उपहार दिई कलङ्कबाट मुक्त भएकी छन् । अब त बाउ पनि घर फर्किन्छन् होला नि ? भाइको आगमनले हाम्रो घरभरि खुसीको उमङ्ग छायो।
###
(लघुकथाकार इन्दिरा गौतम भारतीय भूमिमा रहेर नेपाली भाषामा लघुकथा लेख्ने एक सालीन स्रष्टा हुन् । उनी पेशाले प्राध्यापनमा सङ्लग्न छिन् । गौतम नेपाली भाषाको विकासको लागि समर्पित व्यक्तित्त्व हुन् ।
इन्दिरा गौतमको प्राय: लघुकथाहरू महिला हक, अधिकार र सम्मानप्रति केन्द्रित छ । बालबालिकाको स्वास्थ्य, रुचि र विकासका लागि पनि इन्दिराको कलम चल्ने गर्छ । त्यसो त साहित्यपोटलाई आफ्ना मिठा र सशक्त लघुकथाहरू प्रेषित गर्न र सुझाव अनि सल्लाह दिन पनि इन्दिरा गौतम सक्रिय छिन् ।
प्रस्तुत लघुकथा “भाइ”ले नेपाली समाजको सन्तान प्राप्तिमा देखिएको पुरुष मानसिकता बोलेको छ । यसको अलावा कथामा नारी शोषण र पीडा पनि देखाइएको छ । कथा नारीवादको पक्षमा रहेर पनि यथार्थको अत्यन्तै निकट छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।