१. पहिलो लघुकथा

(वि.सं. २०४२ सालमा प्रथम भएको लघुकथा)

अनुभव

परशुराम घिमिरे

पर्शुराम घिमिरे

अधिकारी बाजेको घरमा जम्मा १५ जनाको परिवार थियो । एउटा छोरो पहिले नै जन्मेको थियो । त्यसपछि बाह्रवटी छोरीहरू लगातार जन्मेका थिए ।

अधिकारी बाजे आफ्नो रवाफ देखाउने अभिमानी थिए । आफ्नो सन्तानले डाँडाकाँडा ढाकून भन्थे । अर्को पनि छोरो खोज्दै एकपछि अर्को गर्दै लगातार छोरीहरू धेरै जन्मिएका थिए । अब धेरै असन्तोष नगर्नुहोस् । धेरै छोराछोरी भए भने राम्रोसंग स्वाहार पुर्याउन सकिँदैन । पढाउन सकिँदैन । छोराछोरीको भविष्य बनाउन सकिँदैन भनेर श्रीमती चाहिं भन्थिन । तर अधिकारी बाजेले श्रीमतीका कुरालाई मानेनन् ।भन्थे -“असन्तोषकले गर्दा नै मान्छेको प्रगति हुन्छ । त्यसैले मानिस आकाशमा चरा झै उड्ने भयो । संसारभरका समाचारहरू घरमै बसीबसी सुन्ने भयो ।”

पछि १५ जनाको परिवार पाल्दा, छोराछोरीहरूलाई पढाउँदा बिहेदान गराउँदा अधिकारी बाजे टाट पल्टिए । सम्पत्ति सबै सकियो । बूढेसकालमा कुनै छोराछोरीले हेरेनन् । बूढेसकालमा अधिकारी बाजेका बूढाबूढीको कन्त बिजोग भयो ।

अहिले अधिकारी बाजे सोच्दै छन् – “असन्तोषले गर्दा मानिसले राम्रो काम मात्र गरेनछ । आफैलाई खतम पार्ने बिनासकारी एउटा वम पनि बनाएछ ।

०००
(वि.सं. २०४२ सालको ११ औं शिक्षा दिवसको उपलक्ष्यमा आयोजित कथा प्रतियोगितामा लघुकथाकार परशुराम घिमिरेको “अनुभव” लघुकथाले प्रथम स्थान प्राप्त गरेको थियो ।
परशुराम घिमिरे कुशल लघुकथाकार हुन् । थोरै लघुकथा लेख्ने तर उम्दा लघुकथा लेख्ने कथाकारमा परशुराम पर्दछन् । लघुकथा समाज, नेपालको प्रदेश नं. १ को सचिव रही परशुराम घिमिरेले नेपाली लघुकथाको विकासमा महत्त्वपूर्ण योगदान गरिरहेका छन् ।

प्रस्तुत लघुकथा “अनुभव” ४० को दशकको कथा हो । त्यस समय सन्तानले डाँडाकाँडा ढाकेको हेर्ने रहर हरेक अभिभावकलाई हुन्थ्यो । लघुकथाले सन्तान मोह र फैलावटलाई बिषय बनाएको छ । तर लघुकथाको बक्रगतिले अन्त्यमा त्यही सन्तान नै अभिभावको बिनासको एटम वममा परिणत गरिदिएको छ । लघुकथाले समयको कालखण्ड मज्जाले समाएको छ ।)

२. सक्रियकालीन लघुकथा

समयको माग

रमेशचन्द्र घिमिरे

रमेशचन्द्र घिमिरे

गाउँमा स्कुल खोल्ने भनेर हजुरबाहरूले भैँसी बेचेर चन्दा हाले ।

काकाहरूले किताब बोक्ने झोलामा खोलाका बालुवा ल्याए र स्कुलमा गारो लगाउन मद्दत गरे ।

सरहरूले साह्रै नै कर गरेपछि खाजा ख्वाउने सर्तमा ठूल्दाइहरूले वनबाट काठ-फलिका ओसारे अनि स्कुलमा झ्याल-ढोका बन्यो ।

ज-जसले जे सके त्यही गरे अनि स्कुलले आकार लियो ।

भाइहरूले चाहिँ `सरहरूले कोठामा पङ्खा पनि नराख्दिएका´ भनेर आन्दोलन गरे र कक्षाकोठामा ताला लगाएर हेडसरलाई घेर्न पुगे ।

०००
(नेपाली लघुकथामा ५० को दशकलाई सक्रियकालीन समयको रुपमा लिइन्छ । यही समयदेखि स्रष्टा रमेशचन्द्र घिमिरेको सकृयता नेपाली साहित्यमा लोभलाग्दो किसिमले बढेको पाइन्छ ।

स्रष्टा रमेशचन्द्र घिमिरे मूलत: बाल साहित्यका सर्जक हुन् । उनी बाल लवजलाई सुहाउँदो बिषय र प्रस्तुतिसहित बालरचनामा प्रस्तुत हुन्छन् । रमेशचन्द्र घिमिरेका बाल रचनाहरू गेय प्रधान छन् । पछिल्लो समय उनीका बाल रचानाहरूलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचनाको हाराहारीमा राख्ने जनप्रयास पनि पाइन्छ ।

रमेशचन्द्र धिमिरेले बेलाबखत लघुकथाहरू पनि लेख्ने गरेका छन् । उनी लघुकथामा पनि विद्यार्थी र स्कूलकै सेरोफेरोमा रहेर लेख्ने गर्छन् । रमेशचन्द्र घिमिरे साहित्यपोष्टको एक स्तम्भकार हुन् ।

प्रस्तुत लघुकथा “समयको माग” विद्यालयको निर्माणको वरिपरि घुमेको लघुकथा हो । यस लघुकथाले अघिल्लो पुस्ताको सामाजिक मानसिकता र पछिल्लो पुस्ताको उपभोक्तावादी मानसिकताको गजबले चित्रण गरेको छ । यो लघुकथा एक शक्तिशाली लघुकथा हो ।)

३. मलाई मन परेको लघुकथा

चुरोट

रेणु अधिकारी मौनता

रेणु अधिकारी

“ए भाइ, एक्छिन पख्नुस त ?” पछाडीबाट आएको एक अपरिचीत आवाजले प्रमोद झर्सङ्ग भयो । फर्कि हेर्दा एकजना बर्दिवाला प्रहरी जवान उसको पछाडी आँउदै थिए । प्रमोदले आफ्नो हातमा रहेको पिउदै गरेको चुरोटलाई उहि हातभित्र किचीमिची पार्दै आफ्नो पाइलाहरु छ्टो छिटोअगाडि बढायो । प्रहरी जवान पनि उहि गतिमा प्रमोदको पछिपछि आउदै थिए । त्यो देखेर प्रमोद झन द्रुत गतिमा भाग्न थाल्यो ।

“ला …, अब आज पुलिसको फेला परिने भैयो ।”

यो वीर अस्पतालको पेटी, सहर बजार क्षेत्र खुलमखुल्ला चुरोट पिउन मनाही गरेको थाहा हुँदाहुँदै पनि धुम्रपानले मानिसको स्वास्थमा असर पार्छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि उसलाई ध्रुमपानको लतबाट बाहिर निस्कन गारो भैरहेको थियो ।

“चुरोट छाड्ने प्रयासमा निकै दिनपछि आज बिहान मात्र एउटा चुरोट सल्काएर हिडेको आजै पुलिसले देखिहाले, कस्तो बिडम्बना ! अब त म कहिले चुरोट खान्न ।” – उसले मनमनै भन्न थाल्यो। ।

पुस महिनाको ठण्डी । एकबिहानै बाटोमा मानिसहरुको चहलपहल शुन्य र पसलहरु पनि बन्द थिए । उ आफ्ना पाइलाहरु द्रुत गतिमा अघि बढाउदै थियो । पछाडीबाट प्रहरी जवानले उसको ज्याकेटमा च्याप समाते । उ निक्कै डरायो । अनि दुईहात जोडेर भन्यो – “सरी सर, मबाट गल्ती भयो । अब फेरि यस्तो गल्ती मबाट दोहोरिने छैन ।”
प्रहरी जवानले मुसुक्क हाँसेर भने – “भाइ, मलाइ एउटा चुरोट दिनुस् न ।”

०००
(आफूलाई नेपाली साहित्यमा “सिकारु” भन्न रुचाउने लघुकथाकार रेणु अधिकारी “मौनता” जुझारू स्रष्टा हुन् । उनी लघुकथाको अलावा कथा, मुक्तक र गजल पनि लेख्छिन् । पछिल्लो समय लेखनमा सकृय मौनता कुनै पनि बिषयलाई कथानकमा रुपान्तरण गर्न सिपालु छिन् । अन्य बिधामा नअल्मलिई लघुकथामा लाग्ने हो भने लघुकथाकार मौनताबाट नेपाली लघुकथाले राम्रो लघुकथाहरू प्राप्त गर्न सक्ने छ ।
प्रस्तुत लघुकथा “चुरोट” स्थापित लघुकथाकारले लेखेको लघुकथाको दाँजोमा छ । यस लघुकथामा शीर्षक, बिषय उठान, कथाको तिब्रता, बुनोट हुँदै कथाको अन्त्य बढो जतनसाथ गरिएको छ । अझ यस लघुकथाको बीज वाक्यले त पाठकको अनुमानलाई “युट्रन” गरिदिएको छ ।

रेणु अघिकारी “मौनता” ठूलो सम्भावना बोकेको एक लघुकथाकार हुन् । साहित्यका सामान्य अवरोधहरूले उनीलाई अल्झाउन नसकोस् । )