राजु क्षत्री अपुरो

मेसिनमा बसेर आफ्नै धूनमा सिलाउँदै थिएँ,  विदेशि सहकर्मि मित्र म बसेको बेन्चमा आएर बस्यो। उसको  मेसिनमा काम रहेनछ भन्ने बुझ्न मलाई कुनै कठिनाइ भएन ।
ऊ हामी भन्दा पुरानो थियो । मोबाईल नहुनेहरूका लागि कल गर्ने सुबिधा दिएपनि ऊ चर्को  रकम असुली गर्थ्यो। त्यसको शिकार मपनि थिएँ ।
” यार बन्धु , तिमी  यति धेरै लाटो छौ कि  कोहीपनि मान्छेले सजिलै उल्लू  बनाइदिन सक्छ। मेरो स्वभावसँग परिचित ऊ अन्य दिनको वार्तालापभन्दा आज छुट्टै विषयबस्तु कोट्यायो उसले ।
अप्ठ्यारो  पर्दा मैले सापट दिएका साथीहरूले पैसा फिर्ता  नगरेका, कोही भागेका देखेर उसले यसो भनेको हुनुपर्छ भन्ने अनुमान लगाउँदै सहि थाप्दै भनेँ – “हो बन्धु , म  सिधा हुनुको फाइदा धेरैले लिएका छन् ।”
उसले भन्यो – ” , यी मलाई हेर त , आजसम्म उल्लू बनाउने कोही माइकालाल पैदा भएको छैन ,न हुनेछ” उसले आफु चतुर भएको कुरामा  अहंतामा देखायो ।
****
“बन्धु  , तपाईं यस्तो ह्यान्डसम हुनुहुन्छ तर टाउकोमा आधा कपाल खुइलिएकोले दश  वर्ष बूढो देखिनुहुन्छ। हामीसँगै काम गर्ने विदेशी  केटीहरू तपाइँलाई बूढो भनेर जिस्काउँछन ,हो कि होइन ?”-  खाली समयमा मैले बुझे अनुसारको कुरा दर्शाएँ ।
 “हो बन्धु ,मलाई देखेर प्राय : केटीहरू तर्केको मैले महशुस नगरेको होइन  । , केही उपाय नै छैन अनि  ?”- निराश भावमा बोल्यो ऊ ।
“बन्धु हाम्रो नेपालमा  तिब्बतबाट आयुर्वेदिक औषधि आउँछ । मेरो सालाकोपनि तपाईंको जस्तै थियो । उसले नियमित दवाई खाँदै तेल लगाउदै गरेको , अहिले तालुमा धेरै कपाल पलाएर आएको छ। फोन गरेर  बुझिदिउँ  त ? “मैले आशा देखाएँ ।
“ओहो बन्धु, यदि यस्तो होभने  म आधा तलव नै खर्चिन तयार छु ! ला मोबाईल , फोन गरेर बुझ त,” भन्दै मोबाईल हस्तान्तरण गर्यो ।
—————————–
“के भयो बन्धु त्यो औषधिको  ? तिब्बतबाट मगायो त  तिम्रो सालाले ?, हप्ता दश दिनको समय तोकिएको हुनाले पुन: स्मरण गरायो उसले ,
“खोइ मोबाईल देऊ त म  बुझ्छु “भन्दै मोबाईल मागेँ । अलि पर पुगेर केहीबेर कुरा गरिसकेपछि भनेँ  – “बन्धु तपाईंको काम हुन सकेनछ । त्यो सामान ओसार्ने मान्छेलाई प्रहरीले समातेछ नि! “
उसको अनुहार एकाएक मलिनो भयो ।
मैले यसपालापनि पैसा नभएको मौका छोपेर आफ्नी श्रीमतीसँग लामै कुराकानी गरेँ ।