हरिप्रसाद भण्डारी

हामी चढेको गाडी अनियन्त्रित हुँदै गयो । हामी सबै यात्रुहरू आत्तियौँ । चालकले गाडीलाई नियन्त्रणमा लिन सकेन र गाडी सडकबाट तल खोल्सामा खस्यो ।
यात्रुहरूका बीचमा हाहाकार मच्चियो । ‘ऐया !, आत्थु !, गुहार!, आमा!’ यस्तै आवाज आउन थाले ।
म गाडीको बीचमा थिएँ, सबैले थिचेजस्तो भयो मलाई । म आत्तिएँ, डराएँ र चिच्याएँ पनि । बेहोस भएँछु, होस खुल्दा सडक किनारमा ढुङ्गा र माटामाथि लम्पसार परिरहेको थिएँ ।
मानिसहरूको ठुलो भीड थियो । प्रहरीको उपस्थिति पनि बाक्लै थियो । घाइते यात्रुहरू रुँदै र कराउँदै थिए । त्यस्तैमा एउटा पीडादायी आवाज सुनियो, “मेरो पर्स खोइ ?”
रुँदै अर्की महिला बोलिन्, “लौ न नि मेरो घाँटीमा लगाएको सुनको सिक्री पनि छैन ।”
भर्खर होस खुलेको हुनाले आफ्नो सामानको भन्दा पनि मलाई शरीरको चिन्ता बढी थियो । शरीर दुखेको र खुट्टामा असह्य पीडा भइरहेको थियो । म हलचल गर्न नसक्ने अवस्थामा थिएँ ।
त्यस्तैमा एक जना प्रहरी मेरो नजिक आयो र मलाई नमस्कार गर्दै सोध्यो, “हजुरलाई कस्तो छ ?”
म बोल्न सकिरहेको थिइनँ । त्यसैले केही बोलिनँ ।
मुस्कुराउँदै उसले भन्यो, “एम्बुलेन्स बोलाएका छौँ । आउँदै होला ।”
फेरि पनि म केही बोलेको थिइनँ, उसैले भन्यो, “मलाई चिन्नु भएन ?हामी लाइसेन्स वितरण टोलीमा थियौँ नि !”
“ए है !” मसिनो स्वरमा भनेँ ।
उसलाई चिनेपछि त्यस बेलाका घटनाक्रमहरू आँखाअगाडि फनफनी नाच्न थाले । दौडधुप, कानेखुसी, एकान्त यी सबै त्यस बेलाका नियमित प्रक्रिया थिए ।
उसका हातमा दुर्घटनाग्रस्त गाडीका कागजपत्र र चालकको लाइसेन्स पनि रहेछ । मुस्कुराउँदै उसले आफ्नो हातको लाइसेन्स मलाई दियो ।
ओल्टाई पल्टाई हेरेँ । उक्त लाइसेन्स जारी गर्ने अधिकारीको नाम र दस्तखत मेरै थियो ।

रुपन्देही