म दुई वर्षकी छोरीसँग रेलमा गुवाहाटीसम्मको यात्रामा थिएँ । रेल ओदालगुडी स्टेशनबाट छुट्न आँटेको थियो ।

“आमा, भोक लाग्यो । दश रुपियाँ दिनुहोस् न ।”, भन्दै दश/बाह्र वर्षको बालकले झ्यालबाट हात थाप्यो । पर्समा सयको नोट मात्र रहेछ, छुट्टा पैसा नभएकाले उसलाई सहयोग गर्न नसक्दा ऊतिर हेरिनँ । धेरैबेरसम्म हात थापिरह्यो । रेल बिस्तारै बिस्तारै अघि गुड्न लाग्यो । केही पाउने आशमा पसारेका साना हात बिस्तारै उसले आफैँतिर लग्यो । मन उकुसमुकुस भयो । सानो सहयोग पनि गर्न सकिनँ । खिन्न लाग्यो ।

इन्दिरा गौतम (असम)

रङ्गिया स्टेसनमा रेल रोक्यो । बदामवालासँग बदाम किन्दा छुट्टा भए । मलाई त्यही बालकका कलिला हात बारम्बार आँखाअघि झलझली आउन थाल्यो । त्यो बालक नजरबाट हटे पनि मनबाट हट्न सकेको थिएन । उसलाई उसको परिवारको कस्तो अवस्थामा बाँच्नुपर्ने बाध्यता होला ? कल्पनाका तस्बिरहरू आँखा वरिपरि चलचित्रझैँ घुमिरहे । झ्यालमा हुत्तिएर आएको ब्रह्मपुत्रको चिसो हावामा झस्किएँ । मालीगाउँ रेल स्टेसनमा पुगेर रेल रोकियो । घुँइचोमा जसोतसो उत्रिएँ ।

मान्छेको भीडलाई उछिन्दै म मालीगाउँ बस स्टेसनतिर लागेँ । कपडाले बाँधेका पोका बोकेका अघोरी र उनीहरूका एक हुल छोराछोरी हाम्रो अघिपछि हुँदै जान्छन् । तिनीहरूका भल्ट्याङभुल्टुङ उनीहरूसँग सिटी बसमा चढ्दाचढ्दै मेरी छोरीको हातको बार्बिडल खोसेर फुत्त हावाको गतिमा भाग्छ। ट्राफिक प्रहरी र दुईचार जना खेद्दै गए र समातेर ल्याए । बिहान दश रुपियाँ माग्ने त्यही बालक पो रहेछ । बार्बिडल मेरी छोरीलाई दिएँ । ऊ रमाई पनि ।

त्यस बालकको खल्तीमा के के छ, निकाल्न लगाएँ । मेरा आँखा त हेरेका हेऱ्यै भए ……..  मेरो हातको घडी उसको खल्तीमा ? उसले स्वीकार गऱ्यो, मैले मेरो घडी पाएँ, खुसी लाग्यो ।

तर, भीडका युवाहरूले लछारपछार गर्दै  कुटपिट गर्न आँटे । मैले एक्कासि अङ्गालो हाली त्यस बालकलाई कुटपिट गर्न दिइनँ । खै, के के सोचेँ सोचेँ ? मैले दश रुपियाँ हातमा दिँदै भनेँ, “अघिको जस्तै मलाई एकपल्ट फेरि आमा भन न ।”