शीतललाई देखेर साह्रै माया लाग्छ, उनी पनि मेरी छोरीसँगैकी हुन्, कक्षा ११ मै पढ्छिन् र मेरी छोरीकी साथी पनि हुन् । उनीहरूको आर्थिक अवस्था धेरै कमजोर छ भनेर सबैलाई थाहा छ तर उनीहरू दुवै दिदीबहिनी साह्रै असल छन् पढाइमा ।
शीतलले आफूभन्दा साना नानीहरूलाई आर्ट, नृत्य सिकाउँछिन् । शीतलका बुबा एउटा गैरसरकारी जागिर गर्छन् । दुइटी छोरी हुन् उनीहरू । गुवाहटीजस्तो मूल सहरमा कोठाहरू कति महङ्गा छन् । कोठाको भाडा, नानीहरूको स्कुलको शुल्क पनि महिनामै तिर्न पनि गाह्रो पर्छ शीतलका बाबालाई । ठुली छोरी शीतलले आफूभन्दा साना नानीहरूलाई आर्ट, नृत्य सिकाएर पाएका पैसाले आफूलाई चाहिने स्कुलका सामग्रीहरू किन्छिन् । हिजो एउटा पसलमा उनीसँग भेट भयो । मलाई देख्नासाथ आन्टी नमस्ते, सन्चै हुनुहुन्छ ?भनेर सोधिन् अनि मेरी छोरीलाई जो उनकी साथी हुन् आस्था के गर्दैछिन् देखिन्नन् अचेल खुब मन लगाएर पढ्दै छिन् होला है आन्टी? भनेर सोधिन् ।
उनका कुरा सुनेर मेरो मुख निलोकालो भयो, पखेटा भएको भए फुर्र उडेर भागिहालूँ जस्तो भयो । शीतललाई स्कुलका शिक्षकहरूले पनि धेरै प्रशंसा गर्छन् । कतिपय शिक्षकहरूले त मोबाइलमा रिचार्ज पनि गरिदिन्छन् । यता मेरी छोरी आस्थाचाहिँ महँगो मोबाइलमा अनेक किसिमका भिडियोहरू बनाएर पोस्ट गर्न नै व्यस्त हुन्छे । कक्षा ११ को पहिलो युनिट परीक्षामै शिक्षकहरूले हामी आमा बुबालाई बोलाएर भुवा फिट्दाझैँ फिटे, कुनै विषयमा पनि राम्रो नम्बर नल्याएर । एकदिन मैले मनोबल उच्च गर्दै शीतललाई हाम्रो घरमा आऊ न ल भनेर बोलाएँ । छोरी आस्थालाई “तेरी साथी शीतल कति मेहनत गर्छे, उसलाई बोलाएकी छु तेरा लुगाहरू छन् नि जसलाई तैँले एक एकचोटि मात्र लगाएर त्यो लुगाको फोटो छ म अब ती लुगाहरू लगाउँदिन भन्दै राखेका थिइस् नि ती लुगाहरू अब सबै म शीतललाई दिन्छु” ,भनेँ । हिजो मैले शीतललाई कस्तो रङ्ग उडेको टि-सर्ट लगाएको देखेँ, सारै दुःख लाग्यो । यस्तो कुरा सुनेर आस्था छक्क परी ।
अलमारीबाट सबै लुगाहरू निकालेर छाँट्न थाली, छाँटेका लुगाहरू मेसिनमा हालेर धोएर सुकाएर पट्याएर मेरो छेउमा एउटा राम्रो झोलामा हालेर, “आमा लिनुहोस् यहाँ छन् सबै सुकिला लुगाहरू अनि आमा एकजोडी नयाँ लुगा छन् नि ती पनि दिनुहोला शीतललाई । आज म आफ्नै हातले ढोकला बनाएर खुवाउँछु शीतललाई अनि मिलेर एउटा नृत्यको भिडियो नि बनाउँछु भन्दै हतारहतार गोर्खाली नाच नाच्दा लगाउने गहना, सारी निकाल्न थाली । आमा सक्नुहुन्छ भने शीतलको प्लिज एकवर्षको मोबाइल रिचार्ज गर्दिनू न ल, म राम्रो पढ्छु यसपालिदेखि म हजुरहरू दुवैलाई रिसाउने मौका दिन्नँ, ऊसँगै पढ्ने कुराको नोट पनि माग्छु भनेर भनी ।
छोरीका कुरा सुनेर म छक्कै परेँ । त्यति बेलै शीतल आस्था कहाँ छौ भन्दै घरभित्र पसिन् । दुवै जना निकैबेर कुरा गरे अनि मैले शीतल यो लुगाहरू आस्थाका हुन् लगाउँछ्यौ तिमी ? मात्र एकचोटि लगाएकी हो भन्दै सोध्दै थिएँ, मैले कुरा नसक्दै हुन्छ नि आन्टी, आहा ! कति राम्रा ड्रेसहरू भन्दै ऐनाको अगाडि उभिएर लुगाहरू आफ्नो शरीरमाथि राखेर हेर्न थालिन्, वाह! हेर त शीतल मलाई कत्ति राम्रो देखियो, थेङक्यु सो मच भन्दै मलाई अँगालो हालिन् । आँखाभरि आँसु झल्कियो आस्थाको । शीतल गएपछि आस्थाले आफ्नो मोबाइल मलाई दिएर भनी, “आमा आज देखिन् म २ घण्टा मात्र मोबाइल प्रयोग गर्छु है ? यी गणेश कसम भनी ।” म तीनछक परेर उसलाई हेरिरहेँ ।
मैले मनोबल उच्च गरेर शीतललाई नबोलाएकी भए आज छोरीको यो रूप देख्न पाउने थिइनँ । मैले नि मनमनै हे गणेश भगवान् सबैलाई सुबुद्धि दिनू, कृपा बर्साउनू भन्दै भान्सा कोठाभित्र पसेँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

