week 39

१. पहिलो लघुकथा
(वान्तवा भाषाको पहिलो लघुकथाकार)

लिदी

शरण राई

शरण राई

घरभित्र आगाे सल्केकाे छ । भतुवाहरूलाई त के छ ? भाड्नु छ तर घरकै मान्छे पाे आफ्नाे र भतुवा-भडुवा छुट्टाउन सक्तैन । भन्दा नि बुध्दिकाे बिर्काे खाेल्दैन ।

” किन यस्तो  भएकाे छ ?”
” सम्पूर्णमा अन्धभक्त, पिछलग्गु, झाेले र आकासकाे फल झर्ला र खाउला भन्ने झुठाे आशमा भुलिएर…”
 “हाेइन, आफ्नाे खाेपडीकाे बुध्दि  अरुलाई भुटन दिएर । भुटिएकाे बुध्दि के काम ?”
 “गिदी पनि नचलाई अर्काकै हाहाेमा चलिरहदा सडेर लिदी हुन्छ ।”
-त्यसैले हाेला अझै मित्र राष्ट्र भन्नेहरूकाे लिदी गनाईरहेकाे ।”
“त्यस्ताे लिदी फाल्ने बेला भएन ?”
“मुलुकलाई असल राजनीति गर्ने दिमाग-मगज वा गिदी चाहिन्छ । लिदी हाेइन …! “
###
(शरण राई वान्तवा भाषामा लघुकथा लेख्ने पहिलो लघुकथाकार हुन् । राई जातीभित्र २२ उपजातीहरू छन् । वान्तवा राईभित्रको एक मुख्य जाती हो ।
शरण राई पाका स्रष्टा हुन् । पाका स्रष्टाहरूसंग उनको जमघटमा भ्याएसम्म पुग्नु उनको रुचीको बिषय हो । उनी मुलत: कथा लेख्छन् । लघुकथामा पनि राईको विशेष  चासो छ ।
प्रस्तुत “लिदी” लघुकथा पूर्ण सम्वादात्मक लघुकथा हो । लोकतन्त्र हुँदै गणतन्त्र भएको देशमा टाउकोको मात्र गणना हुन्छ । टाउकोमा गिदी छ कि लिदी ? खासै चासो हुदैन । तर उर्दगमन जाने देशको राजनीतिमा गिदी नभएर दिमाग चाहिन्छ । कथाले शिक्षा र झड्का एकैसाथ दिएको छ ।)
२. सकृयकालीन लघुकथा

दृष्टि

कल्याण पन्त

कल्याण पन्त

“पढेको भन्दैमा श्रीमतीलाई पठाउन कसरी मनले मानेको होला !” गाउँलेले प्रश्न उठाए । थाह पाउनेहरूले जिब्रो काढें ।

“हैन, लोग्ने यहीँ हल्लनदास, स्वास्नी चाहिँ विदेश !” देख्ने/सुन्नेले पनि कुरा काटें । कसैले कलियुग भने । हल्लाले डाँडोखोलो नै काट्यो । केही दिनमै कुरो एक कान, दुई कान हुँदै अशेषको कानमा पर्यो । आफन्तहरुले समेत एकान्तमा कानेखुसी पनि गरे ।
 साँझमा राँकिएर अशेषले फोन गरे– “हैन, यहाँ त चाहिने/नचाहिने हल्ला सुन्छु, त्यहाँ कस्तो काम गर्छ्यौ ?”
“छोडिदिनुस्, त्यस्ता गाउँले कुरा !” त्यस्तै स्वर उताबाट पनि सुनियो ।
पाँच वर्षपछि श्रीमतीकोे तामझामसहित स्वदेश फिर्ती भो । गाउँलेका मुखमा मिठाई भने पनि खाली भएन । यता एक महिना नबित्दै उनीहरूले घरजग्गाको क्षेत्रफल बढाए । तलो थपे र एउटा चिटिक्कको कार पनि किने ।  अल्लि दिनपछि गाउँलेले भने– “बेलैमा नर्सिङ्ग पढेको फाइदा… !”
###
(पचासको दशकलाई नेपाली लघुकथाको सकृयकालीन समय मानिन्छ । यही दशकको सुरुवाती समयमा कल्याण पन्त गोरखापत्रमा लघुकथा प्रकाशन गरि सार्वजनिक भएका हुन् ।
त्यसो त कल्याण पन्त नेपाली लघुकथाको एक कृयाशील स्रष्टा हुन् । उनी पोखराको उर्वर साहित्यिक भूमीमा बसी नेपाली लघुकथाको बिकासमा लागिपरेका छन् । उनी लघुकथा प्रतिष्ठानको सचिव हुन् । कल्याण पन्तका दुई लघुकथासंग्रह प्रकाशित भएको पनि छ ।
प्रस्तुत लघुकथा “दृष्टी” नेपाली समाजको दृष्टीको रुपमै प्रस्तुत छ ।  महिलालाई विदेश पठाउन नहुने डढेलोले गाउँ खाइरहेको बेला सम्पत्तीको सामुन्य डढेलो सामसुम निभेको गजवको दृष्टि पोखेका छन् लघुकथाकारले । कथा सफल छ । समाजको सही चित्रण कथाले उतारेको छ ।)
३. मलाई मन परेको लघुकथा

फुर्सद

सुधीर कुमार सुमन

सुधीर कुमार

पहिला गाउँमा हुंदा फूल कुमारीको फुर्सद नै फुर्सद थियो। दाउरा घाँस ,मेला पात, अर्म पर्म,डियां गोठाला, घर धन्ना सबै भ्याएकी थिइन ।जे कामको लागि पनि समय यथेष्ट पुगेको थियो।

तर २ वर्षदेखि सदरमुकाम लमा बाबू नानी पढाउनको लागि कोठा लिएर बसेदेखि उनलाई भ्याइ नभ्याइ थियो।
बेलुका १२ बज्न नपाउंदै फेसबुक ,भाइबर,इन्स्ट्राग्राम बन्द गरेर निदाउंथिन । बिहान सबेरै ७ बजे उठ्थिन । चिया पानी पकाएर छोरा छोरी लाई चिया खुवाएपछि खाना पकाउने टन्टो सक्नु पर्थ्यो । छोरा छोरीलाई स्कुल ड्रेस लगाएर।स्कुल बस कुरेर बस्नु पर्थ्यो।
उनी जस्तै पल्लो कोठा मा आशा माया पनि बेफुर्सदि थिइन।दुबै का बाबू नानी एउटै बोर्डिङ मा पढ्थे।
बाबू नानीलाई स्कुल बस चढाएर एक छिन यसो सिरियलको गफ गर्यो।समय बिति हाल्थ्यो ।बफेरि खाजा पकाउने तयारीमा जुट्नु पर्थ्यो। सुरुका दिनहरु लमा त अलिकती फुर्सद निकालेर बाबू नानी ललाई खाजा पुर्याउन जान्थिन। तर बिचरा आजकल त उन ललाई फुर्सद नै थिएन। बाबू नानीलाई खाजाको रुप लमा पैसो पठाउन थाले कि थिइन।फुर्सद नै नभएपछि कस्को के लाग्छ र।
“पर्सि शनि लबार छ क्यारे,भोलि बेलुकी नाति नातिनाको स्कुल छुट्टि भएसि पुषेपन्ध्र मनाउन गाउँ आउ न त बुहारी।पाखोवारीको आलु पनि खन्नु छ”। ससुराले फोन गरे का थिए।
“मलाइ फुर्सद कहाँ छ र बुवा।कान्छाले पैसा पठाइ दिनुहुन्छ।मान्छे लगाउनुस न बरु। बरु अलिकती अनतीको चामल र एक बोरा आलु चाहिँ यसो सदरमुकाम आउंदा ल्याइदिनुस है”। यति भनेर फोन काटेपछि उनी बर्बराउदै थिइन।”आफूलाई यहाँ भ्याइ नभ्याइ छ।पुषे पन्ध्रको निहुँमा आलु खन्न बोलाउंछन”।
###
(सुधीर कुमार सुमन चुपचाप बसेर राम्रा लघुकथाहरू लेख्ने मोफसलका साहित्यकार हुन् । उनी अर्गानिक कुराहरूमा रुचि राख्छन् र लघुकथा पनि अर्गानिक पाराकै खोज्छन् ।
प्रस्तुत लघुकथा “फुर्सद” मा सुधीरले फुर्सदको सही चित्रण गरेका छन् । गाउँमा ग्रामिण धन्दा गर्दा पनि फुर्सद पाइरहने व्यक्ति शहर झरेपछि मोबाइल, टिभी र भातेधन्दाले गर्दा बेफुर्सदिलो बनेको हुन्छ । कथा अर्गानिक छ । सुधीरको चिनारी यस्तै अर्गानिक लघुकथाहरूको खोजीमा नै छ ।)