“ए… कान्छी मेला जाने होइन?”
छिमेकी जेठानीको आवाजले उनको ध्यान तान्यो ।
भनिन् “जान त जाने हो दिदी, तर यता भातभान्साको मेलोमेसो मिलाउन बाँकी नै छ, घरधन्दा पनि सक्नुपऱ्यो, यसो सघाइदिने कोही छैन ।”
“ए ल, अलि छिटो गर है, मेलो सक्न ढिलो हुन्छ ।”

‘हुन्छ’ भन्दै उनी तयारीमा लागिन् ।

यता भान्सा तयार भयो, उता बुढा भने बेपत्ता छन् ।
आँगनको डिलमा उभिएर चिच्याइन् “ए… नानीका बा, भात पाक्यो, छिटो आउनुस् ।”
बुढाको कुनै जवाफआएन ।दुई तीन पटक उसैगरी चिच्याइन् ।

अलिबेरमा बुढा आइपुगे ।
आँगनमा निस्कनासाथ रिसाउँदै भने, “के को डाका र डोहो हो ? के के न भयो भनेझैं गर्नुपर्छ ?आइहाल्थेँ नि कहाँ जान्थेँ र ?”

“आउनु हुन्न भनेर त कहाँ हो र ? आजअलि चाँडो गरेर मेला जानु छ त्यसैले पो चिच्याएकी ।”

विनोद नेपाल

“यस्तो बेला घरै नबसेर कहाँ जानुपऱ्यो फेरि तँलाई ?”

“कहाँ हुनु थियो र अन्त? मेला जानु छ । अहिले मेलो पर्म गरे पो आफ्नो पालामा काम लाग्ला ।”
“ए आज त असार पन्ध्र पो हो केरे हैन ? मैले त भुसुक्कै बिर्सेको ।”

“सधैँ असार पन्ध्र हुनेलाई आजको के सम्झना हुन्थ्यो त ? हामीलाई पो भ्याई नभ्याई छ, आज के गरेर आइयो त ? खै कमाइ?”

” दाउ नै लागेन हेर्, भुसुक्कै पारेँ नि”
‘खुरुक्क आफ्नो काम गरौँ, आमाको दूध चुस्न छाडेर घुँडो चुसेर हुँदैन भन्दा मान्ने होइन, ठिकै भएछ , मैले त सम्झाएर नसक्ने भएँ, के गरूँ र खै ?”
“तेरो नाक–कानको निकालेर ले त, अब त्यहीबेचेर खेल्नुपर्ने भयो, हारेर यसै बस्ने कुरा त भएन नि, जितेँ भने जिताउरी दिउँला नि ।”

२०७८।०३।१५