गणेश घिमिरे

 

लखनपुर गाउँमा लगभग १५० घरधुरीको बाक्लो बस्ती थियो तर जीवनशैली राणाकालको जस्तो पुरानो थियो । गाउँमा मुखिया र साहुजीहरूको छुट्टै सान, मान र वर्चस्व थियो । उनीहरूको सेवा, टहल र चाकडी नगर्ने व्यक्ति साहू मुखियाका आँखाका कसिङ्गर थिए ।

गाउँमा दुईचार जना युवाहरू समाजमा सबै बराबर हुन् कोही राजा र रैती छैनन् । व्यक्ति धनी र गरिब हुन्छ तर सबैको इज्जतसँग जिउने अधिकार छ भन्ने गर्दथे । उनीहरूको यो कुरा मुखिया, साहुजी र उनका भरौटे चम्चाहरूलाई पटक्कै मन पर्दैन थियो । एकदिन मुखिया तेजप्रसादको नातिको जन्मदिनको उपलक्ष्यमा खसी काटेर भोज हुँदै थियो, त्यहाँ गाउँका साहू महाजन धनीराम, गोल्छे, इमानसिंह र भरौटेहरू पनि सँगै थिए । उनीहरू नाच्दै, रमाउदै थिए यत्तिकैमा उनीहरूको आँखाको कसिङ्गरमध्ये एक जगत्‌राम आउँछ । उसले मुखियालाई नमस्कार गर्दै भन्छ, “मुखिया बा मेरो छोरो विनोदले एम.बि.बि.एस. पढ्न वा डाक्टर पढ्न छात्रवृत्तिमा नाम निकालेछ । सहरमा खान, बस्न मात्र पनि खर्च लाग्ने भयो । केही पैसा ऋणस्वरूप दिनुहुन्छ कि भनेर आएको छु के कसो होला ?” यति भनेपछि मुखियाको अहङ्कार बोल्यो, ” ए जगते गाउँमा खुबै ठूलो बन्दै हिँड्छस् त! आज फेरि मेरो सहयोग चाहियो? तेरा धेरै कमजोरी छन् बुझिस् ।” जगत्‌रामले सोध्छ, “मेरो कमजोरी के होला ? मुखिया बा कुरो बुझिन नि !” मुखियाले धनीराम साहूलाई इसारा गर्छन् अनि धनीरामले जगत्‌रामलाई औँला ठड्याउँदै थर्काउँदै आक्रोश यसरी व्यक्त गर्छन्, “तँ पाजी मुखियाले बोलेको कुरामा सही नथाप्नु, मुखियाको छोरा सहरबाट आउँदा झोला बोक्न नजानु, मुखियासँग नसोधी मनोमानी काम गर्नु, मुखियाको भोजमा सामेल नहुनु, मुखियाको चाकडी नगर्नु , सबै गाउँले बराबरी हुन् भन्नु, मुखियाका अघि हाँस्नु, नाच्नु, खुसी हुनु आदि तेरा ठुला गल्ती र कमजोरीहरू हुन् बुझिस् ।” यति भनेपछि मुखिया कुटिल हाँसो हाँस्दै जगत्‌रामलाई भन्छन् “ल कुरा बुझिहालिस् जगते, गल्ती सुधार्ने भए ऋण पाउँछस् नत्र बाटो लाग् ।” अब पो जगत्‌रामलाई धर्मसङ्कट पर्छ पैसासँग नीति, आत्मसम्मान र खुसी साट्ने कि के गर्ने? धमिलो मन लिएर मुखिया र साहुजीहरूलाई नमस्कार गर्दै घर फर्कन्छ र छोरालाई सबै कुरा भन्छ । छोरा पनि बाबुजस्तै विवेकी र नीतिमान् हुन्छ । उसले पैसाका लागि आफ्नो स्वाभिमान नबेच्न बुबालाई अनुरोध गर्दै बरु गाँउमै जुन बिषय अध्ययन गर्न पाउने वातावरण छ, मेहनत गरेर त्यही पढ्ने वाचा गर्छ ।

विनोदले पैसाको अभावमा आफ्नो रोजाइको विषय पढ्न त पाउँदैन तर गाउँमा नै खुब मेहनत गरेर पढ्छ । केही वर्षपछि जगत्‌रामको छोरो विनोदले बुबासँग गरेको वाचा पूरा गर्छ । राम्रो नतिजा ल्याउन सफल हुन्छ र पछि लोकसेवा आयोग लडेर प्रशासन कार्यालयमामा अधिकृत हुन्छ । बुबाको आत्मसम्मान, खुसी र नीतिसमेत बचाउन सफल हुन्छ ।
उता साहु र मुखियाको छोराहरूको खासै प्रगति देखिँदैन । कोही साधारण खेतीपाती र व्यापार व्यवसायमा लाग्छन् । कोही काम र सुखसुविधा को खोजीमा विदेश लाग्छन् । समाजमा उनीहरूको हालीमुहाली र चम्चागिरी पनि स्वतः घट्दै जान्छ । सबै पढ्न थाल्छन्, सबै विवेकी हुन्छन्, सबै अन्धविश्वास र कुरीति हटेर जान्छ । त्यसपछि त्यो लखनपुर गाउँमा सबै समान छन् र सबैले आफ्नो अधिकार र कर्तव्यको बोध गरेका छन् । विनोद पनि गाउँमा नै बस्छन्, गाउँमा भेदभाव छैन विकासका काम सबै एकजुट भएर गर्छन् । अहिले लखनपुर गाउँ राष्ट्रको नमुना गाउँको नाममा परिचित छ ।

 

 म्याग्दे ३, तनहुँ