अङ्कुर चन्द

           “आमा ! लक्ष्मीको सुनको मूर्ति ल्याएर म दराजभित्र सजाइदिन्छु । त्यसपछि त लक्ष्मीले निरन्तर वास गरिरहन्छिन् हाम्राे घर आँगनमा । धनसम्पत्तिले भरिपूर्ण हुन्छ । समृद्धिको मार्ग आफैँ निर्माण हुन्छ” ठुलेले भन्यो ।
         “हुन्छ हाम्रा सन्ततिलाई दुःख हुने बाटो नरोज्नू, त्यहीँ पर आलमारीमा चाबी छ, दराज खोल र पैसा लिएर जाऊ अनि किनेर ल्याऊ ” आमाले आदेश दिइन् ।
   ठूले घरको पनि ठूलो नै थियो । घरमा सरकार उसैको नेतृत्वमा चल्थ्यो । उसको आदेश शिरोपर गर्नै पर्थ्यो ।
           ठूलेले सुन्दर लक्ष्मीको मूर्ति ल्याएर सजायो ।
समृद्धिको आशमा बसेका सम्पूर्ण परिवारको अवस्थामा खासै परिवर्तन देखिएन । बरु झन् बिग्रेजस्तो आभास गर्न थाले । ऋणकाे भारी झन् झन् बढ्दै थियो । यत्रो कमाएर पनि किन यस्तो हुँदैछ भनी एकदिन छलफल चलाए ।
   आमाले ठूलेसँग दराजको चाबी मागिन् र खोलिन् ।
सबै जना छक्क परे । सुनको मूर्तिको ठाउँमा नक्कली मूर्ति अनि दराजको ठाउँठाउँमा प्वालहरू बनाइएका थिए ।
    “यो के हाे ठूले” तँलाई विश्वास मानेर दराजको चाबी दिएको त तैले यति विघ्न घात गरिस् हैन” ! आमा झोक्किइन् ।
“यति नगरे त मेरो समृद्धिको सपना कसरी पूरा हुन्छ त आमा ।” भनेर ठूलेले जबाफ फर्कायो ।