लघुकथा : राजनीति 

सामसोन गुरुङ (गान्तोक, सिक्किम)

चुनावको मौसम  युवाहरूका जोशमा गर्मी भर्ने अनि रुपैयाँ फल्ने किसिमका हो भने त उखरमाउलो नै हुन्छ ।
चुनाव आचारसंहिता लागु हुनुअघिदेखि नै यी गाउँले युवाहरू समाजमा आफ्नो राजनीतिक सहभागिता दर्साउन व्यस्त हुन्छन् ।

एउटा गाउँका एक झुन्ड सामाजिक कार्यमा लिप्त  युवकहरूले ” अब उसो हाम्रो गाउँमा चुनावी पोस्टर, ब्यानर, भित्तेलेखनका काम हामीले नै पाउनुपर्छ ।” भन्ने नारा लिएर राजनीतिक दलहरूका नेताहरूसित भेट गर्छन् । भेटघाट फलदायक रहेकामा सन्तुष्टि जाहेर गर्दै फर्कन्छन् ।

चुनाव आचारसंहिता लागु हुन्छ।

भोलिपल्टदेखि नै यी गाउँले युवाहरू व्यस्त हुन्छन् ।

चुनावमा गतिला दुईवटा पार्टी माझमा प्रतिस्पर्धा देखिन्छ ।

दुवै पार्टीका नेताहरूले आ-आफ्नो चुनाव चिह्न छाता र हात चिह्न पाएपछि प्रचार गर्न पोस्टर, ब्यानर र भित्तालेखनका कामका निम्ति ती युवा झुन्डलाई बोलाउँछन् ।

चुनाव प्रचारको समय पनि थोरै दिन मात्र रहेकाले सौदाबाजी गरेर यी दुवै पार्टीबाट मजदुरी रकम लिएर युवा झुन्ड फर्कन्छ।

युवा झुन्डका नाइकेले लेखनको काम सुरु गर्नुअघि एउटा तर्क पेस गर्दै भन्छ, “साथी हो ! चुनाव पाँच वर्षमा एकचोटि आउँछ, हाम्रो रोजगारी, भविष्यका साथसाथै समाजका लागि पनि हामीले सोच्नुपर्छ । यो बाजी दुईवटा दलमाझमा जोडको टक्कर छ, हामीले दुवै दलकोबाट काम हत्याउन र पैसा ल्याउन त सफल भयौँ तर भोलि एउटा पार्टीले मात्रै सरकार बनाउने हो, चमेरो र दोगलाको उपाधि त टाउकोमा पक्कै बोक्यौँ, यसको केही निदान त सोच्नुपर्ने हो ।”

बीचमै एकजना चतुर तर कर्मठ युवा उठेर भन्छ, “पोल्टिक्स हामीलाई पनि आउँछ क्या, चिन्ता लिने काम नै छैन । हात र छाताको चुनाव प्रचार त हो ।”

सबै जना चुपचाप उसले भनेजस्तै काममा लाग्छन् ।

भोलिपल्ट गाउँमा पोस्टर टाँस्ने, भित्ता लेख्ने र ब्यानर टाँग्ने काम सिद्धिएको हुन्छ । कसैको ध्यान लेखाइमा जाँदैन, पढ्ने जति सबैले आफैँ बुझ्छन् ।

पोस्टर, भित्ता अनि ब्यानरमा लेखिएको हुन्छ,

“यसपालिको चुनावमा तपाईँको बहुमूल्य भोट हाताको चिह्नमा दिएर विजयी बनाउनुहोस् ।”