लघुकथा : बाख्राको खोर 

इन्दिरा गौतम (असम)

आमै गाई-बाख्रालाई थलामा घाँस दिँदै भन्छिन्, ” नकराई बस् है, म बजार  गएर आउँछु |”

बाख्राको पाठाले उसकी आमालाई सोध्यो ” बजार कस्तो हुन्छ ?”  “तेरो दाजु आमैसँग बजार गएको अझै आएको छैन, खै कस्तो भन्नु !”

“खै! मान्छे चैँ फर्किने, बाख्रा-पाठा चैँ  नफर्किने । फर्केर आउनेलाई सोध्नुपर्छ ।” अर्काले कुरा थप्यो । ” तँलाई पनि फकाई फुलाई लैजालान् नि ?”

बुढीगाई आफ्नो थलाबाट सबै कुरा सुनिरहेकी थिई । उसले रुन्चे स्वरले भनी, “मलाइ धेरैपल्ट बजार लगे तर मैले प्रत्येक व्यापारीलाई लात्तीले हान्दै बाँचे । अब पनि लगे भने त बाटामै सुतिदिन्छु । त्यो ठाउँमा हामीजस्ता निरीहको किनबेच हुन्छ, अपराध हुन्छ ।” कुरा सुनेर बाख्राहरू छक्क परे । आफ्नो जीवन आफैँ रक्षा गर्न सिक है | यति भन्दै बूढी गाई कुँडोपानीतिर लागी।

पाठाहरू आमैको स्याहार-सुसारमा बेस्सरी रमाउँदै खाँदा खाँदै ठूला खसी भए। फेरि अर्काे दशैँ आयो | आमैले भनिन्, ” हिँड्! आज बजार हेर्न।” उनीहरू फुर्केर खपि नसक्नु भुईँमा न भाँडामा भए । माउबाख्राले अर्का पाठा जन्माएर  दूध खुवाउँदै थिई। पाठा खाँदाखाँदैको दूध छोडेर दाजुको पछि दौडिन लागे । उसले धीर र शान्त स्वरमा बोलाई “पछि नलाग तिम्रो उमेर पुगेको छैन ।”

सुन्दर परिवारको सपना देख्ने बूढी माउले सकी नसकी बर्सेनि सन्तान जन्माउँदै गई तर खोर कहिल्यै भरिएन ।