१. पहिलो लघुकथा

(भक्तपुर जिल्लाको पहिलो कथाकार)

बिस्फोट

ध्रुव मधिकर्मी

ध्रुव मधिकर्मी

बालक रोइरहेको थियो, भोकले ।

‘खानेकुरो केही छैन ?’ उसले सोध्यो ।

‘छैन…,’ पत्नीको सपाट स्वर भित्रसम्म धसिसक्यो ।

उसले एक सुस्केरा हाल्यो–उफ् !

वरिपरि उसले आँखा फैलायो । फुङ्ग उडेको भित्ता देख्यो र देख्यो व्याप्त ईश्वरको उकुसमुकुसता मात्र !

‘घरमा बेच्नलायक कुनै चिज पनि त छैन…,’ एउटा चिसो उच्छवास चुहियो उसको ओठबाट ।

उसले बेस्कन आँखा चिम्ल्यो र बरबरायो– घरमा….। बालक रोइरहेको थियो– भोकले । सुकेको लाम्टा छातीमा झुलिरह्यो ।

‘हे भगवान !’ केही नपाएर उसले घुँडा टेक्यो ।

‘एउटा बाँकी छ…..भगवानकै मूर्ति,’ पत्नीको स्वरमा बिस्फोट भयो ।

‘के ?’ उसलाई विश्वास भएन र ट्वाल्ल परेर हेर्न थाल्यो ।

###
(भक्तपुर नेपालकै सानो जिल्ला हो र लघुकथा आख्यानको सानो रूप । यही सानो जिल्लाको पहिलो लघुकथाकार हुन् ध्रुव मधिकर्मी ।

ध्रुव मधिकर्मी तीसको दशकको लघुकथाकारहरूको एक नायक हुन् । उनले २०३५ सालमा “लघु” नामक संयुक्त लघुकृति प्रकाशन गरेका छन् । उनी धार्मिक पात्रहरूलाई लघुकथामा उतारी राजनीति र सामाजिक लघुकथाहरू लेख्न खप्पिस छन् । लघुकथामा निरन्तर लागिरहेका ध्रुव मधिकर्मी लघुकथा समाज, नेपालको केन्द्रीय समितिमा रही नेपाली लघुकथाको विकासमा काम गरिरहेका छन् ।

प्रस्तुत लघुकथा “बिस्फोट” गरिबीको कथा हो । कथाको शैली सूत्रात्मक छ । कथाले जस्तै विपत्तिमा पनि आशा जिउँदो हुने कुरो देखाएको छ ।)

२. सक्रियकालीन लघुकथा

स्पर्म डोनर

आचार्य प्रभा

आचार्य प्रभा

“आजकल त्यो गोकुल निक्कै रञ्जितको घरमा धाएको देख्छु, के छ नि ! त्यस्तो यिनीहरुको आन्द्राभुँडी जोडिनुको रहस्य ?”

राधाले पनि थपी, “त्यो गोकुले बिना काम भौंतारिएर हिँड्थ्यो। आजकल त उस्को रवाफ नै बद्लिएको छ। के गर्छ काम-धन्दा ?”

अघिल्लीले फेरि थपी, “त्यही दुई नम्बरी त होला नि ! आजकल सबैको धन्दा त्यही त छ !”

यसरी गोकुलबारे चर्चा चलिरहेथ्यो। उसबारे सबै सशंकित थिए। टोल, छरछिमेकीका जिज्ञासाको पात्र बनेको थियो गोकुल। हुन पनि बिना कर्म मान्छे कसरी जीविकोपार्जन गर्छ ? भन्ने शंका त उब्जिहाल्छ सबैमा। त्यसै पनि गाउँ, टोलको काम नै अरुको चियो गर्नु त हो !

एकदिन पत्रिकामा एउटा विज्ञापन छापिएको देखेर गाउँका सब अवाक् भए । विज्ञापनमा उही “स्पर्म डोनर” बारेमा र गोकुलको तस्बिर छापिएको देखेर टोलका साराले उसको कमाई-धन्दाबारे थाहा पाए। अनि पो टोलबासीहरुले सहजै अनुमान लगाए कि, गोकुल र रञ्जित परिवारको साँठ्गाँठ अनि, रञ्जितले बिहे गरेको दसौं वर्षसम्म पनि उसकी श्रीमतीको बच्चा नभएको तर अहिले एक्कासि रञ्जित बाउ बनेको रहस्य !

विज्ञापनबाट यो रहस्य खुलेपछि ती चियोचर्चो गर्ने महिलाहरुले पश्चाताप गरे।

“हामीले ब्यर्थै रञ्जितकी श्रीमती र गोकुललाई कुदृष्टिले हेरेछौँ। आखिर मान्छेले मज्बुरीमा जे पनि गर्न बाध्य बन्छ। यो त रञ्जित र उस्की श्रीमतीको बाध्यता नै हो। सल्लाहले गरे ठिकै गरे। उनीहरुका शून्य काखमा पनि सुन्दर शिशु खेल्न पाए । गोकुलले पनि कसैलाई नठग्ने धन्दा नगरी, बरु धर्मै पो गरेछ !”

###
(नेपाली लघुकथाको ५० को दशकलाई सक्रियकालीन समय मानिन्छ । यही समयमा आचार्य प्रभाको लघुकथामा प्रवेश भएको देखिन्छ ।

आचार्य प्रभा क्रियाशील र हक्की स्रष्टा हुन् । उनी गीत, कविता, मुक्तक र लघुकथाहरू आफ्नो लेखनीको सुरूवातदेखि नै लेखिरहेकी छन् ।

प्रस्तुत लघुकथा “स्पर्म डोनर” को नेपाली अर्थ वीर्य दानकर्ता हुन्छ । यस्तो दान वा व्यवसाय नेपालमा नचलेकोले कथाको विषय अनौठो पनि हुन जान्छ तर विदेशी भूमिमा लामो समय बसेकी आचार्य प्रभाले आफ्ना लघुकथाहरूमा ड्यासपोरिक अनुभूतिहरू पोखेकी छन् ।)

३. मलाई मन परेको लघुकथा

खुसी

अनु विज्ञाति

अनु विज्ञाती

“म त घर नभएको मान्छे,” कसैको प्रश्नको उत्तर दिँदै थिइन् उनी ।

“अलि काम हुने शाखामा सरुवा माग्नु हौ म्याडम ! यसो घर बनाउने जोहो हुन्छ ।” – मैले आँखा खोलिदिएँ तर उनी चासै नदिई ब्यागबाट डायरी र कलम झिक्न थालिन् ।

एक दिन बैंकका कर्मचारी आफ्नो बैंकमा डिम्याट खाता खोल्न आग्रह गर्दै शेयरको लगानी रणनीतिका बारेमा बुझाइरहेका थिए । उनले लगानी परिचालन, शेयर बजार, सुरक्षित लगानीका बारेमा उल्टै सुझाइन् ।

“यस्तो वित्तीय दक्षता भएको मान्छे त शेयर कारोबार गरेर मालामाल हुनु नि हौ !”- मैले प्याट्ट सुझाएँ। उनी फिक्स हाँस्दै मोबाइलमा कुनै कविको कविता वाचन सुन्न थालिन् ।

अर्को दिन म कोठाभित्र प्रवेश गर्दै गर्दा फोनमा कसरी पढे लोकसेवा पास होइन्छ ? विषयमा र पाठ्यक्रमको गहन अध्ययनका लागि कस्ता सामाग्री छनोट गर्ने ? कसरी फरक ढंगले प्रस्तुति दिने भनेर सिकाउँदै थिइन ।

“यो ज्ञान बाढ्नको लागि मेरो साथीको ट्युसन सेन्टरमा यसो बिहानको दुई घण्टा खर्चनु । दाम राम्रै दिन्छ,” मैले अवसर देखाइदिएँ । उनी बिना प्रतिक्रिया डायरीमा केही लेख्न थालिन् ।

मैले सहनै नसकेर भनेँ, “म्याडम ! लेखेर जिन्दगी चल्दैन ! भए भरका अवसर लत्याएर साहित्य ! आखिर के पाउनु हुन्छ यसबाट ?”

कहिल्यै नबोल्ने उनी एकाएक लगातार प्रश्न गर्न थालिन् ।

“तपाईले यी सब काम गरेर के पाउनुहुन्छ ?”

‘पैसा ।”

“अनि.. ?”

‘इच्छा पूरा गर्छु !’

“अनि… ?”

‘सपिङ, घुमघाम, गरगहना, पाटी, मस्ती… ।’

“अनि… ?”

‘सुखी हुन्छु । खुसी हुन्छु ।’

उनले अदबका साथ भनिन्, “तपाईंलाई खुसी भेट्न यति लामो प्रक्रिया पूरा गर्नुपर्छ । मलाई त्यही खुसी भेट्न ‘लेखे र पढे’ पुग्छ । अब भन्नुहोस्, उस्तै खुसी भेट्नका लागि म त्यति लामो बाटो किन हिडूँ ?”

###
(पछिल्लो समयको लघुकथामा आशालाग्दो नाम लिनुपर्दा अनु विज्ञातिलाई छुटाउनु हुँदैन । उनी लघुकथा लेखन र विस्तारको लागि पूर्वको क्षितिजबाट उदाइरहेकी छन् ।

प्रस्तुत लघुकथा “खुसी” अनु विज्ञातिको एक शक्तिशाली लघुकथा त हो । यो लघुकथामा राम्रोसँग आँखा लगाउने हो भने यसले नेपाली उत्कृष्ट लघुकथाहरूसंग सिधै प्रतिस्पर्धा गरी लघुकथाको मघ्य भागमा रहन सक्छ । विज्ञातिले “खुसी”मा आकर्षक शैली र सटीक विषयको उठान गरेकी छन् ।)