झुप्रो बाहिर कसैले बोलाएको जस्तो लागेर तिलबीर बाहिर निस्क्यो।
‘ए मुख्याबा पो रैचन।’ फुस्फुसायो तिलबीरले।
‘के गर्दै छस् माइला? आज मुन्तरी आउने भनेका छन्। हिँड सुन्न जाउँ कृषिका केही राम्रा कुरा गरि हाल्चन् कि?’
‘कृषिको नाउँमा खुर्सानी रोप्ने एउटा पाटो छ। के नौलो कुरा होला र मुख्याबा?’
‘एक्लो मान्छे! घरमा त्यस्सै बस्या छस्। घाटा लाग्ने क्यै होवैन। कुरो जानेर फाइदै होला बरु।’
‘मुख्याबाले भने पछि जानै परो।’ भन्दै
मुख्याबाको पछि पछि लाग्यो तिलबीर।
मुन्तरी आए। के के हो? के के? फलाके। धेरै कुरो त बुझ्दै बुझेन तिलबीरले। धेरै पटक कृषि समृद्धि! कृषि समृद्धि! भन्या हुनाले त्यै मात्रै याद भयो। तर कृषि समृद्धि भन्या के हो बुझ्नै सकिन। मुख्याबालाई सोध्यो भने रिसाउने हुन कि भन्ने डरले सोधेन।
घर फर्किंदा साँझ भै सकेको थियो। टाउको ‘कृषि समृद्धि’ भन्ने चीजले झन्झनाउँदै थियो। घर पुगेर तिलबीरले बारीबाट एउटा खुर्सानी टिपेर ल्यायो। खुर्सानीलाई सिलौटोमा राखेर सोच्न थाल्यो। यो कृषि समृद्धि भन्ने चिजले
यो खोर्सानिलाई ठूलो बनाई देला कि झन् स्यानो? कि खुर्सानी गुलियो होला? खुर्सानी खाएर गुलियो र भारी बोकेर हलुङ्गो त कहाँ होला र?
केही कुरा नसुझे पछि सिलौटोमा लोरोले नून र खुर्सानी धसक धसक पिस्यो। रात्घरे बज्यैले दिएको मोही ठेकीबाट बटुकोमा खन्यायो। बिहानको बासी मकैको रोटी झिक्यो र नुनखोर्सानीमा चोप्यो। मुखमा च्वाप्प हाल्दै चपायो र बटुकाको मोहीले निल्यो। दिनभरि चर्को घाममा ओहोर दोहोर गर्दागर्दा थाकेको, चूलोको छेउमा भाङग्रो बिछ्यायो र पल्टँदै प्रार्थना गर्यो ‘हे भगवान! कृषि समृद्धि भन्ने चिज सपनामा त नआओस्’।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।