राकेश कार्की

धन र मन मिल्ने साथी थिए । जबदेखि विदेश आए सुरुमा त बल्ल बल्ल भेटेको जस्तोसुकै काम गरेर भए पनि हातमुख जोड्दै थिए तर धेरै वर्षको कडा मेहनतपछि दुवै मिलेर एउटा रेस्टुरेन्टको व्पायार सुरु गरे किनकि दुवैमा विश्वास थियो साथीको साथ नै जीवनको सफलताको एउटा बलियो शक्ति हो । सबैथोक ठीकठाक चल्दै थियो।

एकदिन उनीहरू व्यापारकै सिलसिलामा अर्को ठाउँ जानुपर्ने भयो । धन मनको कारमा सँगै गए । मन कार हाँक्दै थिए । अचानक बाटामा गाडी हिउँको चिप्लोमा चिप्लिएर तल फाँटमा खसेर रूखमा ठोक्कियो । आँखा खुल्दा दुवै जना हस्पिटलमा थिए । धनको हातमा ब्यान्डेज थियो । दुवै जनाको जीउमा ठाउँ ठाउँमा कोत्रेका घाउ थिए ।

धनलाई मानिसहरूले उचाले । दुई साथीको मिलन र राम्रो व्यापार गरेर उन्नतिप्रगति गरेको देखि नसहनेले भन्न थाले,
“धन तिमी मनलाई मुद्दा हाल ।”
“हैन हैन यो त एक्सिडेन्ट हो, जानी जानी गरेको होइन” धनले भने ।
“उसले विचार गरेर हाँक्नुपर्थ्यो नि, यस्तोमा साथी भन्न हुँदैन तिम्रो ज्यान जान सक्थ्यो ।”
एक्सिडेन्टको वकिलले पनि मौकामा चौका हान्दै ब्रेनवास गरेपछि कुरो अदालतसम्म पुग्यो ।

त्यसपछि तारिखका लागि धाउन पर्ने, वकिलको फिस, दाबीको हर्जाना गर्दै सबैले सबैतिरबाट पैसा सोस्न थाले । अनि धन र मनको त्यति लामो र मधुर मित्रता टुट्यो र होटेल बेचियो ।

धनले क्षतिपुर्ति स्वरूप केही धन त पाए तर उनलाई लाग्यो “जाबो धनका लागि मैले यो के गरेँ, साथी गुमाएँ, व्यापार गुमाएँ, विश्वास गुमाएँ, सम्बन्ध गुमाएँ र खुसियाली गुमाएँ ।”
धनले चिन्तित भएर खुइया गरे । अब उनलाई नै थाहा छैन उनले न्याय पाए कि सबैथोक गुमाए ।

लस एन्जेलस