जीवनलाल एक जना सफल व्यक्ति हुन् । धेरै कष्ट गरेर उनले सफलता प्राप्त गरेका छन् ।
जीवने उनको परिचित नाम हो । अगाडिदेखि गाउँका मान्छे  उनलाई ” जीवने” भनेर बोलाउने गर्थे  ।
“यसो गर जीवने!” “उसो गर जीवने!”
उनलाई “जीवने” भनेको सुन्दा धेरै दु:ख लाग्थ्यो , आफैँलाई रित्तो भाँडो, जताततै  लड्नेजस्तो लाग्थ्यो ।
उनले एकदिन एउटा प्रण लिए ” अब यो जीवनेले जीवनमा केही गरेरै मात्र छाड्नेछ, यति अर्थ बटुल्छ कि मान्छेले मलाई सलाम गरून् ।”
बस् जीवनेले दायाँबायाँ केही हेरेनन्, सफलता हासिल गर्नलाई दिनरात मिहिनेत गर्न थाले ।
अथक परिश्रम र असीम साहसले जीवनेले चाँडै सफलता पनि प्राप्त  गरे ।
तर आफन्त,सम्बन्धी ,इष्टमित्रहरूको साथ छोड्दै गए । कर्ममा यति मग्न भए कि साथीहरूले बोलाएको पनि सुनेनन् , कष्ट मात्रै गरे तर भोग गरेनन् ।
अति कम समयमै उनको नाम “जीवने” बाट सेठ जीवनलाल भयो । नामका पछाडि  “लाल” जोडिनु नै उनका निम्ति काल भयो, उनले बोलीमा दम्भ र अहङ्कारको इत्र छर्किन थाले, व्यवहारमा परिवर्तन आउन थाल्यो ।
घरमाथि घर बनाउँदै गए तर बिर्से कि उनले बनाएको महल माटामै खडा छ ।
 आकाशमा उड्दा उड्दै धर्तीलाई बिर्से ।
एक दिन जीवनलाल आफ्नो पाँचतले महलको “बेलकनी” मा बसेर तलका मान्छेलाई  हेर्दै थिए, उनलाई यो सोच आहिरहेको थियो कि “यी जमिनमा घर बनाएर बस्नेहरूले कहिल्यै अनुभव गर्न सक्दैनन् सफलताको आनन्द । जान्दैनन् सुख के हो ? प्राप्ति  कसलाई भन्छन् ?”
 सोच्दा सोच्दै एक्कसी उनको आँखामा हावामा कतैबाट मसिनो कसिङ्गर आएर पस्यो ।
आँखा मिच्दा पनि गएन । उनले चारैतिर धमिलो देख्न थाले । भित्र गएर आँखामा पानी छ्याप्नुपर्‍यो भन्दै उठ्न खोज्दा सिँढीबाट झरे । धेरै चोट लाग्यो, हातखुट्टा भाँच्चिए शिरमा पनि चोट लाग्यो ।
आज जीवनलाल अस्पतालमा बसेर यो सोच्दै छन्  कि एउटा सानो कसिङ्गरको सामुन्ने पराजित भएपछि
जीवनमा अहङ्कार गरेर के फाइदा ?
——–0—————–