नम्रता भण्डारी

मामु भोलिबाट त हजुरहरू सबैको छुट्टी हुन्छ नि कोरोनाले गर्दा ? कस्तो मज्जा आउँछ । कस्तो रमाइलो हुन्छ । “हिजो रातिदेखि नै म त धेरै खुसी छु” सानी छोरी बोल्दाबोल्दै मलाई अँगाल्न आइपुगी । मैले छोरीको अनुहारमा हेरेर भनेँ “घरमा बस्न मन लाग्दैन नि ?” होइन होइन भन्दै ऊ टाउका हल्लाउन थाली । “अनि किन त” मैले सोधेँ । “मामु हजुरलाई केही पनि थाहा छैन नि । सधैँ हजुर बिहान उठेर पढाउन जाने, बाबा अफिस जाने र दिदी स्कुलमै बस्छे । म त दिनभरि घरमा एक्लै हुन्छु । मेरो खेल्ने बोल्ने कोही साथी छैन । मेरो कुरा सुन्दै हुनुहुन्छ नि?” उसले मतिर हेर्दै भनी । “हजुरहरूसँग बसेर गफ गर्न पाउँदिन । सँगै बसेर खेल्न र जिस्कन पाउँदिन । सँगै बसेर खान पाउँदिन ।” बिहान देखि साझ सम्म घरको काम गर्ने दिदी सँग बस्दा बस्दा मलाई दिक्क लाग्छ । दिदीले खाना खाऊ लुगा फेर, सुत, धेरै चकचक नगर मात्र भन्नुहुन्छ । मलाई केही कुरामा पनि रमाइलो लाग्दैन ।

मलाई त हजुरहरूसँग चल्न, बस्न, खेल्न, उफ्रिन, जिस्किन, नाच्न, गाँउन, बाबालाई घोडा वनाएर बाबासँग खेल्न मन लाग्छ ।

अबदेखि हजुर पनि मसँगै घरमा बस्ने र दिनभरि मसँगै खेल्न र दौडन मिल्दैन ? मलाई त कोरोना……………………। छोरीको वाक्य पूरा हुन नपाउँदै एकै छिनमा म लल्याकलुलुक्क हुन थालेँ । मेरो आखाँबाट निरन्तर आँसु बहे । आँखामा आँसु देखेर छोरी “किन रोएको म दिदीसँगै बस्छु बरु भन्दै आँसु पुछ्न थाली” ।

म आफ्नो काममा कस्तो व्यस्त भएछु कि छोरीको बालपन नै खोस्नपुगेछु । झन् क्याम्पसको अध्यापक भएपछि त म बिहानै निस्केर अधिकांश समय बेलुका मात्र घर फर्किन्थे । मेरो स्कुटरको आवाज सुन्नेबित्तिकै अब म जान्छु है भन्दै ढोकाबाट काम गर्ने बहिनी बाहिरिनुहुन्थ्यो । छोरी रातिको खाना खाएर सुतिसकेकी हुन्थी ।

म कस्तो निष्ठुरी आमा हुँ ? जसले आफ्नो नाबालक छोरीको आवाज पनि बुझ्न सकिन । छोरीलाई कस्तो चोट र आहतले बेरेको होला? न्यानो मायाँ पाउन ऊ कति छटपटिएकी होली ? के मैले अब आफ्नो छोरीलाई साँचो न्याय दिन सकुँला ? म आफूले आफैँलाई माफ गर्न सकुँला ? उसको घाउलाई निको पार्ने मलम बन्न सकुँला ? त्यो रातभरि म – धेरै गम्भीर र खिन्न  भएँ ।  किनकि त्यो रातभरि मलाई छोरीको अनुहार हेर्न मन लाग्यो ।

 

            तारकेश्वर ७ काठमाडौ