आकाश अधिकारी

साँझ परिसकेको थियो । बजारछेउकै भट्टि पसलमा प्रायः शुरवीर जाने गर्थ्यो । दुईतीन दिनपछि आज फेरि शुरवीर भट्टी छिरेको छ । १/२ गिलास घरपालुवा कहिले चट्नीसँग त कहिले सेकुवाको साथमा पिउने गर्थ्यो । ८/१० वर्षदेखि आजसम्म कुनै भट्टी चहारेको छैन । पसलेले पनि शुरवीर गएर बस्नासाथ उसको कोटाअनुसार नै आहार पुऱ्याउने गर्छन् !

शुरवीर भट्टी पसेर आफ्नो आसनमा बसिसकेको छ । आज साहू /साहुनी  अलि व्यस्त देखिन्छन् ऊ बस्ने आसनभन्दा भित्रको कोठामा  मान्छेहरूको ठुलै उपस्थिति छ आज ।
भट्टी मालिक साहुनीलाई सम्झाउँदै छन् “अलि छिटो गर्नू है ! अनि अरू ग्रहाक आए खाने कुरा सकिसक्यो भन्नू ।” शुरवीरले आफू पुरानो ग्राहक भएकै कारण केही नभनेको आभास गऱ्यो । भान्सामा नयाँ परिकार बनेकोथ्यो सायद । सधैँभन्दा फरक बास्ना आइरहेको थियो । भित्र बस्नेहरू  घरपालुवा मगाइरहेका थिए ! गाइँगुइँ चलिरहेको थियो, सायद पहुँचवाला मान्छेहरू थिए । भन्दै थिए, “कालिज त त्यो पाखामा अति फस्टाएको छ तपाईँको मा नि पठाएको थिएँ नि त ४/५ चोटि त हैन र”? जबाफमा अर्कोले थप्यो ” कालिजभन्दा त अघिल्लो महिना तपाईँले पठाउनुभएको “मृगको सुकुटी  आहा”! काठमाडौँसम्म पुऱ्याए भन्या!! अर्काले थप्यो “हो हो तपाईँ हुनुहुन्छ र पो कोही चुँक्क बोल्न पनि सक्दैनन्” । त्यो के जाति पत्रिकाको पत्रकार टोपलिएको थियो नि  त्यसलाई विज्ञापन  नदिएरै तह लगाउनु भो तपाईँ ले  हैन ? आजकल अरब लागेछ त्यो त! हा हा” केहीबेर हाँसो गुन्जन्छ । “महासङ्घका साथीहरू लाइनमा नै छन्  नि हैन”?

भित्र यस्तै यस्तै  संवाद चलिरहेको थियो ।

शुरवीर आफ्नो नित्य कोटा पूरा गरेर पैसा बुझाउन काउन्टरतर्फ लम्क्यो र त्येही मौका छोपेर साहुनीसँग सोधिहाल्यो शुरवीर ले “को हुन यिनीहरू??” साहुनीले भनिन् खै पुलिसका ठुला मान्छे, पत्रकार , कुन कुन पार्टीका नेता लिएर आका रैछन् पल्लो सामुदायिक वनका काजीमानले”।
शुरवीर मुन्टो हल्लाउँदै  निस्क्यो!!!

तनहुँ