साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा – इमिन्युटी पावर  

आचार्य प्रभा (अमेरिका)

“हैन के नचाहिँदो कुरा गर्छस् ए कृष्णे ? के भनेको जनता नै कोरोना भाइरस भनेर । यस्तो जनता नै तल पर्ने कुरा बोल्ने हो ?” हर्कवीरले कृष्णेलाई हप्कायो ।

“अनि के हामीलाई जनताजस्तो व्यवहार गरेको छ त ! नेताहरूले ? भाइरसै त ठानेका छन् नि ।” कृष्णेले फेरि आफ्नै जिद्दी गऱ्यो ।

सम्बन्धित पोस्टहरु

हर्कवीर रिसले चुर हुँदै भन्न थाल्यो – “तँजस्तै हरिलट्ठक जनता भएर नै आज हामी साराले दुःख पाएको । यस्तो भयावह माहामारीमा कसरी बाँच्ने ?भनेर सरकार(नेता) माझ दह्रिलो आवाज उठाउनुपर्नेमा अझ ‘जनता नै कोरोना भाइरस ‘ भनेर झन् निर्लज्ज सरकारकै काँध थाप्छ । तँ बहुलाउँदै छस् कि के ?”

हर्कवीरको कुरा सुनेर कृष्णेले सम्झाउँदै भन्यो – “हेर्नुहोस् बा! कोरोना आक्रमणबाट बच्न भाइरस विरुद्ध प्रतिरोधात्मक शक्ति बढाउँदै कमजोर नबनी कोरोनासँग लड्ने क्षमता बटुलेर मान्छे कत्ति पनि त्रस्त नभई यसलाई बेवास्ता गर्दै परास्त गर्न सकेमा मात्र आफू बच्न सक्ने चान्स हुन्छ रे । बस् इम्युनिटी पावर बढाउनुपऱ्यो ।”

“तेरो भनाइको आशय के त ? माथिको तेरो भनाइअनुसार जनतालाई  कोरोना भाइरससँग दाँजिस् । अहिले इमिन्युटी पावरको कुरा पनि गर्छस् । तैँले भन्न खोजेको चाँहि के ? मैले बुझिनँ ।” हर्कवीरले अचम्भित बन्दै सोध्यो ।

“नेताका लागि हामी कोरोनासरह भएनौँ र ? जसरी कोरोना विरुद्ध लड्न मानिसलाई भनिएका कुराहरू छन्, त्यही कुराहरू नै जनताहरूलाई नेताबाट लागु भएको छैन । कोरोनालाई रोक्न इम्युनिटी पावर बढाएजस्तै सरकारले पनि जनतालाई कमजोर पार्न आफ्नो इम्युनिटी पावर बढाएर कसरी जनतालाई पराजित गरिरहेछन् ? कोरोनासँग नडराउन सचेत गराएझैँ जनतासँग डराएको छ नेता । कोरोना परास्त गर्ने प्रयास गरेझैँ नेताहरूबाट जनताहरू परास्त भएका छैनन् र ? मान्छेले जसरी कोरोनालाई जित्ने प्रयास गरिरहेको छ । त्यसरी सरकारले पनि जनतालाई जितिरहेको छ आफ्नो इमिन्युटी पावर र कुर्सीमोहले । त्यसैले सरकारका निम्ति हामी कोरोना भाइरससरह भएनौँ र ? ”

कृष्णेको कुराले बल्ल हर्कवीरको दिमागको बिर्को खुल्यो र भन्यो – “कृष्णे तेरो कुरा सही हो तर जनता कहिल्यै हार्दैनन् बुझिस्? इतिहास पल्टाएर पढ् ।”

 

प्रतिक्रिया
Loading...