१. पहिलो लघुकथा
(बज्जिका भाषाको पहिलो लघुकथा)
पुरस्कार
सञ्जय साह मित्र
एक दिन एउटा प्रतियोगिताको आयोजन थियो विद्यार्थीका लागि । नगरस्तरीय प्रतियोगितामा विद्यार्थीले कविता पठाउनुपर्ने थियो ।
मैले पढाउने विद्यालयको हेड सरले आदेश दिनुभयो – कवितामा जसरी पनि फस्ट हुनुपर्छ हाम्रो विद्यालय ।
रुचि लिने विद्यार्थी धेरै थिए । धेरैले लेखेर ल्याए, देखाए । मैले विद्यालयस्तरीय प्रतियोगिता गराएर राम्रोलाई छनोट गरी पठाउँदा हुन्छ भन्ठानें । मैले प्रतियोगिता गराएँ । नभन्दै राम्रा कविताहरू पनि वाचन गरिए । म उत्साहित थिएँ । बालबालिकाको प्रतिभाप्रति नतमस्तक थिएँ ।
नतिजाको लागि छान्दै थिएँ । मोबाइल स्क्रिनमा हेडसरको नम्बर देखियो । उठाएँ – मेरो भतिजोलाई फस्ट गरिदिनुस् ।
मनले नमाने पनि आदेश माने । अब उनै जाने भए नगरस्तरीय प्रतियोगितामा ।
सोही साँझ फेरि हेडसरको फोन आउँछ – सरले एउटा यस्तो कविता लेख्नुप¥यो जुन नगरस्तरीयमा प्रथम होओस्, मेरो भतिजोलाई पढ्न पनि सिकाइदिनुहोला ।
रातभरि नसुतेर कविता लेखें । भोलिपल्ट सार्न लगाएँ हिजोको विजेता प्रतियोगी र आजको नगरस्तरीय प्रतियोगीलाई । प्रतियोगितामा लिएर पुगें । सबैले इमानदार शिक्षक भनी मलाई निर्णायक समितिमा राखे । अन्तमा उसलाई प्रथम पनि गराएँ ।
म र नगर प्रमुख संयुक्त भएर पुरस्कार दिँदै गर्दा मेरो आँखा भने रसाएको थियो । मुटुमा घोचेको शूलको पीडाले आँखामा द्रव्य भरिएको केवल मैले मात्र बुझेको थिएँ ।
###
(बज्जिका भाषा नेपालको मातृभाषा मध्येको एक प्राचीन लोक भाषा हो । आफ्नै लिपि भएको बज्जिका भाषाको सम्बन्ध बैशाली र लिछिवीकालसंग रहेको मानिन्छ ।नेपाल र भारतमा गरेर यो भाषाीहरू ३ करोडको हाराहारीमा रहेको अनुमान गरिन्छ । नेपालमा हालसम्म २ दर्जन कृतिहरू बज्जिका भाषामा प्रकाशित भइसकेको छ ।कतिपयले बज्जिका भाषालाई मैथली र भोजपुरी भाषासंग पनि तुलना गर्दछन् । नेपालको पछिल्लो जनगणनामा बज्जिका भाषीहरू २ प्रतिशत रहेको देखिन्छ ।
बज्जिका भाषाको पहिलो लघुकथाकार सञ्जय साह मिश्र हुन् । उनी बज्जिका भाषा र साहित्यको उत्थानको लागि लागिपरेका एक स्रष्टा हुन् । रेडियोकर्मी, भाषा र साहित्य सेवी सञ्जय केही राष्ट्रिय र अन्तराष्ट्रिय साहित्यिक संघ/संगठनहरूमा पनि आवध्य छन् ।
प्रस्तुत लघुकथा “पुरस्कार”ले साहित्य क्षेत्रको एक विसंगतिलाई मज्जाले उतारेको छ । लघुकथामा सामान्य शैली हुदा हुँदे पनि कथाले प्रतिभाहरू कसरी निमोठिन्छन् भन्ने कुरा प्रष्ठ्याएको छ ।)
२. सक्रियकालीन लघुकथा
बिरामी
छविरमण सिलवाल
सधैँ म छोरोलाई यही बाटो स्कुल लैजाने गर्छु । बाटोमा देखिने दृश्यहरूले उसको कौतुहल बढ्दै जान्छ । एकदिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसको आँखा पर्यो, र सोध्यो ‘बाबा अरू गाडी गुड्दा त कराउँदैनन् । यो गाडी चाहिँ किन कराउँदै हिड्छ ।’ मैले भने ‘बाबु यो एम्बुलेन्स हो, यसमा बिरामीहरूलाई राखेर अस्पताल लैजाने गरिन्छ । छिटोछिटो लैजानको लागि यो गाडी कराएको हो यसलाई सबैले बाटो छोडिदिनुपर्छ । यसको बज्नेलाई साइरन भनिन्छ । उसले बुझेजस्तो गर्यो र “ए !” मात्र भन्यो । मैले उसलाई स्कुलको गेटसम्म पुर्याएर घर फर्कें ।
केही दिनपछि अगाडि पछाडि पुलिसको गाडी साइरन बजाउँदै कुद्दै थियो । मन्त्रिको गाडी बिचमा थियो । सडकपेटीबाट म उसलाई स्कुल पुर्याउँदै थिएँ । फेरि उसको भन्यो, ‘आज त विरामीहरू धेरै भएछन् नि बाबा ! पुलिसहरु पनि रहेछन् । बिरामीहरुलाई सुरक्षा पनि चाहिन्छ बाबा ?’ एकै श्वासमा भन्यो । मैले उसको जिज्ञासालाई शान्त पार्दै मैले भने, ‘बाबु यिनीहरु बिरामी होइनन् । देशका मन्त्रिहरु हुन् । ठूला मान्छेहरू यिनीहरुको सुरक्षाका लागि पुलिसहरु अघिपछि लागेका हुन् ।’ उसले केही बुझेजस्तो गरेर भन्यो । उनीहरु त सधैँ बिमारी नै हुन्छन् कि क्या हो बाबा ? सधैँ एम्बुलेन्समा चढ्दा रहेछन् ।
उसको कुरा सुनेर म अवाक भएँ !
###
नेपाली लघुकथामा पचासको दशकलाई सक्रियकालीन समय मानिन्छ । यही समयदेखि लघुकथाकार छविरमण सिलवाल कविता र समीक्षाको अलावा लघुकथामा पनि सक्रिय रहेका छन् ।
छविरवण सिलवाल बहुमुखी प्रतिभा भएका लघुकथाकार हुन् । उनी काव्य, आख्यान, निबन्ध र समिक्षकको अलावा कुशल रेडियोकर्मी पनि हुन् । लघुकथाको विकासका लागि स्थापित लघुकथा समाज, नेपालको छवि संस्थापक सदस्य हुन् । लघुकथा समाजमा रहेर नेपाली लघुकथाको विकासमा सकृय भएर लाग्नु छविको एक छवि नै हो ।
प्रस्तुत “बिरामी” लघुकथामा कथाकार छविरमण सिलवालले बाल अनुभूतिको प्रयोग गरि मुख्यत: नेपालको नेताहरूको सटिक चित्रण गरेका छन् । साँच्चै, हाम्रा नेताहरू सबै सधै नै बिरामी परिरहन्छन् कि, कसो ? लघुकथाले गम्भीर प्रश्न उब्जाएको छ । लघुकथा सटिक र मार्मिक दुबै छ ।)
३. मलाई मन परेको लघुकथा
उन्यूको फूल
त्रिपुरा पोखरेल खरेल
“नानी, बाबाले जस्तै पढेर ठूलो बन्नुपर्छ है।”
अम्बालिकाले बसन्त पञ्चमीको दिन छोरी भाग्यशालीको हातमा खाता कलम दिइन् । बालिकाले ‘ठूलो’ शब्दको अर्थ ठम्याउन सकिन । एउटा कुनामा बसेर कलमले खाता कोर्न थाली।
भाग्यशालीले उसलाई भनी, ‘आमा हेल्नु त मैले बाबाको फोटो बनाको ।’
भान्सामा भात पकाउँदै गरेकी अम्बालिकाले छोरीले बनाएको फोटो हेरी आकार बिना जताततै कोरिएका लामा धर्काहरु मात्र थिए। उसले ती अर्थहीन किरिङमिरिङ कोराइलाई आफ्नो भाग्यसँग तुलना गरी । आफ्नो कुमारीत्व भङ्ग गरेर भागेको प्रेमीको कल्पनाले पनि उसलाई वाकवाकी लगायो।
“आमा बाबा कहिले आउनु हुन्छ ? ” भाग्यशालीले आमाको केस चलाउँदै सोधी । उसले काम वासनाले लिप्त हुने त्यो प्रेमी भनाउँदो पुरुषलाई आफ्नो विस्मृतिबाट हटाएर त्यहाँ कल्पनाको आदर्श लोग्ने खडागर्दै भनी, “मेरी छोरीको बाबा अब छिट्टै आउनु हुन्छ। ठूलो मान्छेले काम छोडेर आउन मिल्दैन नि छोरी।” ऊ सधैं यस्तै जवाफ दिने गर्छे।
बिहे भएको बाह्र वर्षपछि सम्भ्रान्त परिवारको घरमा जन्मेकी थिई अम्बालिका, त्यसपछि त्यो घरमा अर्को सन्तान जन्मिएन।अम्बालिका उद्योगपति बाबुआमाको आशा र भरोसा थिई ।
उसले आफ्नो पेटलाई पाँच महिनासम्म लुकाएकी थिई । एकदिन छोरीको पेट बढेको देख्दा आमालाई ट्युमरको शंका लाग्यो। डाक्टरलाई देखाउँदा गर्भवती भएकी रहिछ। रगतको कमी भएकोले डाक्टरले गर्भपतन गर्न मानेन।
“बाह्र वर्षसम्म सन्तान नहुँदा पनि हामी खुशीले बाँचेकै थियौँ, आज हाम्रो विश्वासलाई तोडिस्, समाजमा हामीलाई जिउँदै मारिस्, तँ हाम्रोलागि उन्यूकै फूल भइस्,” आमा धेरै रोएकी थिइन् । तिनले छोरीलाई पहाडको फार्म हाउसमा लगेर राखिदिइन्।
त्यो दिनदेखि अम्बालीकाको जीवन पीडादायी र संघर्षमय भएको छ। उसको जीवनमा आफ्नो भन्ने भाग्यशालीबाहेक कोही छैन ।
“आमा ! यो ‘उन्युको फूल’ तपाईंले लेखेको उपन्यास हो?” दशैँको छुट्टीमा छात्रावासबाट आएकी भाग्यशालीले टेबलका किताबहरु हेर्दै सोधी। अम्बालिकाका आँखाबाट आँसु बग्दैथियो।
“आमा मैले तपाईंको उपन्यास रातभरि लगाएर पढेँ। अब म कहिले पनि त्यो नदेखेको बाबुको बारेमा तपाईंसँग सोधिखोजी गर्दिन । तपाईं उन्युकै फूल भए पनि मेरो लागि भगवान् हुनुहुन्छ । तपाईंले मेरो लागि आफ्ना सबै खुशी त्यागेर दुःखलाई अँगाल्नु भयो ।
###
(त्रिपुरा पोखरेल, खरेल देशबाहिर सिक्किममा बस्छिन् र बाहिरैबाट देश र नेपाली भाषाको सेवा गर्छिन् । उनी काव्य र आख्यान दुबैमा रुचि राख्छिन् । बिशेषत: लघुकथा लेखनमा त्रिपुराको कलम गम्भिर पारामा चलिरहेको पाइन्छ ।
प्रस्तुत लघुकथा “उन्यूको फूल” मा कुमारी आमाको पीडा र संघर्षलाई लघुकथाकार त्रिपुरा पोखरेल, खरेलले बढो भावुक तरिकाबाट पस्केकी छन् । साँच्चै सिक्किम अर्गानिक क्षेत्र हो । अर्गानिक क्षेत्रमा रहेकी त्रिपुराले यस लघुकथामा अर्गानिक अनुभूतिहरू घुसाएकी छिन् । कथानकले प्रत्येक पाठकलाई चस्स ! बनाउँछ । यही नै लघुकथाको बिजय पनि हो ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।