दिवाकर भट्टराई

आधुनिक समय चक्रसँगै हरेक व्यक्तिमा आफ्नो व्यक्तित्व राम्रो बनाउनुका साथै जीबनशैली उच्च देखाउने प्रवृत्ति बढ्दै छ । आर्थिक अवस्था कमजोर भएको व्यक्तिलाई आज के खाउँ, भरे के खाउँ ! भन्ने चिन्ता भएता पनि समाजमा आफूलाई स्थापित गर्न, आफ्नो जीवनशैली उच्च देखाउने देखासिकी बढ्दै गइरहेको पाइन्छ। व्यक्तिको मूल्याङ्कन उसको विचार, गुण र भावना भन्दा भेषभुषा, रहनसहन, जीवनशैलीसँग तुलना गरिनु गलत हो। यस्तै समाजमा हुर्केको केटो हो – वीरबहादुर कुमाल।
उ सोचको निकै धनि मान्छे,राम्रो अध्ययन साथै सोचले व्यक्तिलाई सर्वगुण सम्पन्न बनाउँछ भन्ने कुरा राम्रोसँग बुझेको छ। त्यसो त, संसारमा प्रयास गर्नेहरु हरकोहि सफल रहन्छन् । बीरबहादुरका मातापिताले माटोका भाँडाहरु बनाउने र स्थानीय क्षेत्रमा विक्रीवितरण पश्चात जम्मा भएको रकमले पारिवारिक खर्चको जोहो गर्ने गर्दछन्। स्थानिय विद्यालयमा कक्षा ९ को तृतीय विद्यार्थी साथै जेहन्दार विद्यार्थीको रुपमा परिचित छ, वीरबहादुर। उसको असाध्यै मिल्ने साथी रोहन थापा । रोहन कक्षामा प्रथम साथै चकचके विद्यार्थीको रुपमा परिचित छ। उनीहरु दुवैजनाको मित्रता देखेर धेरै साथीहरुले ईर्ष्या पनि नगर्ने होइनन। रोहनका बुवा भारतीय सेनामा कार्यरत रहेका कारण पारिवारिक अवस्थाः रोहनको राम्रो छ।
बीरबहादुरका मातापिताले सन्तानको खातिर देखेका सपनाहरु आफ्नै हातले माटोका भाँडामा जस्ताको तस्तै चित्र जस्तै स्पष्ट कोरेका थिए। सन्तानको खुसी र भविष्यका निम्ति एक जोर जीउ ढाक्न र पेटभरी खान कहिल्यै कन्जुस्याइँ गरेनन्। भलै खाना नमिठो थियो होला तर खुशीको भोजन भने पक्कै थियो। परिवारका हर सदस्यमा खुसीको कुनै कमी थिएन।
असारको महिना एकदिन बिहानैदेखि निकै पानी परिरहेको थियो। स्कुल जाने क्रममा वीरबहादुरको स्कुलमा लगाउने एकजोर जुत्ता पानीले भिजेर लगाउन नसक्ने अवस्था भयो, अनि उ घर फर्कियो।
त्यस समयमा खुट्टाको भन्दा, जुत्ता/चप्पलको माया बढी हुने गर्थ्यो। अरु विकल्प थिएन, चुडेको चप्पलमा दुई फरक रंगका तुना भएको चप्पल लगाउँदै स्कूल जानुपर्ने वाध्यता भयो।
वीरबहादुरका साथीहरुले पहिले त ख्याल गरेका थिएनन्, पछि देखेपछि सबै साथीहरुले जिस्काउन थाले । अरु त अरु थिए, आफ्नै साथी रोहनले समेत उसको हैसियतको मजाक बनायो र भन्यो: “यस्तो के गरेको साथी?”
जबाफमा वीरबहादुरले : “मेरो बाध्यता हो, म लाचार छु, मेरो मजाक नगर!”(दुःखि हुँदै..!)
(हा… हा …हासोको खित्का छुट्छ। सबै साथीहरुले विरबहादुरको मजाक गर्छन्।)
त्यस दिनदेखि बिर बहादुरले आफूलाई एक्लो भएको महसुस गर्यो। आफ्नो अध्ययनलाई उत्कृष्ट बनाउने दिशातर्फ उ निरन्तर अघि बढ्यो। आफ्नो प्रिय साथी रोहनसँग पनि बोलचाल बन्द भयो । दिनहरु बित्दै गए, कक्षा ९ को अन्तिम परीक्षा दिइसकेपछि नतिजा आयो, वीरबहादुर  कक्षा १० मा प्रथम साथै स्कुलमा सर्वश्रेष्ठ अङ्क ल्याएर स्कूलफस्ट हुन सफल भयो।
त्यस दिन रोहनले वीरबहादुरलाई भन्यो “गल्ति मेरो थियो साथी, साथीहरूको लहलहैमा लागेर मैले त्यस्तो भन्नुहुँदैन थियो। मलाई माफ गरिदेउ।” त्यसदिनदेखि उनीहरूको मित्रतामा कहिल्यै यस्ता विषयले प्राथमिकता पाएन।
दमौली, तनहुँ