प्रतीक दुई कक्षामा पढ्छ । उसँग केही क्षण बस्यो भने थाहा भइहाल्छ कि ऊ नामजस्तै सुन्दरताको प्रतीक हो, चञ्चलताको प्रतीक हो अनि जिज्ञासाको पनि प्रतीक हो । उसको कक्षामा सबैभन्दा जान्ने र चलाख विद्यार्थी ऊ नै हो भने पनि फरक पर्दैन । सधैँझैँ आज पनि ऊ स्कुलबाट घर फर्कँदै थियो । मूलबाटामा अचानक मान्छेहरूको हुल हल्ला गर्दै आइरहेको देख्यो । उसका चञ्चल आँखाले एकछिन पर्खेर हेर्ने निधो गरे । खुट्टाहरू बाटाछेउमा गएर अडिए ।

मान्छेहरू ठुल्ठुलो श्वरमा कराइरहेका थिए । बीचमा एउटा कालो अनुहार भएको मान्छे सकी नसकी हिँडिरहेको थियो । घरिघरि घिसारेजस्तो पनि देखिन्थ्यो । प्रतीकले आजसम्म त्यतिधेरै कालो मान्छे देखेकै थिएन । भिड अझ नजिक आयो । त्यो कालो मान्छेले त घाँटीमा फाटेका जुत्ता मालाजस्तो बनाएर झुन्ड्याएको पनि रैछ । कहीँ मान्छेले जुत्ताको माला पनि लगाउँछन् ? प्रतीक तीनछक्क पऱ्यो ।

हेर्दाहेर्दै भिड उसकै अगाडी आइपुग्यो । त्यसपछि त प्रतीक आश्चर्यचकित नै भयो । त्यो जुत्ताको माला लगाउने कालो मान्छे त उसकै बुबा पो रहेछन् । कालो मोसो दलेर त्यति धेरै कालो देखिएका रहेछन् । बाउको त्यस्तो रूप देखेर उसलाई सपनाजस्तो लाग्यो । अनि बिहान बुबा अफिस जाँदा कस्तो कपडा लगाएका थिए भन्ने कुरा सम्झियो अ

विवेक धिमाल

निमात्र आफ्नै बाउ भएको ठहर गऱ्यो । त्यो मान्छे उसकै बाउ थिए । उसका बाउ अर्थात् सुब्बा प्रकाश अधिकारी । उसलाई भीड छिचोलेर बुबासँग जान पनि आँट आएन । त्यो भिड परसम्म पुगुन्जेलसम्म मान्छेहरूले बोलेका भ्रष्टचारी, घुस र अख्तियारजस्ता शब्दहरू चर्को स्वरमा सुनिन्थे तर त्यसको अर्थ के हो प्रतीकलाई थाहा थिएन ।

घर जाँदै गर्दा बाटामा पर्ने बाँझो खेतमा साथीहरू चोरपुलिस खेल्दै थिए । त्यो देखेपछि प्रतीकले अघिको सबै घटना बिर्सियो अनि ऊ पनि पुलिस बनेर चोर समात्नतिर लाग्यो । समय खरायोको गतिमा दगुर्न थाल्यो । हिउँदका छोटा दिन । खेल्दाखेल्दै दिन बितेको पत्तै भएन । प्रतीक घर पुग्दा लगभग साँझ परिसकेको थियो । आमाबुबा घरमै थिए ऊ ढोकाबाट डराउँदै भित्र छिऱ्यो तर आज अचम्म भयो । छोरो स्कुलबाट घर ढिलो फर्किँदा पनि दुवैले गाली गरेनन् । प्रतीक झनै खुसी भयो अनि लाडे पल्टिएर बाउको काखमा बस्यो ।

“बुबा अघि हजुरले किन जुत्ताको माला लगाउनुभएको ?”

छोराको जिज्ञासु प्रश्नले बाउको मुटुले ढ्याङग्रो ठोकिहाल्यो । बाउले उत्तर नदिएपछि उसले बाउको मुहारमा हेऱ्यो अनि बादल मडारिएको प्रस्ट देखिहाल्यो । उसले सोध्न नहुने कुरा सोधेछु क्यार भनेर अड्कल लगायो अनि फेरि भन्यो—

“अस्ति हाम्रो विद्यालयको वार्षिकोत्सवमा हजुरले लगाउनुभएको फूलको मालाले कत्ति राम्रो देखिएको थियो । अबदेखि फूलको मालामात्र लगाउनु है, बुबा ?”

छोराको कुराले बाउको मन हुँडलिएर आयो तर पनि उसका अगाडि आँखा निचोरेर सुकाउन भने सकेनन् । आफूलाई सक्दो सम्हाल्न कोसिस गर्दै थियो तर छोराको जिज्ञासा भने अझ सकिएको थिएन । उसले फेरि सोध्यो—

“बुबा, अघि बाटामा मलाई कति जनाले भ्रष्टाचारीको छोरो भने । हजुरको नाम भ्रष्टाचारी पनि हो र ?”

बाउले हो भन्न खोजेका थिए तर शब्द घाँटीमा आएर अड्कियो । उनले छोरालाई कसिलो गरी समाते अनि छातीमा ट्याप्प टाँसे । निकैबेर टाँसिरहे ।

प्रतीकले बाउको मुटु त्यति धेरै धड्किएको कहिल्यै सुनेको थिएन ।

॰॰॰

विराट्नगर