सुवास बजगाइँ

 

एक राजा थिए, ऐश्वर्यवान् । उनको ऐश्वर्य देख्न लाएक थियो । घर बाहिर बाहिर मात्र होइन उनको ऐश्वर्य भित्र पनि थियो । धन थियो ध्यान थियो धनधान्य थिए ती राजा ।


राज्यमा सबैको पहुँच होस् भन्ने ठानी राजा आफ्नो दरबारको ढोका सधैँ खुला नै राख्थे । अनि राज्यका सबै प्रजाहरूसामु आफ्नो पहुँच होस् भनी हृदय पनि सधैँ खुला राख्थे ।

जो आउँथ्यो दरबार प्रसन्न मन फर्कन्थ्यो तर राजालाई अफसोस हुन्थ्यो, सोच्थे राजा मेरा छोराछोरी समान प्यारा प्रजाहरूका पात्र कति साना, कति क्षुद्र चाहना । जे दिन चाहन्थे राजा त्यही कुरा माग्ने कोही भएन । कुर्दै बसे, कालको किनारा कुर्दै बसे ती राजा तर अफसोस कोही आएन कोही आएन ।

ती राजा आज पनि कुरिरहेछन् । कोही आओस् राज्य नै मागोस् । बनोस् उत्तराधिकारी, उनले सम्हालेर राखेको नासो सम्हालोस् तर अफसोस कोही आएन ।