साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा: सामन्ती संस्कार

गणेश घिमिरे

      कुनै गाउँमा एकजना निर्दयी र शोषक मुखिया थिए । मुखिया र अरू साधारण गाउँलेबीच राणा र प्रजा को जस्तो व्यवहार थियो । मुखिया को बोली नै कानून थियो । गाउँमा उनको समर्थन गर्ने आसेपासे र भरौटेबाहेक अरू दबिएर बस्न बाध्य थिए । त्यही गाउँमा एकजना बिधवा र उनको १२ बर्ष को छोरो दर्पण पनि बस्थे। उनीहरूको आम्दानीको स्रोत केही थिएन। निबेक गर्नु , मेलापात गरेर छाक टार्नु नै दैनिकी थियो । समाजमा सामन्तीहरूको वर्चस्व थियो । मुखिया को बोलि मिठो थियो तर व्यवहार कुनै दानवको भन्दा कम थिएन । चर्को ब्याज लिनु, श्रम शोषण गर्नु ,अशक्त दुःखी गरीबलाई हेप्नु , उनको दिनचर्या थियो । मुखिया ढोँगी थिए । सधैँ धार्मिक श्लोकहरू गुन्गुनाउँदै पूजा गर्न मन्दिर जान्थे ।

            एक दिन पूजा गर्न जाने क्रममा उनी त्यही विधवाको छोरा दर्पणसँग ठोक्किन पुगे । पूजा सामग्री सबै भुईँमा छरपस्ट भयो। मुखियाले दर्पणलाई आँखा देख्दैनस् भन्दै गालामा मज्जाले झापड हाने। ऊ घर गयो र आमासँग मुखियाले पिटेको सबै घटनाको बेलीबिस्तार लगायो । आमाले गहभरि आँसु लिँदै छोरालाई नरोऊ बाबु भन्दै नुन पानीले घाउ सेकताप गरिन् । त्यो दिन दुखाइले होला दर्पणले केही पनि खाएन र आमा पनि भोकै सुतिन् । भोलिपल्ट हेर्दा घाउ झनै बल्झिएछ । एकापट्टिको गाला सुन्नियर आँखै नदेखिने भएको रहेछ। घरमा एक रुपियाँ थिएन । दुई दिन काम गर्न नगए छाक टार्न गाह्रो थियो । उनले सोचिन् कि, मुखियाको कर्तुतको बारे बोलूँ त पक्कै न्याय पाइने होइन । गाउँमा निमुखाको पक्षमा बोल्ने मर्द कोही थिएन। त्योभन्दा पहिला अन्तरे , बाटुली कान्छी ,बयरबोटेलाई त्यत्रो अन्याय हुँदा त कोही चुइक्क बोलेनन् भनी मनमनै सम्झिन् । मनमा धेरै कुरा खेल्यो तर कुनै विकल्प देखिनन् । अन्त्यमा आफ्नो भाग्यलाई धिक्कार्दै छोरालाई साथमै लिएर लागिन् उही उज्जन्ड निष्ठुर मुखियाको घरतिर । ती बेसहारा अबला हात जोड्दै मुखियासँग रुँदै बिन्ती बिसाँउछिन् र भन्छिन् , हिजो छोरो बाटामा लडेर चोट लागेछ, घाउ बिसको उन्नाइस भएन, वैद्य बालाई देखाउनुपर्‍यो भनेको एक रुपियाँ छैन, हजुरले दया गर्नुपर्‍यो, हामी दुःखीको भगवान् हजुर त हो नि । आमाको कुरा चित्त नबुझेर छोरो केही बोल्न खोज्दै थियो तर आमाले इसारा गरेर चुप गराइन् । विधवाको बिलौना सुनेपछि मुखिया भन्छन्, “आफू त कमलो मनको परियो गरीबको पीडा देख्नै सक्दिनँ ला लैजा सय रुपियाँ र राम्रोसँग उपचार गर । तैँले पैसा फिर्ता गर्न सक्दिनस् होला भोलिदेखि खुरुखुरु हाम्रो धान र मकै गोड्न थाल् है ।

        मुखिया थप्छन् ए सुन् त बरु छोरालाई भोलिदेखि अलि राम्रोसँग अनुशासित भएर हिड्न भन् फेरि यसरी नै लड्ला!!!बिचरा विधवा मुखिया बा कति दयालु हुनुहुन्छ बाको जय होस् भन्दै वैद्यको घरतिर लागिन्। कठै!!! कस्तो विडम्बना ! आफूले मुखियाको पिटाइ खाएको ,आमाले चुप लाग्न इसारा गरेको, मुखियाले फेरि यसरी नै लड्ला भनेको, मुखिया बा दयालु हुनुहुन्छ जय होस् भनेको त्यो नियति आमासँगै भएको अभागि दर्पणको बाल मस्तिष्कले पटक्कै बुझेन।

प्रतिक्रिया
Loading...