शनिवारको दिन थियो । प्रतिमा दश वर्षीय छोरो प्रतीकलाई लिई बाल उद्यानमा पुगिन् । एकछेउमा चिप्लेटी खेलिरहेका बच्चाहरूसँग प्रतीकलाई छाडी उनी फलैँचामा बसिन् ।

एकैछिनमा तिखो आवाज आयो, “छि ! यो त डराउँदो रहेछ । तँ उता जा ।” प्रतीक दुःखी हुँदै आमाछेउमा गयो । प्रतिमाले सान्त्वना दिँदै उसलाई पिङ खेल्न पठाइन् ।

तुरुन्तै चर्को आजाव आयो, “हा ! हा ! ! यसलाई त पिङमा बस्न पनि आउँदो रै’नछ ।” ऊ फेरि मलिन अनुहार लिई आमाछेउमा गयो ।

अर्कातिर बच्चाहरू लुकाछिपी खेलिरहेका थिए । प्रतिमाले त्यहीँ लिएर गई उसलाई पनि खेलाउन आग्रह गरिन् । खेल्न थालेका मात्र थिए, आवाज आयो, “यत्रो ठुलो भएर पनि लुकाछिपी खेल्न आउँदो रै’नछ । भो यसलाई नखेलाउने ।”

प्रतीक आँसु पुछ्दै फर्कियो । क्याबिनमा बच्चाहरू नाचगान गरिरहेका थिए । प्रतिमाले उसलाई त्यता लौजान खोजिन् तर ऊ मानेन । ऊ डाँको छोडेर रुन थाल्यो ।

ऊ रोएको सुनेर सबै केटाकेटी जम्मा भए । आश्चर्यचकित भई एउटा सानो बच्चाले प्रतिमालाई सोध्यो, “आन्टी ! यति ठुलो भएर पनि यो दादालाई किन केही खेल्न नआएको ? अनि ऊ किन रोएको ?”

गहभरि आँसु पार्दै प्रतिमाले भनिन्, “किनकि यसले यस्ता खेलहरू देख्नसमेत पाएको छैन । मेरो कुकर्मको फल यसले पनि भोग्नुपऱ्यो । जन्मेदेखि हिजोसम्म यसको जीवन एउटा अँध्यारो कोठाको जेलभित्र बितेको थियो ।”