म भित्री गाउँको बाटो हुँदै साथी सरलाको घरमा पुगेँ । धेरै दिन भेटघाट नहुँदा ऊ कुदेर भेट गर्न आउँथी नभए समय मिलाएर म आफैँ जान्थे। सँगै बसेर चिया पिउँदै रमाइला गफगाफ हुन्थे।
हाम्रो कुनै पारिवारिक साइनो थिएन। हाम्रो बाबाभन्दा सानो भएकाले काका काकी भन्ने गर्थेँ। काकी बाहिर चामल केलाउँदै र काका दाउरा चिर्ने कामदारसँग हुनुहुन्थ्यो। मेरा मुखबाट फुत्त निस्किहाल्यो ” शुभकर्म आएजस्तो छ , काका काकीलाई भ्याई नभ्याई रहेछ”।
सधैँ ठट्टा गर्ने काका केही बोल्नु भएन। काकीले मन दुखाएर ,”जस्ता तस्तालाई आँखा नलाएपछि, हाम्रो जस्तो घरमा भनेजस्तो को पो कुटुम्ब आउला र !” भन्दै दुखेसो पोख्नुभयो। सरलाले बारम्बार आएका बिहेका प्रस्ताव नाकस गरेको कुरामा दुवै दुःखी हुनुहुन्छ भन्ने थाहा भयो।
मैले बीचमा कुरा काटेँ, “सरला खै त ?”
“भित्रै होली ।”
मभित्र पसेको देखेर ऊ तर्सिएर हेरी। होस हराएझैँ काली-निली भई । उसको एकान्त भङ्ग भएछ । उसका आँखामा विषादका रेखाहरू झल्किरहेका थिए। त्यो लुकाउँने प्रयास गर्दै मृदु मुस्कानमा मलाई हेरी तर उसले मसँग कुनै त्यस्ता कुरा गरिन | ऊ स्वाभाविक बनी | मैले पनि सोधिहालेँ फेरि कताबाट कुरा चल्यो? तैँले नाकस गरिस् अरे दुःख मान्दै हुनुहुन्थ्यो। उसले त्यो कुरालाई गम्भीर रूपमा लिइन। साधारण पाराले भनी, “त्यस्ता आउँदै गर्छन् जाँदै गर्छन्।” मैले सोझै भनेँ, “आमा बाबाको कुरा पनि मान्नुपर्छ।”
भोलिपल्ट बिहान पँधेरामा खैलाबैला हुँदै थियो। सरला ……. ,खास-खुस गरे। मैले दोबारा सोधिनँ तर हिजो राति नै देखि घरमा छैन भन्ने हल्ला चलेको रहेछ।
मेरो मनमा एकैचोटि डर, शङ्काले घेऱ्यो। कतै……. आत्महत्याको प्रयास त गरिन? कहिले काहीँ भन्थि सारै दुःख आइपरे,” तँ र मसँगै ऊ त्यो जामुनको रूखमा झुन्डिएर मरुँला हुन्न?” यही कुरा सम्झँदै म डराएँ ।
कहाँ गई होला? ओछ्यानमा कपडाको ब्याग बर्कोले छोपेको थियो। उसको घरमा तनाव थियो | मैले मन मनै सोचेँ कि के सरला यति ठूलो डिसिजन एक्लै गर्न कसरी सक्छे र |मन परिवर्तन पनि हुन सक्छ ग्रह बिग्रेको बेला।
मनले मानेन | उसको आमा-बाबाको मनमा कति पीर परेको होला। ऊ त अन्धी भई। यसो काका-काकीलाई सान्त्वना दिनुपऱ्यो भन्दै निस्केँ | धेरै साहस गरी पहिला घरपछाडिको बारीको जामुनको रूखमा हेरेँ अनि पछाडिको दैलाबाट भित्र पसेँ | आँगनैभरि मानिसहरू रहेछन् |
भित्र तिनै पँधेर्नीहरू खलबल गर्दै थिए । कोही जिस्क्याइरहेका थिए भने कोही उसलाई सम्झाउँदै बुझाउँदै थिए। सरला बेहुलीको घुम्टोमा बसेकी थिई। पल्लो गाउँको शिव मन्दिरमा बिहे गर्दा गर्दै खोज्न जानेहरूले भेटेका रहेछन्।
उसको छेउमा बसेको बेहुलो……….!!!!! मसँग सात-सात जन्मसम्म सँगै मर्ने र बाँच्ने कसम खाने हल्दारबाको छोरो पो रहेछ।
एउटा निष्ठुर प्रहारले घाइते भएको मुटु लिएर म आँधीपछिको सन्नाटाझैँ अवाक् बनेँ | मेरी सभ्य र प्रिय साथी आँखाअघि आज मेरै प्रेमीको मुटुमा प्रेयसी बनी सुटुक्कै बसिछ । काका काकीलाई दिने सान्त्वनाको पुरस्कार आफैँलाई प्रदान गरेँ |
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।