साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फिर्ती

लघुकथा

Chovar Blues Mobile Size

गलेर लखतरान हुँदै आफ्नो गाउँको प्रवेश गर्ने बाटो छेउको चौतारीमा साँझपख बिसाउन पुग्छ राजु। ऊ कयौँ माइल हिँड्दै त्यसबखत त्यहाँ पुगेको थियो। गर्मीको मौसम भए पनि वरपीपलको शितल छायाँ, चराचुरुङ्गीको मधुर आवाज, चारैतिर हरियाली, खुलापन र एक किसिमको कोलाहलविहीन मन नै हलुङ्गो हुने वसन्त ऋतुको मनोरम वातावरणमा पनि उसको मन भने भारी थियो। उसको अनुहारमा उदासी र लज्जाभाव पनि प्रष्टै देखिन्थ्यो । कसैले देखी हाल्छन् कि भन्ने चिन्ताभावले बाटोतिर पल्याकपुलुक हेर्दै गर्थ्यो ऊ।
त्यत्तिकैमा शीरमाथि वरको पाकेको एउटा दाना खस्दा ऊ झल्याँस्स ब्युँझन पुग्छ। गाउँको चौतारीमा पुगेको सपना देखेको रहेछ उसले। बाथरुम गएर हातमुख धोई खाटमा थचक्क के बसेको मात्र हुन्छ, १२ वर्षअगाडि गाउँ छोड्दा चौतारीअगाडि पुछार घरे काकीले सम्झाउँदै गरेको कुरा उसको आँखाअगाडि दौडेको देख्न थाल्छ, चलचित्रको दृश्यझैँ ।
‘कता हिँडेका नानी?’ चौतारामा भेटिएकी पुछार घरे काकीले सोधेकी थिइन्, उसलाई।
यति मात्र होइन, उनले थपेकी थिइन्, ‘तिमी पनि गाउँ छाडिरहेका हौ कि? दिनदिनै गाउँ छाड्ने लर्कोले आज गाउँ सुकेका रुखहरु ठडिएको पतझडको जङ्गलझैँ भएको छ। सिङ्गो गाउँ वृद्धाश्रममा परिणत होला भन्ने डरले सताएको छ हामीजस्ता बुढाबुढीलाई । आफ्नो जन्मेको ठाउँ, आफ्नो गाउँ त स्वर्ग हो बाबु ! गाउँ छोडेर जानु हुँदैन, बरु गाउँलाई सिंगार्नु पर्छ, सजाउनु पर्छ, जोगाउनु पर्छ बाबु!’
गहभरि आँसु पार्दै सम्झाएकी थिईन उनीले तर उनको कारूणिक अभिव्यक्तिले एकरत्ति पनि छोएन उसलाई। गाउँ केवल अन्धकारमा डुबेको मानवबस्ती थियो उसका लागि। ‘गाउँमा सम्भावना छैन काकी, शहर जस्तो विकास छैन। विकास नभएपछि भविष्य पनि छैन। गाउँमा बसेर के गर्नु?’ उसले ती काकीलाई प्रश्न गर्‍यो?
काकीले फेरि सम्झाउने भाकामा भनिन्‌, ‘बाबु, म पढेलेखेकी त छैन। त्यसैले धेरै कुरा मलाई थाहा हुन्न तर मलाई लागेको कुरा बाबुलाई भन्छु- गाउँमा पनि विकास त हुनुपर्छ अवश्य पनि तर गाउँ जति विकास भए पनि सधैँ गाउँजस्तै हुनुपर्छ बाबु, शहर जस्तो होइन। खनजोत, गोडमेल गरेर, बोटवृक्ष र बाली लगाएर धर्तीमाताको सेवा गर्ने अवसर गाउँमा हुनुपर्छ। बिहान आँखा उघार्दा लहलह अन्न झुलेका खेतका फाँट देख्न र साँझमा बास बस्ने चराचुरुङ्गीको चिरबिरचिरबिर आवाज सुन्न पाउनु पर्छ। गाउँमा व्यक्ति व्यक्ति एकआपसमा पराइजस्तो होइन, आदर र स्नेहसहित आफन्तको गाढा सम्बन्धमा बाँधिएको हुनुपर्छ। खै अरु त के भनु र बाबु तिमीलाई तर मलाई थाहा छ, खनीखोस्री गरी हातमुख जोर्ने सम्भावना कहिल्यै मर्दैन गाउँमा, आपतविपतमा गाउँ नै काम लाग्छ बाबु।’
मुखले कुनै नकारात्मक प्रतिकृया त दिएन उसले ती काकीलाई तर मनमनै बकबास भन्दै बरु कहिल्यै पनि यो चौतारी टेक्न नपरोस्‌ भन्दै हिडेँको थियो ऊ। गाउँलाई तत्कालबाट नै सधैँको लागि बिर्सन चाहन्थ्यो। त्यसैले गाउँ छोड्दै गर्दा उसले एक नजर पनि पछाडि फर्किएर हेरेन।
वास्तवमा एउटा निर्दयी मान्छेजस्तै गाउँबाट हिँडेदेखि ऊ कहिल्यै फर्किएको थिएन। आफू जन्मेहुर्केको ठाउँ भए पनि परिचयमा उसले कहिल्यै गाउँको नाम जोड्‌न चाहेन। एक किसिमले भन्दा उसले गाउँलाई पूरापूर बिर्सेको थियो। गाउँले जीवन प्रतिको विरक्ति पछाडि त्यति ठूलो कारण थिएन उसको, थियो त केवल आधुनिकतामा रमाउने जीजिविषा।
शहर भित्रिएसँगै आफ्ना सबै पौरख शहरका लागि खर्चियो। शहरमा रमायो। उसलाई विश्वास थियो, शहरले उसलाई सबै चिज दिएको थियो यस १२ वर्षसम्मको अवधिमा; उसले सोचेको आधुनिक जीवन। त्यसैले ऊ आफूलाई शहरिया भएकोमा ज्यादै गौरव महसुस गर्दथ्यो।
यता कोरोनाको महामारीसँगै एकाएक शहरको व्यस्तता घट्न गयो। शहरको तामझाम हरायो। मानिस कंक्रिटको जंगलरुपी घरमा खुम्चिन थाले। राजुको पनि आम शहरिया मानिसको जस्तै नियति बन्यो। उसको जिन्दगी पनि कोठामा सीमित हुन पुग्यो। टिभी, इन्टरनेट र सामाजिक सञ्जाल चलाउँदा चलाउँदा ऊ वाक्क भइसकेको थियो। झन् बेरोजगार नै बस्नु परेकोले आर्थिक संकटले उसलाई घेराबन्दी पार्दै लग्यो। कोरोनाको कहर सकिने तत्कालै कुनै संभावना त थिएन, बरु पैसा सकिएर अब बहाल तिर्न र हातमुख जोर्न धौधौ पर्न थालेको थियो उसलाई। त्यति धनी शहर उसका लागि भिखारीको देश र आफू भीख नपाएको भिखारी जस्तै बनेको थियो। भर्चुअल वर्ल्डमा औपचारिकताका लागि हाल खबर सोध्ने त सयौँ हुन्थे तर साँचो अर्थमा परे सहयोग गर्ने कोही थिएन त्यत्रो भीडभाड हुने शहरमा। अहो! कस्तो निर्दयी हुने रहेछ सहर! झन् संकटको बेलामा त कति कति !
“खनि खोस्री गरी हातमुख जोर्ने सम्भावना कहिल्यै मर्दैन गाउँमा, आपत विपतमा गाउँ नै काम लाग्छ!” पुछार घरे काकीले गहभरि आँसु पार्दै सम्झाएको कुरा उसले फेरि सम्झियो। सानैमा आमाबाबु दुवै जना गुमाएर टुहुरो भए पनि आफन्तले उसलाई हैसियतअनुसार राम्रैसँग पालेका थिए। टुहुरो भनी कसैले हेलाहोचो गरेनन् बरु गाउँभरि सबैले विशेष माया र सद्भाव राखेका थिए, उसप्रति। गाउँ छँदा कुनै दिन भोकै बस्नु परेको उसलाई याद थिएन। अब ती अतीत झलझली सम्झँदै कति मूल्यवान् रहेछन् उसका लागि भन्ने महसुस गर्न थाल्छ । १२ वर्षमा खोला पनि फर्किन्छ भनेझैं उसले बल्ल गाउँको महत्त्व बुझेको थियो। अनि कस्तुरी मृगले विणा खोजैझैँ भ्रममा परेर शहर पसेको जस्तो लाग्यो उसलाई। भित्रभित्रै निस्सासिएझैं भयो ऊ। भुरुर्र उडेर एक निमेषमै गाउँ पुगूँ, बाल्यकालमा खेलेको आँगनका धुलाहरुमा त्यसरी नै एकपल्ट धित मर्ने गरी लडिबुडी खेली सहजताले श्वास फेरूँझैं लाग्न थाल्यो। तर उसलाई यति धेरै निन्दा गरेको गाउँ फेरि कुन मुख लिएर फर्किनु होला भन्ने हीनताबोधले सताइरहेको थियो। एकछिनको छटपटीपछि एउटा सानो भिर्ने झोला मात्र बोकेर ऊ लाग्यो आफू जन्मेको गाउँतर्फ, सधैँका लागि।

कौशलटार,
२०७७।०१।०९ मंगलबार।

प्रतिक्रिया
Loading...