१. पहिलो लघुकथा
(माडवारी समुदायको पहिलो लघुकथाकार)
कोमलताको मखुण्डो
लक्ष्मण नेवटिया
गृहणीले अन्य सबै ढुङ्गाहरूलाई चामलबाट छुट्याइसकेकी थिइन् तर आफूलाई छुट्याउन नसकेकोमा चामलजस्तै एउटा सेतो ढुङ्गा घमण्ड गर्दैथियो ।
तर खाने क्रममा गृहणीको मुखमा ढुङ्गा लाग्यो । उनले जिब्रो चलाएर भातबाट ढुङ्गालाई अलग गरिन् र भुईंमा फालिन् ।
त्यो देखेर भातले ढुङ्गालाई भन्यो, “भाइ, तिमी आफ्नो रुपरङ मेरोजस्तै बनाउन त सफल भयौ तर ममा भएको कोमलताको गुणलाई भने आत्मसात् गर्न सकेनौ । तिमीजस्ता मखुण्डेहरूको दशा यस्तै हुन्छ ।”
सेतो चामलको टुक्राजस्तै देखिने सेतो ढुङ्गा भने आफ्नो अवस्थाप्रति रोइरहेको थियो ।
###
(माडवरी समुदायलाई पैसाको बढी भोक लाग्छ भनिन्छ । तर माडवारीहरूलाई पनि साहित्य, कला र संगीतप्रति रुचि मनग्य हुने गरेको पाइन्छ । यसै सिलसिलामा लक्ष्मण नेवटिया नेपाली भाषामा लघुकथाहरू लेख्ने पहिलो लघुकथाकार हुन् ।
लक्ष्मण नेवटियाले तीन दशकदेखि नेपाली भाषामा कलम चलाइरहेका छन् । मूलत: उनी आख्यानकार हुन् । यसका अलावा उनी काव्य र समसामयिक विषयमा लेखहरू पनि लेख्छन् । नेवटिया नेपाली भाषाको अलावा हिन्दी र राजस्थानी भाषामा पनि कलम चलाउँछन् । मूल लेखक भई लक्ष्मणले नेपाली भाषामा आधा दर्जन जति संग्रहहरू प्रकाशन गरेका छन् ।
प्रस्तुत लघुकथा “कोमलताको मखुण्डो” थोरै शब्दहरूको प्रयोग गरी लेखिएको लघुकथा हो । कथाकारले रूपको घमण्ड क्षणभरको मात्र हो भन्ने प्रष्ट पार्न ढुङ्गा र चामलको प्रसङ्ग जोडेका छन् । प्रस्तुत लघुकथाले थोरै शब्दमा पनि बेजोड लघुकथा बन्न सक्छ भन्ने प्रमाण पेस गरेको छ ।)
२. सक्रियकालीन लघुकथा
तोकिएको चन्दा
इन्द्रकुमार विकल्प
“हजुर मालिक ! म दुखियालाई सहयोग गर्नुहोस् अनि मेरो यस संसारमा आफ्नो भन्नु कोही छैन । केही छैन । हजुरहरुकै दयामायामा बाँचेकी छु । मर्न पनि सकिएन, काल पनि आएन ।” एउटी असहाय बुढी आइमाईले विनित भावमा साहूजीको पसलअगाडि गएर आफ्नो दुःख पोखी ।
साहुजी केहीबेर चुप लाग्यो ।
बूढी आइमाईले उपर्युक्त वाक्य पुनः दोहोर्याई । साहुजी रिसले आगो भएर भन्यो, “कसलाई के चाहिया छ भनेर कमाई राख्या छैन… काम गरेर खानुपर्छ काम ।” चुपचाप बूढी आइमाई अर्कोतिर लागी ।
केहीबेरपछि एकजना हट्ठाकट्टा नवयुवक एकजना षोडसी युवती आएर भनी–
“साहुजी, हामी तपाईँलाई सानो दुःख दिऊँ भनेर आएका । फोन गरेको भए पनि हुने थियो, तर दर्शन पनि हुने भनेर हामी नै आयौँ । तपाईँलाई थाहा छ होला, हाम्रो पार्टीको बारेमा, यस पटक पार्टी चलाउन अलि गाह्रो परेकाले तपार्इँको नाममा २,५०० रूपैयाँको चन्दा तोकिएका छौँ, दिनुपर्यो । यी रसिद लिनुहोस् ।”
साहुजी एकछिन त रनभुल्लमा परे तर भविष्यको खतरा र आफ्नो……सम्झेर चुपचाप २,५०० रुपियाँ झिकेर दिए । उनीहरूले “धन्यवाद…” भनेर गएको ट्वाल्ल परेर हेरिरहे ।
###
(नेपाली लघुकथामा पचासको दशकलाई सक्रियकालीन लघुकथाको समय मानिन्छ । यही समयदेखि इन्द्रकुमार विकल्प नेपाली लघुकथामा सक्रिय भई निरन्तर लागिपरेका छन् ।
इन्द्रकुमार विकल्प साहित्यिक पत्रकार र स्रष्टा हुन् । उनी धवलागिरि साहित्य संगमको संस्थापक अध्यक्ष रही साहित्यको संगठनात्मक कार्यमा पनि सक्रिय छन् । पछिल्लो समयदेखि लघुकथा समाज, नेपालको गण्डकी प्रदेशमा रही लघुकथाको उन्ययनमा पनि लागिपरेका छन् । उनको “सर्वदलीय घर” लघुकथासंग्रह लगायत केही कृतिहरू प्रकाशनमा आएका छन् ।
प्रस्तुत “तोकिएको चन्दा” लघुकथामा इन्द्रकुमार विकल्पले मानवता र सहानुभूति राजनीतिक डर र त्रासको सामुन्ने निरीह बन्ने कुरा प्रष्ट्याएका छन् । कथा कोमल शब्दहरूबाट सललल बगेको छ ।)
३. मलाई मन परेको लघुकथा
माया गरौँ
विष्णु उप्रेती
श्रीमतीले साह्रै कर गरेपछि मैले बाध्य भएर फलफूल लिन बजार जानु पर्ने भयो । श्रीमतीको आदेश राजा, महाराजा, सेनापतिले त नमानी धरै छैन। म जाबो सेवानिवृत, शिक्षक ।
डिटोल साबुनले मज्जाले हात धोएँ, उत्कृष्ट सेनिटाइजरले बेस्सरी हात मसारेँ, दुईटा मास्क विधि पुर्याएर लाएँ । सामाजिक दूरी कायम गरी छेउको बाटोबाट फलफुल पसल पुगी आदेशबमोजिम फलफूल किनेर हजारको नोट फलफूलमाथि राखी सामानको पोको बोकी घर आएर श्रीमतीको अगाडि झोला बिसाएँ । श्रीमती मुसुक्क हाँसिन्, म फुरुक्क भएँ।
रातिदेखि हन्हनी ज्वरो आउन थाल्यो । मर्नेगरी टाउको दुख्यो । सास फेर्न पनि गाह्रो भयो । उठेर बस्दा पनि हुँदैन । सुत्न पनि हुँदैन।
सबै परिवारले मलाई टोकस्न थाले। छोराले त आमालाई, बुबाको छेउमा नजानू भन्दै सचेत गरायो । बुहारी कोठैमा पसिन । छोरी ढोकैबाट कराउन थाली, “खुप जान्ने भएर बजार-बजार कुदनु पर्ने हाम्रा बालाई अब सबैलाई सर्छ । को को मरिने हो ।”
बिचरा बूढी, खिन्न मन लाएर टाढैबाट बेसारपानी, गुर्जो पानी राखिदिन थालिन्।
दुई दिनपछि म एक्लै, पिसिआर टेस्ट गराउन गएँ । निकै नातागत भएको महसुस भयो ।
समयमा रिपोर्ट आयो तर नेगेटिभ । मेरो खुसीको सीमा रहेन । सबै बिमार सन्च भयो ।
घरमा आएर ठूलो स्वरले कराएँ- “सबै ज्वरो रुघाखोकी कोरोना हुँदैन । कसैलाई समस्या भए, घृणा हैन, माया गरौँ ।”
###
(लघुकथाकार विष्णु उप्रेतीको यो लघुकथा प्रतीकात्मक बिल्कुल छैन । न त कथाले कथाको भावभङ्ग बेजोड नै छ । कथा अत्यन्तै समसामयिक छ । वर्तमान कोभिडको महामारीमा यो लघुकथा प्रचुर जनचेतना जगाउने खालको छ । हामी यतिखेर खुर्सानी डढेको अवस्थामा पनि हाच्छिउँ गर्दा कोरोना लाग्यो कि भनी घरपरिवारकै सदस्यहरू डराउने आवस्थामा छौँ । यस्तो बेला यो लघुकथाले भ्याक्सिनको काम गर्न सक्छ । कथा सरल छ । सिधा छ । पूरै पारिवारिक मेल र बेमेलयुक्त छ र अन्त्यमा सकारात्मक सन्देशयुक्त छ । तसर्थ पनि लघुकथाकार विष्णु उप्रेती स्तुत्य छन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।