उफ्…….! गर्मी पनि कस्तो साह्रै बढेको । आकाश निलो हैन नी~~~~लो देखिन्छ। पानी पर्ने कुनै छाँटकाँट छैन । साँझतिर यसो चिसो-चिसो बतास लागेको छ,पानी पर्न पर्न खोज्छ तर पर्दैन।
हावा खान भनेर यसो हिँडडुल गर्छन मान्छेहरू । जुन बिन्दुमा अलिक मान्छेको जमघट हुन्छ त्यहीँ राजनीतिक,सामाजिक, साहित्यिक अनेक विषयका गफको उत्पत्ति भैहाल्छ।
आज सामान्य गफपछि विशेष विषयको आगमन भैसकेको थिएन । माहोल पनि बन्ने भएकाले दुईचार दिनदेखि मनले सोचिरहेको विषयलाई उठान गर्ने आशयले भनेँ, “ल म एउटा प्रश्न सोध्छु है त?” सबैले आश्चर्य ,उत्सुकताको भावना मिसाएर टाउको हल्लाउँदै स्वीकृति दिए।
हाँस्दैहाँस्दै भनेँ, “तपाईँहरूलाई सबैभन्दा गाह्रो लाग्ने काम के हो ल भन्नुस् ।”
सबैले पालैपालो यसप्रकारका जवाफ फर्काए।- “पढ्न”, “अरूको चित्त बुझाउन”,”बच्चा हेर्न”,”अरूले अह्राएको काम गर्न”,”पैसा कमाउन”,”नाम कमाउन” । अनि कसैले मलाई सोध्यो “तिमीलाई?” म झसङ्ग भए । साह्रै साधारण काम पो मलाई गाह्रो लागेको रैछ।जबाफ सुन्दै गर्दा मैले सबैसँग तुलना गर्न भ्याइसकेछु ।हैट! यो मानव स्वभाव पनि कस्तो तुलनात्मक हुने । आफू कमजोर देखिन हुँदैन भन्ने मानसिकताले माथिमध्येकै एक दोहोऱ्याइदिएँ । मनमै राखेँ मलाई गाह्रो लाग्ने काम – कुकरको बिर्को माझ्न।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला