ईगम खालिङ (दार्जीलिङ)

गरम महिना सुरु भए तापनि त्यो दिन अलिक जाडै थियो। हमित हुस्सेन भाइलाई एउटा राम्रो पान बनाउन लगाएर मुखभरि चबाउँदै म दार्जीलिङ सहरको पुलिस स्टेसनअघि उभिरहेको थिएँ, बस ठिक्कै आइपुग्यो म चढि पनि हालेँ । म एकजना औरतको छेउमा गएर बसिपठाएँ। उसलाई देखेर मलाई अलिक अप्ठ्यारो लाग्यो। रातो सल ओढेकी, सिउँदामा चहकिलो सिन्दूर लगाएकी, असल स्वभावकी देखिने, मलाई हेरेर मुसुक्क मुस्कुराई। म पनि मुस्कुराएँ। म बसको झ्यालबाटयताउता रमिता हेर्दै थिएँ तर ऊ भने घोरिइरहेकी थिई। मलाई बोलूँ(बोलूँजस्तो लाग्यो। यसरी हामी बतासेसम्म चुप लागेर बस्यौँ। गाडीले जस्तो बतासे नाघ्यो त्यस्तै ऊ सुँकसुँक गर्दै रुन थाली। एक मनले अर्को ठाउँमा सरूँजस्तो पनि लाग्यो तर किन-किन सरिनँ। ऊ रोएको देखेर मेरोपनि आँसु आउलाजस्तो भयो। म एक शब्द बोल्न सकिनँ। ऊ रुँदैरुँदै सोनादासम्म आई अनि हामीसितै बसबाट उत्रिई । उत्रिएर म आफ्नो काममा व्यस्त भइहालेँ तर ऊचाहिँ कतातिर लागी पत्तै भएन। कतै फेरि उसलाई देखि पो हाल्छु कि भनेर म स्टेसनमै बसेर केहीबेरसम्म रमिता हेरिरहेँ। घर पुगेर पनि मेरो मन खिन्न भइरह्यो। त्यो औरत किन रोएकी होली भनेर मनले सोचिरह्यो। नाना थरीका कुराहरू मनमा खेलिरह्यो।

अर्को दिन, म मेरो भाइलाई भेट्न भनी भाइको दिव्यज्योति स्कुलतिर लागेँ। म स्कुलको ‘कमन रुम’ मा पस्न लाग्दा छक्कै परेँ—त्यो हिजोको औरत हातमा एउटा काखको नानी लिएर सुँकसुँक गर्दै रुँदै रहिछे।मैले अप्ठ्यारो मान्दै सानो स्वरमा उसलाई सोधेँ, “तपाईँयसरी किन रोएकीरु” आँसु पुछ्तै उसले जबाफ दिई, “हेर्नुहोस् न भाइ, आज मेरो छोराको जन्मदिन हो, उसलाई आज एकदिनका लागि छुट्टी लिएर बाहिर घुमाउन लैजाऊँ भनेको यहाँको प्रिन्सिपलमान्नै हुन्न१ भाइ, तपाईँले एकपल्ट सम्झाइदिनुहोस् न१” उसले मेरो खुट्टा नै समाई। जुरुक्क उठेर उसलाई “एकछिन पर्खनुहोस् ल” भनी राखेर म स्वाँट्ट प्रिन्सिपलको अफिसमा पसेँ। प्रिन्सिपलले बताउनुभयो कि आज उनलाई भेट्न कसैको अभिभावक आएकै छैन। मेरो निवेदनमा प्रिन्सिपल पनि मसित बाहिर ‘कमन रुम’ मा आउनुभयो। प्रिन्सिपलले मलाई टेढो आँखाले हेर्नुभयो। म के भनूँ-भनूँ भएँ। मैले त्यो औरत बसेको ठाउँ देखाउँदै उनलाई भनेँ“यहीँनै त बसेकी थिई, अहिले कता गई हँ१” प्रिन्सिपलले गम्भीर भएर मलाई सोध्नुभयो, “तपाईँ ठिकै त हुनुहुन्छ निरु”

बेलुकी सारा काम निप्टाएर म बसमै फर्किएँ। डाली गुम्बादेखि त्यो औरत पनि बसमा चढी। मलाई देखि पो हाल्छे कि भनेर म अलिकति डराएँ, तर उसले मलाई वास्तै गरिन। ऊ बसेको सिटदेखिअघिपट्टिको सिट खाली भएपछि त्यो सिटमा सरेर नानीलाई दूध पिलाउन थाली। म छक्क परेर उसलाई हेरिरहेँ। सोनादा पेट्रोलपम्प आइपुग्नेबेलामा उसले नानीलाई पनि ढकाएर ओढेकी सललाई अलिक राम्रोसित मिलाउने हुँदा मैले उसको त्यो नानीलाई देखेँ। त्यो नानी साँच्चीको दूध पिउने नानी नभएर प्लास्टिकको थियो। म फेरि झसङ्ग भएँ। उसले मलाई देखेजस्तो गरेर पछिल्तिर एकपल्ट हेरी तर देखिन। मेरो मनमा उसका बारेमा जान्ने इच्छा झन् बढेर गयो। म एकप्रकारले ढुक्कपनि भएँ कि म झुटो होइन त्यो औरत पो झुटो रहेछ भनेर।

मैले त्यो औरतलाई भुलिसकेको थिएँ। मेरी आमा, भाइर म कर्सियाङको एउटा बिहेमा जानलाई गाडी पर्खिएर सोनादा स्टेसनअघि उभ्भिरहेका थियौँ। त्यतिबेला मैले त्यो औरत एउटा उज्यालो अनुहार भएको सानो केटीसित जिस्किँदै हामीतिर आइरहेकी देखेँ। हाम्रो छेउमा आइपुगेर खितिति हाँस्तै मलाई भन्नथाली—“भाइ, तपाईँलाई अचम्म लागिरहेको छ हैरु” मैले ‘दिदी’ मात्रै के भनेको थिएँ उसले हातको इसारा गर्दै “बस्, अब बितेका कुराहरू नगर्नुहोस्१” भनी राखेर सिधै बजारतिर लागी। भाइले आमालाई ट्वाल्ल परेर हेऱ्यो, आमाले मलाई ठूल्ठूला आँखाहरू बनाएर हेरिन्, अनि मचाहिँ के भनूँ(भनूँ भएर “ऊगाडी आयो” पो भनी पठाएँ। त्यो घटना घटेको एक महिनाजस्तो भइसकेको थियो। म सधैँझैँ काममा जाँदै थिएँ। बाटामा मान्छेको भिड रहेछ। हाम्रो गाडी पनि रोकियो। कसैले भन्दै थियो “बिचरा, बूढाको पनि गाडीदुर्घटनामा नै मृत्यु भयो, फेरि अहिले उसको पनि१” मेरो मनभित्र कुन्निकस्तोप्रकारको चिसो पसेर आयो। म एउटा जिज्ञासामा त्यो भिडलाई चिर्दै अघि बढेर त्यहाँ पुग्दा मेरो सारा शरीर सिरिङ्ङ भएर फुलेर आयो। म अलिक पर सरेर रुमालले आँसु पुछेँ, अनि त्यसपछि गाडीमा गएर थपक्क बसेँ। मेरो मनले यति मात्र भनिरह्यो “उसको आत्माले चिरशान्ति पाओस्१”

दुई बर्षपछि एकरात म डिस्कभरी च्यानेलमा ट्राभेल्स हेर्दै थिएँ, त्यहाँ दार्जीलिङका थुप्रै रमणीय ठाउँहरूको दृश्य देखाइँदै थियो। एक ठाउँ एउटी औरत चियाबारीमा गुनगुनाउँदै चियापत्ती टिप्दै गरेकी दृश्य देखाएको थियो। त्यो औरत अरू कोही नभएर त्यही औरत थिई। त्यो भिडियो मैले युट्युबमा कैयौँपल्ट खोजिसकेँ तर अझैपनि पाउन सकेको छुइनँ।

समाप्त