“ए माइला! डोको लिन घरसम्म आइपुगेँ, तयार छ कि के छ?”
एकाबिहानै झिसमिसे उज्यालामा माइला बा’को घर अघिल्तिर देखिन्छन् गाउँका काजी धनपति। “गीतामा भनिएको छ– निष्काम कर्म गर तर प्रायजसो हामी आफ्नो स्वार्थका लागि कर्म गर्छौँ, त्यसैले त्यसको फल पनि त्यस्तै हुन्छ । कर्म निश्चित छ, कुशल कर्मले सुखप्राप्ति हुन्छ ।”
काजीका यी वाक्यहरू कानमा नपुग्दै माइला बा’ ढोका अघिल्तिर मलिन मुद्रामा काजीलाई हेर्दै आफ्नो गल्ती स्वीकार गर्दछन्।
माइला बा’को मुख्य पेसा डोको बुन्नु हो । उनको परिवारले परापूर्वकालदेखि यो पेसा धान्दै आइरहेका छन् । भनिन्छ, उनले प्रयोग गर्ने बासको चोयाबाट बनेको डोको हालसम्म अरूले त्यति बलियो बनाउन सकेको पाइँदैन रे । “डोको बोक्नुस्, कम्तिमा पाँच वर्ष ढुक्क।” माइला बा’को यो भनाइ सात गाउँसम्म प्रचलित छ ।
काजी रिसाउनु स्वाभाविकै भयो तर पनि काजीले भनेको भोलिपल्टै डोको तयार गर्नु सहज पक्कै थिएन । माइला बा’ले पनि भोलि नै तयार गर्छु भनेका पनि थिएनन् । उता काजीलाई भने आफैँ माइलाको घरमा सबेरै धाउँदासमेत वास्ता नगर्ने भन्ने कुराले मनमा चिसो पसेको हुन्छ । ‘पछि भेटौँला माइला !’ भन्दै आफ्नो बाटो लाग्छन् काजी ।
माइला बा’ बिहान सबेरैदेखि साँझ घाम नअस्ताउँदासम्म निरन्तर खटिएर आफ्नो काममा लागिरहन्थे । जो कोही मेहनती मानिस काम गर्न आलेटाले गर्दैन । अरूको नजरमा सानोतिनोजस्तो देखिने काम पनि रमाई-रमाई गर्छ । आफ्नो व्यक्तिगत आवश्यकता पूरा गर्न अनि अरूलाई मद्दत गर्न परिश्रम गर्छ, त्यस्तै छन् माइला बा।
उता काजी घर पुग्छन्, काजीजस्तो मान्छेले पनि डोको ल्याउन नसकेकोमा खिसिटिउरी गर्दै आफ्नै पत्नीले जिस्काएको महसुस गर्छन् काजी । उनले माइला बा’ लाई कसरी सजाय दिन सकिन्छ भन्ने सोच्तै थिए। पानी बोक्न डोको निकै अपरिहार्य पनि थियो किनकि फेदीबाट आधाघण्टा लगाएर पानी बोकेर आउनुपर्ने विडम्बना थियो। काजीको सपरिवार बिहान मन्दिर दर्शनका लागि निस्किए तर काजी भने टीका र प्रसादमात्र लिने भनेर घरमा बसे, पूजाआजा सकिएपछि परिवारहरू घर फर्कने क्रममा बाटामा पहिरो गएको कारणले सुरक्षाको कारण देखाउँदै बाटो बन्द भयो उनीहरू कोही पनि फर्कन पाएनन् । त्यसदिन घरमा काजी एक्लै बस्नुपऱ्यो।
भोलिपल्ट माइला बा’ डोको काँधमा बोकेर काजीको घरमा पुग्छन् । माइला बाको मनमा अनेक कुराहरू खेल्छन् डराउँदै डराउँदै ढिलो भयो काजी साब! माफी दिनुहोला भन्दै ढोका ढकढक्याउँदा घरमा काजी बेहोस अवस्थामा देखेपछि, छिमेकीहरूको आग्रहमा त्यही डोकोमा बोकेर स्वास्थ्य चौकी लैजान्छन् । केही समयपछि काजीको होस आउँछ, माइला, माइला…! भनेपछि माइला बा काजीसँगै बिरामीको ओछ्यानमा बस्छन् । काजीले अङ्कमाल गरेर रुँदै भने “मैले चिन्न सकेको रहेनछु माइला ! तिमीलाई र तिम्रो डोकोलाई।”
दमौली, तनहुँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।