आज उसको मुड चल्यो । सधैँ एक्लै एक्लै चुस्स लगाउँदा उसलाई दिक्क लागिसकेको थियो । साथीभाइसँग होटल, बियर बारमा गएर `चियर्स´ गर्ने समय र अनुमति थिएन । “धेरैले खाएकै छन् , उनले खाँदा के होला र ? ” यति सोच्तै गर्दा दुईवटा गिलास मदिराले भऱ्यो । साथमा सितन काजु, किसमिस, बदम ल्यायो !
पत्नीले आश्चर्य मान्दै सोधिहाली,” को आउँदैछ यो बन्दीमा, डबल गिलास टकारेका छौँ त ! ”
“को आउनु नि ! आऊ, तिमी साथ देऊ एक्लाएक्लै स्वाद आएन ।”
ऊ अलमल्ल परी । लोग्नेको प्रस्ताव अनौठो लागे पनि लोग्नेले यसरी स्वाद मानी मानी खाएको , सारा थकान भुलेर भुसुक्क निदाएको धेरै महिलाहरूले पनि खान्छन् अरे भन्ने सुनेकी उसको मनको चाह नजानिँदो पाराले बाहिर आयो । करैकरमा अघि सरेजस्तो गरेर साथ दिई ।
केही समय यो क्रम नियमित चल्यो । रमाइलै भइरहेथ्यो ।
प्रकाश उसको सँगै काम गर्ने साथी थियो ।
“धेरै दिन भो सँगै नबसेको भन्दैथ्यो, आज प्रकाशलाई बोलाऊँ रमिता ! ” उसले एक साँझ पत्नीसँग प्रस्ताव राख्यो ।
“प्रकाश आउने भए शिला दिदीलाई पनि लिएर आउनु भन्नू , म के गरौँला नि दुइटा लोग्नेमान्छेको बिचमा !” पत्नीले पनि साथ खोजी ।
यो क्रम पनि राम्रै चल्यो । प्रकाशको बलिष्ठ, सुडैल शरीर रमितालाई घरिघरि जिस्काइरहन्थ्यो ।
एक साँझ रमिताले अनौठो प्रस्ताव राखी, “दिदी, एउटा कुरा भन्छु ल ! मलाई वाक्क लागिसक्यो , आखिर के रहेछ जिन्दगी ? राम रमाइलो त रहेछ ! आज एक्सचेन्ज गरौँ ल ! “
“मैले कुरा बुझिनँ ? कहाँबाट ल्याउनु अनेक प्रकारको ! सबै बन्द छ ! अझ यो राति !”
“हैट लाटी, यो दिदी पनि, लोग्ने साटौँ भनेको पो त !” रमिताको अनुहारमा अलग्गै मादकता उफ्रिरहेको थियो ।
अनि उनीहरूले लोग्ने साटे । परस्त्रीसँगको रस्साकस्सीमा आफ्नी स्त्रीको ख्यालै रहेन लोग्नेहरूलाई । नाङ्गै नुहाउनेले निचोर्नु पो के ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।