१. पहिलो लघुकथा

खोजी

(नेपाली साहित्य समाज, क्याल्गरी क्यानडामा प्रथम भएको लघुकथा)

हीरा लामा

दृश्य १

हिरा लामा

अन्तिम पटक जब उसले छिनो हान्न के थालेको थियो, अचानक बोल्यो ढुङ्गा – “म के बन्दैछु , मूर्तिकार ?’
“भगवान !’ मूर्तिकारले भन्यो ।
“सकिन्छ मान्छे बनाऊ ।’
मान्छे मै हुन्छ भगवान ! सकिन्न ।
“खोलामै लगेर राख मलाई !’ ढुङ्गाले भन्यो ।

त्यो दिन पछि मूर्तिकार ढुङ्गामा हैन, मान्छेमा भगवान खोज्न थाल्यो । धेरै वर्ष खोज्यो मान्छेमा भगवान ! तर भेटेन । निराश भयो ऊ र पुग्यो पुन त्यही खोलामा ।

दृश्य २
“के भयो केटा ?’ ढुङ्गाले सोध्यो उसलाई ।
“मान्छेभित्र भगवान भेटिनँ । अब , तिम्लाई नै बनाउँछु , भगवान !’ उसले भन्यो ।
“धत लाटा ! मान्छेभित्र मान्छे खोज्ने हो , भगवान हैन ! जुन दिन तिमीले त्यो मान्छे भेट्टाउछौ, सम्झ तिमीले भगवान भेट्टायौ !’

सुनिन्छ मूर्तिकार आजसम्म पनि मान्छेभित्र मान्छे खोज्दैछ !
००
(नेपाली साहित्य समाज, क्याल्गरी क्यानडाले आयोजना गरिएको पहिलो अन्तराष्ट्रिय नेपाली लघुकथा लेखन प्रतियोगिता – ०७७ मा हीरा लामाले प्रथम स्थान पाएका छन् । प्रतियोगिता खूल्ला थियो संसारभरका नेपालीभाषी इच्छुक लघुकथाकारहरुले भाग लिएका उक्त प्रतियोगितामा प्रा.डा. कपिल लामिछाने, डा. लक्ष्मण गौतम र प्रा. खेमराज पोखरेल निर्णायक समितिमा थिए ।

हीरा लामा नयाँ लघुकथाकार हुन् । तर उनको लघुकथा लेखनकलालाई हेर्दा उनी नयाँ जस्तो लाग्दैन । बिल्कुलै थोरै शब्दहरुको प्रयोग गरी हीराले प्रस्तुत “खोजी’ लघुकथामा मान्छेभित्रको मान्छेको खोजी गरिरहेका छन् । पटकथामा उनले ईश्वरलाई घुसाएका छन् । परिवेश खोलाको बगर रोजिएको छ । लघुकथा दमदार बनेको छ ।)

२. सक्रियकालीन लघुकथा

छायाँ

विवश वस्ती

विवश वस्ती

एउटा पोखरीमा आमा र बच्चा–माछा यताउता दौडिरहेका थिए ।
त्यही समय, एउटा बकुल्ला पोखरीको डिलमा आएर बस्यो र त्यसको छायाँ पोखरीमा प¥यो ।
‘अहाँ, कति राम्रो ।’ बकुल्लाको छायाँ देखेर बच्चा चाहिँ रोमाञ्चित बने र आमालाई भने, ‘म त्यो छायाँलाई नजिकै गएर हेर्छु है आमा ।’
‘नजा, त्यहाँ ।’ आमाले सतर्क तुल्याउँदै भनिन् ।
‘हैन, जान्छु । त्यो कसको छायाँ रहेछ । म नजिकै गएर हेर्छु ।’ बच्चाले धेरै नै जिद्दी गर्दै भने र बकुल्लाको छायाँ तैरिइरहेको पोखरीको डिलतिर गए ।
केही समयपछि पोखरीको त्यो डिलमा बच्चा–माछा गए, जहाँ बकुल्लाको छायाँ अझै तैरिइरहेको थियो ।
क्षणभरमै एउटा आवाज उत्पन्न भयो । पानीको तरङ्ग परपरसम्म फैलियो ।
केही क्षणपछि त्यहाँ न त बकुल्लाको छायाँ देखियो, न त बच्चा–माछाको चञ्चलता नै ।
००
(नेपाली लघुकथामा ५० को दशकलाई सकृयकालीन समय मानिन्छ । यही समयमा लघुकथाकार विवश वस्तीको उदय भएको हो ।

विवश वस्ती मुलतः कवि हुन् । तर उनी आख्यानमा पनि उम्दा छन् । कथा र लघुकथा लेखनमा उनको बिशेष रुचि छ । उनी कला र बिचारलाई सन्तुलनमा राखेर माक्सवादी धारबाट साहित्य सृजना गर्छन् । विवश वस्तीका काव्य र आख्यानमा आधा दर्जन कृतिहरु प्रकाशित छन् ।

प्रस्तुत छायाँ लघुकथामा बालहठलाई मज्जाले देखाइएको छ । हठकै कारण हुँदा खाँदाको जीवन सहज स्वाँहा भएको देखाइएको छ । कथाकार विवश वस्तीले लघुकथामा सानो बिषय उठान गरि लेखनलाई प्रतिकात्मक र कालजयी बनाउन सक्षम छन् ।)

३. मलाई मन परेको लघुकथा

फौबन्जार

वासुदेव गुरागाईं

वासुदेव गुरागाईं

“आयो आयो आयो, ल सस्तोमा । अलिकति मात्र बाँकी । आयो–आयो–आयो ।”
उसको काम बस्ती चहार्दै व्यापार गर्नु । प्रत्येक दिन गाउँ, सहर, बजार, बस्ती सबैतिर कराउँदै हिँड्छ । र, यसरी नै कराइकराई आफ्ना सप्पै सामान बिकाउँछ पनि । आज भने निकै ढिला भइसक्दा पनि ऊसँग अलिकति भएको एउटा सामान बिकेन । कराएर डुलेकोडुल्यै छ ।
“आयो–आयो–आयो, ल सस्तोमा । अलिकति मात्र बाँकी । आयो–आयो–आयो ।”
भोक लागेका बेला खाजा त ऊ जहाँ जतिखेर पनि खान्छ तर खाना भने घरमै मात्र । आज ऊ बिहानको खाजाको भरमा दिनभर हिँडिरहेछ । खुट्टा दुखिसके । ढाड कक्रिइसक्यो । मुन्टो अररिइसक्यो । जिउ फतक्क गलिसक्यो तैपनि हिँडिरहेछ ।
काठमाडौँको इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क, न्युरोड, सुन्धारा, केसरमहल, लैनचौर, पुतलीसडक जस्ता थुपै्र ठाउँ घुम्यो । पास मिलाएर सिंहदरबार छि¥यो । सर्वोच्च परिसर पनि चक्कर लगायो । बबरमहल, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, चाबहिल हुँदै पशुपतिसम्म पनि पुग्यो । कहीँ बिकेन उसको सामान । अनि हानियो भक्तपुर, ललितपुर । तर, सामान बिकेन ।
थकाइले लखतरान भएर काठमाडौँ फक्र्याे । विभिन्न क्याम्पस चहा¥यो । शिक्षण र स्वास्थ्य संस्थासमेत कहीँ कतै केही बाँकी राखेन । सुरक्षा निकायका कार्यालय छेउछाउ पुगेर’नि करायो । मान्छेका भिडभाड देखेर सपिङ मलतिर पनि धायोे । कहीँ बिकेन उसको सामान । अलिकति ओइलाए पनि जस्ताको तस्तै छ डोकोमा । जो पनि “मलाई यस्तो सामान के काम ?” भन्दै पन्छिन्छन् मात्र ।
घाम अस्ताउन एक जुवा बाँकी हुँदा पनि ऊ सामान बिकाउने धुनमा छ । ऊ कराउँदै बालुवाटार गयो, बिकेन । शीतल निवास पुग्यो, बिकेन । जबाफ एउटै – “यस्तो सामान यहाँ चाहिँदैन, के काम यस्तो ?”
आजित भयो ऊ । उसका अरू त्यत्रा सामान बिकेको ठाउँमा बल्लतल्ल खोजेर ल्याएको डोकोको अलिकति नैतिकता भने कतै बिकाउन सकेन उसले ।
००
(नेपाली साहित्यमा बासुदेव गुरागाईं काव्य, आख्यान, हाँस्य निवन्ध, खोज अनुसन्धान र समीक्षाको क्षेत्रमा देखापरिरहने प्रिय नाम हो । उनी हरेक विधामा आफूलाई सफलताको साथ प्रस्तुत गर्न खप्पिस छन् ।

प्रस्तुत लघुकथा ‘फौवन्जार’ नैतिकताको बिक्रेताको कथा हो । हरेक वस्तुहरु बिक्री हुने उपभोक्तावादी वर्तमान समयमा इमान्दार बिक्री हुन नसकेको यथार्थता कथामा समावेश गरिएको छ । कथालाई हाम्रै बनाउनको लागि कथाकारले हाम्रै परिवेश घुसाएका छन् । संघियताले गाउँगाउँमा सिंहदरवार पुर्याएको घोषणा गरिरहेको अवस्थामा नैतिकता सिंहदरवारमै नविकेकाले गर्दा कथा चोटिलो र स्वादिलो बनेको छ ।)