१. पहिलो लघुकथा
(द रेयूकाई नेपालद्वारा आयोजित प्रथम राष्ट्रव्यापी लघुकथामा प्रथम भएको लघुकथा )

शव परीक्षण

रवीन्द्र समीर

रातको पर्दा च्यातिएर उषाको आगमनसँगै सडकमा वीभत्स दृश्य देखियो अर्थात् धर्तीमाताको एउटा पुत्रको वेवारिसे शव सडकमा लम्पसार परिरहेको थियो । शव वरिपरि मान्छेहरूको आगमन थुप्रिएर यातायात अवरुद्ध भएको थियो ।

भीडभित्रको सानो भीडको निचोड थियो – यो मान्छेको घाउचोट देखिदैन, पैसाको लागि कसैले घाँटी निचोरेर मारेको हुनुपर्छ ।

एकझुण्ड युवतीहरू टाउका जोडेर साउती गर्न थाले – मृतक जवान रहेछ, पक्कै पनि यसले पहिले प्रेमको कसम खायो, त्यसपछि धोका खायो, अनि विष खायो र अन्त्यमा सिल्टिम्मुर खायो ।

कानमा मुन्द्रा लगाएका पुलिड्गहरुले अँधारोमा अनुमानको गोली चलाए – हामीले भन्दा कडा स्म्याक, हेरोइन, चरेश …. खाएर मर्यो होला …

यही बीचमा एउटा जुलुसले मृतक आफ्नो पार्टीको कर्मठ कार्यकर्ता भएको तथा विरोधीहरूले जघन्य हत्या गरेको दोषारोपण गर्यो । त्यस्तै अर्को पार्टीले पनि शवमाथि झण्डा राखेर विपक्षी पार्टीहरूलाई हत्याराको संज्ञा दियो । त्यसपछि ती दुई पार्टीको कार्यकर्ताहरूको विवाद भीडन्तमा परिणत भयो । अन्त्यमा प्रहरी-प्रशासनले उक्त शवलाई परीक्षण गरि तथ्यकुरा जनसमक्ष राख्ने तथा हत्यारालाई कारवाही गर्ने आश्वासन दिएर थिति आफ्नो नियन्त्रणमा लियो ।

अर्कोदिन शव-परीक्षणको परिणाम सुन्न अस्पतालको चौरमा ठूलो भीड जम्मा भयो । मान्छेहरू समूह समूहमा विभक्त भएर आ-आफ्नो अनुमानको जुँगामा ताउ लगाउन थाले । भीडको बीचमा भुँडीवाल नेता, झण्डा, पत्रकार …. पनि देखिन्थे । पूर्व-निर्धारित समयमा नै अस्पतालको चिकित्सकहरूले शव परीक्षणको परिणाम सुनाए ।

विगत सातदिनदेखि केही खान नपाएकोले भोकको कारण उसको मृत्यु भएको रहेछ ।

###
(द रेयूकाई नेपाल, पाटन शाखाले लघुकथामा प्रथम खुल्ला राष्ट्रव्यापी लघुकथा प्रतियोगिता आयोजना २०५४ सालमा गर्यो । यही प्रतियोगितामा लघुकथाकार रवीन्द्र समीरको “शव परीक्षण” लघुकथा प्रथम भएको थियो ।

रवीन्द्र समीर ५० को दशकदेखि निरन्तर लघुकथा लखनमा लागिरहेका छन् । उनी लघुकथाको धेरै कृति प्रकाशन गर्ने कथाकार पनि हुन् । रवीन्द्र समीर चोटिलो लघुकथा लेख्न खप्पिस छन् ।

प्रस्तुत लघुकथा “शव परीक्षण” हाम्रो समाजको खरो लघुकथा हो । यस लघुकथामा समाजका विभिन्न वर्गहरूले एउटा घटना पाउँदा गरिएको अनुमानलाई देखाइएको छ । अझ गजव त राजनीतिक पार्टीहरूले शवमाथि गरिएको घिनलाग्दो राजनीति देखाइएको छ ।)

२. सक्रियकालीन लघुकथा

देश र जनताको नाममा

मणि लोहनी

फेरि पनि उनी नै प्रधानमन्त्री भए ।

तामझामका साथ प्रधानमन्त्रीको सपथ भयो ।

शीतल निवासको भव्य समारोहमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सपथ गराएको भीमलालले बहुत स्वादसँग हेर्यो । सधैँ सडकमा सवारीको बेला भित्तापट्टि फर्केर बस्नु पर्ने ड्युटी मात्र गरिरहेको प्रहरी जवान भीमलाल आज समारोह स्थलमै खटाइएको थियो ।

“इश्वर, देश र जनताको नाममा …” राष्ट्रपतिले पढिन् ।

“देश र जनताका नाममा ” प्रधानमन्त्रीले माइकमा सबैले सुन्ने गरि दोहोर्‍याए । उनले ‘इश्वर’ भन्न चाहेनन् । भीमलाललाई अचम्म लाग्यो ।

“देशभरि मन्दिर बनाउँदै हिडेका यी प्रधानमन्त्रीले सपथमा चाहिँ किन इश्वरको नाम नलिएका होलान् ?” उसले सँगै उभिएको अर्को प्रहरी जवानलाई सोध्यो, “यिनी नास्तिक रैछन् कि क्या हो ?”

“होइन नि, यिनी त पुरै आस्तिक हुन् । हरेक दिन पूजापाठ गर्छन् । तस्कर र विचौलियासँग संगत छ, जति नै अपराध गरे पनि सोझा जनताले केही गर्दैनन् । त्यही भएर इश्वरको नाममा सपथ नलिएका नि, डरले – पाप लाग्ने डरले ।”

साथीको जवाफपछि भीमलालले कम्युनिष्ट प्रधानमन्त्रीको भित्री मनसाय प्रष्ट बुझ्यो ।

ऊ केही बोलेन । चुपचाप ड्युटीमा खटिरह्यो ।

###
(नेपाली लघुकथामा ५० को दशकलाई सकृयकालीन समय मानिन्छ । यहि समयमा स्रष्टा मणि लोहनी युवा मञ्च मासिकमा लघुकथा प्रकाशन गरी देखापरेका हुन् ।

स्रष्टा मणि लोहनी आख्यान, काव्य र निबन्ध सृजना गर्छन् । आख्यान र काव्यमा उनका आधादर्जन कृतिहरू प्रकाशित छन् । उनी कुशल समीक्षक पनि हुन् ।

प्रस्तुत लघुकथा “देश र जनताको नाममा” लघुकथा शीर्षकको आधारमा केही लामो झै देखिएता पनि कथा सटिक छ । समसामायीक बिषय बोकेको लघुकथाले उच्च ओहदाको कुरो उठाए पनि जिज्ञासा भूँईमान्छेको छ ।)

३. मलाई मन परेको लघुकथा

वार्ता

जीवन दाहाल

धेरै दिनको गुप्तवासपछि मालिकसँग बाटोमा डुल्न आएको ग्याल्जेनले ङिच्च दाँत देखायो र बाटोमा रगरग हिँडिरहेका भुस्याहामाथि रोब जमाउँदै भन्यो-“कहाँ हिँडेका हौ नाथे हो तिमीहरू ?

“हामी त मर्निङ वाक् हिडेका कति बस्नु घरैमामात्र भनेर। अनि तँ चैं किन निस्केको नि ?”-भुस्याहाले पनि ग्याल्जेनले जस्तै ङिच्छ दाँत देखाउँदै प्रश्न थप्यो ।

“म त घरमै आची गर्दागर्दा वाक्क लाग्यो अनि यसो बाटोमा पनि गरौं भनेर मालिकसँग आएको नि”-ग्याल्जेनले भुस्याहालाई उत्तर दियो र थप्यो-“ल भै गो म त मालिकसँग छु केही भएन अनि तिमीहरुलाई जताततै कोरोनाको बिगबिगीले गर्दा लकडाउन गरिएको छ भन्ने था’ छैन ?”

“लकडाउन भनेको पशुहरु त्यो पनि कुकुरहरूलाई हो त ? मान्छेहरुलाई पो त । बड जान्ने हुँदो र’छ ।”-भुस्याहाले ग्याल्जेनलाई थर्कायो ।

###
(जीवन दाहाल लघुकथामा सटिक र समसामयीक बिषयहरू प्रस्तुत गर्ने लघुकथाकार हुन् । स्वैरकल्पना उनको लघुकथाको मुटु हो । उनी कथा छोटो त बनाउँछन् तर कथाभित्रको गुदीलाई बृहत् बनाउने कला जीवन दाहालमा मनग्य छ ।

प्रस्तुत लघुकथा “वार्ता” समसामयीक त छदै छ यसको अलावा कथामा स्वैरकल्पनालाई प्रयोग गरिएको छ ।

कुकुरहरूबाटै धनी र गरिवहरूबीचको भिन्नता देखाइएको छ । लघुकथाको बीजवाक्यले मानवजातिलाई मात्र लकडाउन हो भन्ने जानकारी दिंदा पशुपन्छीहरूको स्वतन्त्रताको गीत नेपथ्यमा गाइएको छ ।)