
भगवान्को त्यो पवित्र सहर
म जब भगवान्को त्यस पवित्र सहरमा पुगेँ, मलाई अत्यन्त आश्चर्य लाग्यो किनकि त्यहाँका प्रत्येक नागरिकको एउटा हात र एउटा आँखामात्र थियो । उनीहरू पनि मलाई देखेर झन् आश्चर्यमा थिए, ओहो! दुवै हात दुवै आँखा भएको मान्छे, सबै छक्क परेर मलाई नै हेरिरहेका थिए जस्तो कि म अचम्मको प्राणी हुँ ।
जब उनीहरू मेरो नै बारेमा कुरा गरिरहेका थिए मैले सोधेँ, “के यो त्यही पवित्र सहर हो जहाँका नागरिकहरू भगवान्को आदेश धर्मशास्त्रको अक्षरस पालना गर्दै आफ्नो जीवन बिताउँछन्?” उनीहरूले भने हो “यो त्यही पवित्र नगर हो ।”

दिपेश मूर्ति पन्त
मैले सोधेँ,” हजुरहरूको यस्तो हालत कसरी भयो, हजुरहरूको दाइने आँखा र हातलाई के भयो?” उनीहरू एक दिशातर्फ देखाउदै भने “आउनुस् आफैँ हेर्नुहोस् ।” उनीहरूले मलाई सहरको बिचभागमा रहेको एक मन्दिरमा लगे जहाँ हात र आँखाहरूको थुप्रो थियो सबै निस्तेज सुकेर खक्रक्क भएका मानव अङ्गहरू ।
मैले सोधेँ, “कुन निर्दयीले हजुरहरूलाई यस्तो गऱ्यो?” यो प्रश्न सुनेर उनीहरू आश्चर्यमा परे अनि आफैँ आफैँ कानेखुसी गर्न थाले । यत्तिकैमा एक जाना वृद्ध व्यक्ति आगाडि आए अनि भनेँ, “यो सबै हामी आफैँले गरेका हौँ, ईश्वरको आदेशानुसार निर्देशनानुसार हामीले आफ्नो भित्रको खराबी, र पापहरूमाथि विजय प्राप्त गरिसकेका छौँ ।
उनीहरूले मलाई एक उच्च पहाडमा लिएर गए जहाँ एक शिलालेख गाडिएको थियो । त्यसमा लेखिएको थियो, “यदि तिम्रो दाइने आँखाले अपराध गऱ्यो भने त्यसलाई उखालेर फालिदेऊ किनकि मरेपछि नरक झेल्नु भन्दा एउटा आँखामात्र लिएर बाच्नु धेरै राम्रो हुन्छ, यदि तिम्रो दाहिने हातले अपराध गऱ्यो भने त्यसलाई पनि तुरुन्त काटेर फालिदेऊ, किनकि यसले तिम्रो सबै शरीर नर्कमा जाँदैन ।”
मैले त सबै बुझिहाले, अनि मैले उनीहरूलाई सोधेँ, “के यो सहरमा कोही दुवै हात र आँखा भएका बाँकी छन्?” उनीहरूले भने, “कोही छैन, केही बालक बालिकाहरूमात्र छन् जसले अहिले नै यो शिलालेख पढ्न र बुझ्न सक्तैनन्”
जब म त्यो मन्दिरबाट बाहिर निस्के, म तुरुन्त पछाडि पनि नहेरी त्यो भगवान्को पवित्र सहरबाट भागिहाले किनकि म त्यो शिलालेख पढ्न पनि सक्थेँ र बुझ्न पनि ।
साउनको अन्धो
एक दिन एउटा बुद्धिमान् कुकुर बिरालोहरूको भिडको नजिकबाट जाँदै थियो । उसले देख्यो बिरालोहरूलाई उसको उपस्थितिको कुनै मतलब थिएन । उनीहरू आपसमा मस्त थिए । कुकुर उनीहरूको नजिकै गयो ।
बिरालो भिडमा एउटा मोटो ढाडे बिरालो उठ्यो अनि साथी बिरालोहरूतिर हेर्दै भन्यो , ” भाइ बहिनी हो! पटक पटक पूजा गर, नि:सन्देह आकाशबाट मुसाहरूको वर्षा हुनेछ ।”
जब कुकुरले सो कुरा सुन्यो, मनमनै खुब हाँस्यो अनि आफ्नो बाटो लाग्दै भन्यो, “ए अन्धा, मूर्ख बिरालोहरू हो! के यो किताबहरूमा लेखेको छैन र के तिम्रा बाउ बाजेहरूले भनेनन् र? श्रद्धापुर्वक प्रार्थना गरयो भने जब वर्ष हुन्छ त्यो बेला मूसा होइन हड्डीहरू बर्सन्छन् ।”
जीवन
पूर्णिमाको चन्द्रमा जसै आफ्नो सम्पूर्ण सुन्दरताका साथ सहरमाथि उदायो, सबै कुकुरहरू चन्द्रमातिर फर्केर भुक्न थाले ।
तीमध्ये एउटा कुकुर चाहिँ भुकेन, उसले गम्भीर स्वरमा भन्यो, ” न चन्द्रमाको निद्रा टुट्छ न यसरी भुकेर तिमीहरूले उसलाई जमिनमा ल्याउन सक्छौ ।”
त्यसपछि अरू सबै कुकुरहरू भुक्न छोडे अनि त्यहाँ एक अनौठो शान्ति छायो तर त्यो कुकुर भने अरूलाई शान्त रहने उपदेश दिँदै रातभर भुकिरह्यो ।
स्वतन्त्र अस्तित्व
म एउटा मानसिक अस्पतालको बगैँचामा यसै घुमिरहेको थिएँ । त्यहाँ मैले एक युवकलाई अत्यन्त ध्यानपूर्वक दर्शनशास्त्रको पुस्तक पढिरहेको देखेँ । उनी असाध्यै स्वस्थ छन् जस्तो लाग्यो र उनको व्यवहार अन्य रोगीहरू भन्दा बिल्कुलै फरक थियो । साँच्चै नै उनी रोगी थिएनन् ।
म उनको नजिकै गएर बसेँ अनि सोधे, “तपाईँ यहाँ के गर्दै हुनुहुन्छ?”
उनले मलाई अत्यन्त आश्चर्यचकित हुँदै हेरे अनि बुझिहालेँ कि म डाक्टर होइन त्यसपछि उनले भने-
“हेर्नुहोस्, यो अति सिधा कुरो छ । मेरो बुबा प्रसिद्ध वकिल हुनुहुन्थ्यो, अनि आफूजस्तै बनाउन चाहनुहुन्थ्यो, मेरो काकाको धेरै ठूलो पसल थियो, वहाँ पनि मलाई वहाँकै बाटामा हिँडोस् भन्ने चाहनुहुन्थ्यो, मेरी आमाले ममा सधैँ मामाघरको हजुरबाको छवि देख्नुहुन्थ्यो, मेरा दिदीबहिनीहरू पनि यही चाहन्थे कि उसको उनीहरूको पतिहरूको जस्तै गजबको सफलता प्राप्त गरोस्, मेरो भाइ पनि यही चाहन्थ्यो कि दाइ पनि ऊजस्तै शानदार खेलाडी बनोस् र यस्तै कुरा मेरो विद्यालयमा पनि हुन्थ्यो, सङ्गीतको कक्षामा, अङ्ग्रेजीको ट्युसनमा पनि हुन्थ्यो – उनीहरू सबै दृढ निश्चयी थिए अनुशरण गर्नका लागि सबै अत्यन्त उपयुक्त र आदर्श व्यक्तिहरू थिए । उनीहरू सबैले मलाई एक मानिसको रूपमा देख्दै देखेनन् । म त उनीहरूका लागि एक ऐना थिएँ जसमा सबै आफ्नो आफ्नो प्रतिविम्ब देख्न चाहन्थे, आफैँलाई प्राप्त गर्न चाहन्थे । त्यसपछि मैले आफूलाई यहीँ भर्ना गर्ने निश्चय गरे । वास्तवमा यो संसारमा यही एउटा ठाउँ त बाँकी छ जहाँ म आफ्नो स्वतन्त्र अस्तित्वका साथ जिउन सक्छु ।”
अहङ्कार
एउटा बुढो माझीले मसँग भन्यो, “तीस वर्ष पहिले एउटा एउटा डुङ्गा खियाउनेले मेरी छोरी भगाएर लग्यो, मैले उसलाई धेरै गाली गरेँ, त्यो मरोस् भनेर श्राप दिए किनकि म मेरो छोरीलाई असाध्यै माया गर्थेँ । आखिर मेरो श्राप लाग्यो त्यसको डुङ्गा समुद्रमा डुब्यो र त्यो मऱ्यो अनि मेरी प्यारी छोरी पनि सँगै डुबेर मरी । खासमा मेरी छोरीको हत्यारा मै हो, मेरो श्रापले दुवै मरे । अब म कति नै बाँच्छु र? हे ईश्वर मलाई यो क्रूर अपराधको लागि क्षमा गर ।”
त्यो बुढोको बिलौना र पश्चात्तापका आँसुहरूमा आफ्नो श्राप दिने शक्तिको घमण्ड झिल्मिलाई रहेको प्रस्ट देखिन्थ्यो ।
भ्रम
आफ्नो अगाडिको सुन्दर निलो रङ्गको बादलले हल्का ढाकेको सुन्दर हिमाललाई हेर्दै आँखाले भनेछ “हेर न निलो निलो कुहिराको बिचमा कति सुन्दर हिमालय ।”
त्यो सुनेर कानले भनेछ “सुन्दर हिमालय, कहाँ छ? म त केही पनि सुन्दिनँ त!”
नाकले पनि भनेछ “सुन्दर हिमालय? खै मैले त कुनै गन्ध महसुस गरेको छैन त!”
अनि हातले पनि भनेछ “सुन्दर हिमालय? खै मैले त केही पनि छुन सकेको छैन त!”
जब आँखा अर्को दृश्य हेर्न व्यस्त भयो हात, नाक र कानले बडो चिन्तित हुदै छलफल गरेछन् “यो आँखालाई यस्तो भ्रमित हुने के चाहिँ खतरनाक रोग लागेछ !”
खाली कागज
हिउँजस्तै सेतो कागजले भन्यो, “यस्तै शुद्ध सेतो रूपमा मेरो निर्माण भएको हो र म सधैँ सधैँ सेतै रहन चाहन्छु । कुनै मसी या कुनै अरू रङ्ग आएर मलाई फोहोर गर्नुभन्दा त बरु म जलेर सेतो खरानी हुन मन पराउँछु ।”
मसीले भरिएको भाँडाले त्यस्तो कुरो सुनेर मनमनै हाँस्यो र कागजको नजिक जाने हिम्मत नै गरेन । कागजको कुरो सुनेपछि रङ्गीन सिसाकलमहरू पनि कागजको नजिक कहिले गएनन् ।
हिउँजस्तै सेतो कागज शुद्ध तथा खाली कोरो नै रहिरह्यो…..शुद्ध कोरो र खाली ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

