लक्ष्मण अर्याल

“सास छ साहुजी ?” – उसले पसलेसँग सोध्यो ।
“कति जाने दिऊँ ?” – साहुजीले प्रतिप्रश्न गरे ।
उसले टाउको कन्यायो र भन्यो – “सबैभन्दा सानोलाई कति पर्छ साहुजी ?”
साहुजीले भने – “यो अठार सय, यो पच्चीस सय र अनि यो प्रतिगोटा ३ हजार ।”
“ओहो !” – उसको आश्चर्य एकाएक चुलियो ।

साहुजीले भने – “सास किन्न आउनेहरू धेरै भइसके । एकछिन बस्यौ भने यो पनि सकिन्छ । भन, कुन दिऊँ ?”
सबैभन्दा सानो सासलाई पनि ३ सय नपुग छ उससँग । यसैले साहुजीसँग गथासो बिसायो – “आमा सिकिस्तै छिन् । सास नभए बाँच्दिनन् होला । अलिकति सास जोहो गर्दिन पाए हुन्थ्यो । कोभिडले सासको मूल्य र माग दुवै अचाक्ली नै बढाएको छ ।”

बजारमा एकाएक भिड बढ्यो । कार चढेर आउनेहरूले सबै सास कब्जा गरे अनि बोकेर हिँडे । हेर्दाहेर्दै सास पसल रित्तो भयो । पसल रित्तिएसँगै उसको आशा पनि रित्तो भयो ।

ऊ तन्द्राबाट बिउँझियो । सोच्यो – बाह्र दिन अघि एक भाँडो सास किनदिन सकेको भए सायद उसकी आमा भन्दै हुन्थिन् होला – “यो काले मोराले एक भाँडो सास जोड्न नसकेको भए म आकाश भैसक्ने थिएँ होला यतिखेरसम्म ।”