(मातातीर्थ औँसीको सन्दर्भमा आमा विशेष लघुकथाहरू)

१. पहिलो लघुकथा
(अक्षयकोष सहितको लघुकथा सम्मान राख्ने लघुकथाकार)

आमा

डा. पुष्करराज भट्ट

“आमा, मेरा लागि संसारमा तपाईँ जत्तिको ठूलो कोही छैन ।”

कहिलेकाहीँ भावुकतावश उसका स्वरमा पीडा मिसिन्थ्यो । बाल्यकालदेखि आमाको माया पाएर आजसम्म आइपुगेको थियो ऊ । आमा उसका लागि सबथोक थिइन् । किशोरावस्था पार भयो । जवान भयो, जागिरे भयो अनि कुनै महिलाको पति पनि भयो ।

आमाको दिनचर्या यथावत् । पहिले छोराको हेरचाह हुन्थ्यो । अब बुहारी पनि थपिएपछि कामको बोझमा अझ वृद्धि भयो आमाका लागि ।

“घरका साना साना काम गर्नका लागि पढेकी हैन मैले। बुझेको हो ?”

पतिलाई पत्नीको घुर्की आइरहन्थ्यो । कामदार राख्ने कुरा गर्दा आमा भन्नुहुन्थ्यो – “म छँदै छु नि, बाबु । किन कामदार राख्ने ? घरको काम त हो नि ! बढी काम नै के छ र ?”

आमाको सान्त्वनाले आश्वस्त हुन्थ्यो ऊ ।

जागिरे जीवन, व्यस्तता वृद्धिसँगै अब आमासँग भेटमा कमी हुन थाल्यो । साँझ बिहान मात्र आमासँग भेट हुने गर्दथ्यो । आमा पहिले जसरी नै काममा खटेकी देखिन्थिन् । उसलाई लाग्थ्यो, आमाले सारा घर सम्हालेकी छिन् ।

समय–समयमा खोकिरहन्थिन् उनी । “कतिको खोक्न पर्या होला यो बुढीलाई !” कहिलेकाहीँ श्रीमतीको च्याँट्ठिएको बोली उसका कानले पनि श्रवण गर्ने गर्दथे । सम्पन्न परिवारकी, पढेलेखेकी श्रीमतीसँग बोल्ने आँट कहिल्यै भएन उसमा । आमालाई स्वास्थ्यको बारेमा सोध्दा केही नभएको जवाफ पाउँथ्यो । व्यस्तताले गर्दा आमाका लागि समय निकाल्न उसलाई फुर्सद नै हुँदैनथ्यो । श्रीमतीलाई “आमालाई जँचाएर ल्याऊ ?” भन्दा वास्ता हुँदैनथ्यो ।

अन्त्यमा आमाको क्यान्सर लागेर मृत्यु भयो । आमा नहुनुको पीडाबोध गर्दै उसले रुँदै भन्यो, “आमा…….” ।
अनि चारैतिर हेर्यो तर अन्धकार सिवाय केही थिएन ।

###
(लघुकथामा अक्षयकोषको स्थापना गरी लघुकथाकारहरूको सम्मान कार्यको थालनी गर्ने पहिलो लघुकथाकार डाक्टर पुष्करराज भट्ट हुन् । उनीले २०७१ सालमा १ लाख रूपैयाँको अक्षयकोष स्थापना गरी लघुकथा समाजबाट “पद्म रामचन्द्र लघुकथा सम्मान” वितरण गर्थे । यो सम्मा सुरुमा प्रा. मोहनराज शर्मालाई अर्पण गरिएको थियो भने २०७७ सालसम्म लघुकथा समाजबाट वितरण गरियो ।
डा. पुष्करराज भट्ट नेपाली लघुकथामा विद्यावारिधि गर्ने पहिलो व्यक्ति पनि बन्नु भएको छ । उहाँ लघुकथाको अध्ययन, लेखन, विकास र विस्तारमा लागिपर्नुभएको छ । स्थापना कालदेखि नै लघुकथा समाजमा आबध्द भट्ट हाल समाजबाट अलग भएर लघुकथामा सक्रिय हुनुहुन्छ ।

प्रस्तुत “आमा” लघुकथामा डाक्टर पुष्करराज भट्टले विवश छोरा र कर्कस बुहारीको कथा चुन्नु भएको छ । विवश हुँदाहुँदै अन्त्यमा कारुणिक कथा बनेको छ ।)

२. सक्रियकालीन लघुकथा

चुलेसी

दीपक लोहनी

पुरानो समय ।
याने मेरो बालापनको ।

घरमा एउटा चुलेसी थियो । म त्यो चुलेसीलाई खुबै मन पराउँथे । सुलुत्त परेको पातलो जिउ । धारिलो मेरुडण्ड । सरमले निउरिएको टाउको । नाकमा सानो नत्थी ।

म सम्झन्छु –
त्यो चुलेसीले कहिले भान्छा वरिपरि बसेर काम गरिरहेको हुन्थ्यो । कहिले मझेरीमा बसेर तरकारी काटिरहेको हुन्थ्यो । पिँढी, आँगन वा कहिले चोटा र कोठा पनि पुगिरहेको हुन्थ्यो । जहाँ पुगे पनि चुलेसी केही न केही सुधारी रहेको हुन्थ्यो ।

बेला बेला हजुरआमा – “चुलेसी भद्दा भएको” भनेर फतफलाइरहनु हुन्थ्यो । हजुरआमा फतफताएपछि मेरो बाबाले चुपचाप चुलेसीलाई ढुङ्गाको सहयोगमा साँध लगाउनु हुन्थ्यो, स्वाँई ! स्वाँई !!
साँध लगाउँदा चुलेसी र ढुङ्गाबीच घर्षण चल्थ्यो र कुनै बेला झिलिक्क झिल्का पनि निस्कन्थ्यो ।

साँध लगाएपछि चुलेसी पुन: भान्छा, मझेरी, पिँढी, आँगन वा चोटा, कोठामा पुगिहाल्थ्यो ।

ठूलो जहान भएर होला-
चुलेसीलाई खासमा फुर्सदै थिएन ।

म चुलेसीले प्राय:
तरकारी हैन, सपनाहरू काटिरहेको देख्थेँ ।
फलफूल हैन, रहरहरू तासिरहेको भेट्थेँ ।

आज पैंतालीस वर्षपछि म त्यो नत्थी लगाएको चुलेसी सम्झिरहेको छु । मलाई चुलेसी र मेरी आमा उस्तै उस्तै लाग्छ । तर दु:खको कुरो –
न मसँग त्यो चुलेसी छ न मेरी आमा ।

###
(नेपाली लघुकथामा ५० को दशकलाई सक्रियकालीन समय मानिन्छ । यही समयमा आख्यानकार दीपक लोहनी लघुकथामा प्रवेश गरेका हुन् । बीचमा गुपचुप भएका उनी ७० को दशकदेखि लघुकथामा आक्रामक शैलीमा देखिएका छन् । उनी “सेलेक्टेड” लघुकथाहरू मात्र लेख्छन् ।
दीपकले लघुकथाको विषय उठान, पटकथाको बुनोट, लघुकथाको अन्त्यमा झट्का र कथाले बताउँदै गएको विषयमा ३६० डिग्रीको परिवर्तन ल्याउनसक्ने क्षमता राख्छन् । उनी लघुकथाको शीर्षक चयनमा पनि आफ्नो दक्षता प्रस्तुत गर्छन् । दीपकका लघुकथाहरू सूत्रात्मक छन् ।

प्रस्तुत लघुकथा “चुलेसी” पूर्णरुपेण आमासँग सम्बन्धित छ । आमाको दु:ख, रहर, सपनाहरूलाई आमाले नै प्रयोग गर्ने चुलेसीसँग तुलना गरी कथामा “नोष्टाल्जिया” भित्राएका छन् ।)

३. मलाई मन परेको लघुकथा

सुत्केरी आमा

सुमन सौरभ

रातको उत्तरार्ध थियो कि बिहानीको पूर्वार्ध कुन्नी, आकाश अँध्यारोछँदै एकपटक फेरि सुत्केरी भइन् आमा !

अचम्म, खसम बितेको कैयौँ वर्ष भैसक्दा पनि फेरि सुत्केरी भइन् ! उद्देश्य उनैलाई थाहा होला, परिणाम पनि थाहा होला उनलाई । किन सुत्केरी भयौ भनेर सोध्न ढिलो भैसकेको थियो ।

श्रीमान् गम्भीर नेपाली जन्माउन सुत्केरी भइन् कि भनेर उकुसमुकुस भयो मलाई, प्रचण्ड प्रतापी भूपति जन्माउन भइन् कि भनेर हीनताबोध पनि भयो । उनको सोचाइलाई मनमनै सलाम गर्नुपर्ने बाध्यता पनि थियो मलाई – “अनुहार जस्तोसुकै होस् , भाग्य जस्तोसुकै होस्, सबै सुत्केरीहरू चन्द्रमा जन्माउँछन्, सूर्य जन्माउँछन् ।”

आफ्नै आमा त हुन्, कर्तव्य थियो – यताउताको खुशी बटुलेर औपचारिक बधाई दिने हिम्मत जुटाएँ र एउटा किस्तीमा फलफुल, चकलेटको जोरजाम गरेँ ।
सुत्केरी आमाको मुखहेर्ने तयारीमा
अर्को किस्तीमा फरिया, चोलो र मिठाई सजाएँ ।

किस्ती लिएर सबेरै उनको कोठामा पस्दा उनी हिजोअस्तिकै कमजोरीमा पलेँटी कसेर बसेकी थिइन् । सायद मेरै प्रतीक्षामा । हेर्दै लाग्थ्यो, नुहाइधुवाइ गरेर चोखिइसकिछन्, दैनिक पूजाआजा, धूपबत्ती पनि सिध्याइसकिछन् ।

अप्ठ्यारो मान्दै, लजाउँदै, दुबै किस्ती उनको हातमा राखिदिएँ र जिस्काएँ – “लौ, सुत्केरी आमालाई बधाई ।”
आमाले लजाउँदै किस्तीको फरियाचोलो आफ्नो काखमा राखिन्, मेरो निधारमा रातो टीका लगाइदिइन् अनि मिठाईको एकटुक्रा खुवाइदिँदै मेरो टाउकोमा हात राखेर आशीर्वाद दिइन् – “लौ लौ, प्रत्येक साल आजकै दिन जन्मिरहनू, तँलाई पनि जन्मदिनको शुभकामना !”

###
(नेपाली लघुकथामा मलाई सुमन सौरभ गजब मन पर्ने थोरै लघुकथाकार मध्येका एक हुन् । उनी विषयलाई अत्यन्तै न्याय गर्ने लघुकथाकार हुन् ।
सुमनका लघुकथा संग्रहहरू थुप्रै छन् । त्यसो त उनी लघुकथा मात्र लेख्ने स्रष्टा पनि हुन् । उनी आफ्ना लघुकथाहरूमा स्वैरकल्पना बढो शालीन पारामा घुलाउँछन् जसरी दूधमा मह घुलाइने गरिन्छ ।

प्रस्तुत लघुकथा “सुत्केरी आमा” कुमारी कथा हो । यस्तो कथा हालसम्म कुनै कथाकारले लेख्न मात्र हैन सोच्न पनि भ्याएका छैनन् । लघुकथाले स्वैरकल्पनाको बाटो हिँड्दै अन्त्यमा उत्तरआधुनिकता घुसाएको छ । पाठक यो लघुकथा पढिसकेपछि शून्यमा हराउने छ । पाठक शून्यबाट झल्याँस्स भएपछि मात्रै लघुकथाकार सुमन सौरभलाई खोज्ने छ ।)