नवीन ध्यार

 

भिरालो जमिन, भिरमै अडिएको छाप्रो घर र घरभित्र एक जीवन । रगत चुसिएको, पसिना बेचिएको, हाँसो खोसिएको एक निरीह जीवन । यही जीवनको प्रतिमूर्ति थियो श्रीरामबहादुर । गाउँलेहरूले उसलाई श्रीरामे भन्ने गर्थे । गाउँमा कसैको खेतबारी जोत्नु परे, कसैको मेला जानुपर्ने भए, कसैको घरगोठ बनाउनुपर्ने भए सबैले सम्झिने एउटै नाम थियो, श्रीरामे ।

एकदिनको घटना हो । त्यस दिन अति नै जाडो थियो  । सधैँजसो श्रीरामे अरूको काम  गरेर घर फर्केर आगो तापेर बसिरहेको थियो  । कामको थकान र आगाको न्यानोले श्रीरामे चुलो छेउमै निदायो । पछि वरिपरिका दाउरा सल्किँदै जाँदा र आगाको मात्रा बढ्दै  जाँदा घर नै आगाले भेट्यो । आगाले छाप्रोको छत जलिरहेको देखेर गाउँलेहरू उद्धार कार्यमा जुटे । श्रीरामेलाई आगोबाट अलग गरेर बाहिर निकाले । त्यति बेलासम्म उसको आधाभन्दा बढी जिउ जलिसकेको थियो । गाउँलेले अचेत अवस्थामै हतार-हतार उसलाई  अस्पतालसम्म लगे । उपचारमा पैसाको अभावले बिस्तारै उसको स्वास्थावस्था खस्किँदै गयो । अन्ततः ऊ मृत्युको  सिकार बन्यो ।

त्यसपछि उसको लासमाथि जिस्किनेहरूको ताँती नै लाग्यो । पहिलो त उसको कर्म, दोस्रो गाउँलेहरू, तेस्रो मलामी, चौथो चिता बनाउने चिसा दाउरा , पाँचौँ बर्सात ।  जल्न नपाउँदै वर्षाले बाढी ल्याएर श्रीरामबहादुरको लास बगाउँदै  लग्यो।