१. पहिलो लघुकथा
(लघुकथा संग्रह बढी प्रकाशन गर्ने लघुकथाकार)
ढुङ्गाको देवता
डा. रवीन्द्र समीर

डा. रवीन्द्र समीर
लेउ लागेको हेर्दै घिनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अबिर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रङ्गिबिरङ्गी ध्वजाहरू बाँधेर बिरामी छोराको निम्ति भाकल गर्यो – हे प्रभु मेरो छोरोलाई निको बनाऊ, सके कालो बोको, नसके लोकल कुखुरो चढाउँला।
अर्कोदिन छोराको नाडी झनै पातला हुँदै गए, मुखमा हालेको पानी सररर बाहिर झर्यो जसरी उसले त्यो ढुङ्गामा गाईको दूध चढाउँदा दूध बाहिर झरेको थियो।
बच्चालाई कठैवरा विचरा भन्न उसको घरमा आफन्तहरूको भीड लाग्यो, त्यहाँ भन्दा ठूलो भीड ढुङ्गाको वरिपरि लाग्यो – पूजा गर्न, ढोग्न, फूलप्रसाद चढाउन, आशीर्वाद लिन।
त्यसै रात आकाशबाट उदीयमान एउटा तारा झर्यो, सृष्टिको रोलक्रमअनुरुप उसको पालो मिचियो। बलिन्द्र धारा आँसु बहाउँदै मनासघाटमा छोरालाई कणकण बनाएर ऊ रुँदै फर्कियो, उसको जीवनमा सुनामी आयो।
उसलाई दोस्रोपटक सनक चढ्यो अनि त्यो पुजित ढङ्गा अर्थात् देवताको मूर्ति पखाल्यो अनि पहिलेजस्तै लेउ लागेको कालो ढुङ्गो बनायो।
भोलिपल्ट त्यो ढुङ्गामा गोठालो बसेर विरहको मुरली बजाएको सुन्यो, पर्सिपल्ट साँइलो ज्यामीले त्यो ढुङ्गालाई घनले फोडेर, टुक्राटुक्रा पारेर हाटमा लगेर बीस रुपियाँमा बेच्यो र केटाकेटीलाई जाउलो खुवाउन चामल लिएर फर्क्यो।
उसलाई आफ्नो दोस्रो सनकप्रति गर्व लाग्यो – मैले गर्दा आज कसैको पेटमा अन्न त पर्यो !
###
(नेपाली लघुकथा क्षेत्रमा लघुकथाकार रवीन्द्र समीर धेरै लघुकथा संग्रह प्रकाशन गर्ने पहिलो लघुकथाकार हुन् । उनीले २०५३ सालमा “तेस्रो आँखा” लघुकथा संग्रह प्रकाशनबाट यो यात्रा थाली २०७५ सालमा “मृत्युको आयु”सम्ममा आइपुग्दा ९ वटा लघुकथा संग्रह प्रकाशनमा ल्याइसकेका छन् ।
रवीन्द्र समीर डा. रवीन्द्र पाण्डेका नामबाट जनस्वास्थ्यविज्ञको रूपमा पनि चिनिन्छन् । डाक्टरी पेशा, जनस्वास्थ्य र मनको रहर, अनुभूति र व्यग्रताहरू उनका लघुकथामा सहजका साथ पाउन सकिन्छ ।
प्रस्तुत लघुकथा “ढुङ्गाको देवता”मा लघुकथाकार रवीन्द्र समीरले ईश्वरको दुई अवतारको सटिक वर्णन गरेका छन् । कथामा ईश्वर केही होइनको छलन दिँदै आत्मतृप्ति गराउनुमै सन्तुष्ट हुने कुरा देखाएका छन् ।)
२. सक्रियकालीन लघुकथा
जीतको हाँसो
जनक सिग्देल

जनक सिग्देल
साहुजीको आदेश थियो, “केटाहरूले फूलको गमलाहरू तल ल्याउँछन्, अलि राम्रोसँग मिलाएर राख्न लाउनू है …. । फुटाउलान् राम्रो गरी ध्यान पुर्याउनू ।”
“हस्, हजुर” भनेर टाउको हल्लाएँ । मेरो पालो ।
उनीहरू धमाधम ल्याउने काम गर्न थाले । काम गर्थे तर एकदमै सुस्त । एउटा झार्थे, घण्टौँघण्टा बस्थे । हाँस्थे, बोल्थे अनि जिस्कन्थे । पुनः साहुजीलाई देखेर, हतार हतार गर्थे । कुनै कुनै बेला त गमला नै फोडुँलाझैँ गर्थे । काम गर्नुपर्यो भनेर होला रिसले पुलुक्क, मतिर हेर्थे । म चाहिँ केही बोल्थिनँ । केवल निगरानी गर्थेँ ।
एक्कासि उनीहरूको लापर्वाहीले गर्दा एउटा गमला झरेर प्याट्टै फुट्यो । अनि मैले भनेँ, “के हो ? केटाहरू हो । यस्तै हेलचेक्र्याइँ गर्ने हो ? साहुजीको त नोक्सानी भयो नि ! तिमीहरूको के गयो ? गर्नु छ भने राम्रोसँग गर… । नत्र, साहुजीलाई गएर …. ।”
“आफैँ गर्नु नि ! बूढो भनेर मात्रै छोडेका हौँ… नत्र…,” उनीहरू यसो भन्दै उफ्रिए ।
मेरो पालो पनि, “के चाहिँ गर्छौ ? लु त हेरौँ त । आफूलाई के सोचेको ? वीर पुरूष ! अहम् र सेखी झर्ला नि ! बल र तागतको घमण्ड देखाउँनु पर्दैन भन्दै जङ्गिएँ ।”
यत्तिकैमा साहुजी कार्यालयबाट फुत्त बाहिर निस्के । र, भने, “के भयो दाइ ? किन कराउनुभएको ?”
“हेर्नूस् त गमला फुटाएको ! भन्दा, उल्टै सिङ्गौरी खेलेको । कत्ति सहनु ? अत्ति नै भयो,” मैँले जवाफ दिएँ ।
उनको पालो, हप्कायो भनेर, “आइन्दा उनीहरूसँग मुख लाएको सुनेँ भने सिधै कामबाट निकालिदिन्छु भन्दै चेतावनी दिए ।”
शायद उनीहरूले जितेको खुसियालीमा होला मतिर पुलुक्क हेर्दै हाँसो छोडे ।
अनि मैले भनेँ, “साहुजी, आज गमला फोडे । भोलि घरको झ्याल ढोका फोड्लान् । पर्सि थाल प्लेट कुच्याउलान् । यस्ताको के विश्वास ? होसियार हुनूस् है… ।”
त्यसपछि मनमा दुःख लागेर आफैँ निस्किएँ ।
###
(नेपाली लघुकथामा ५० को दशकलाई सक्रियकालीन समय मानिन्छ । यही समयदेखि जनक सिग्देल नेपाली लघुकथाको क्षेत्रमा प्रवेश गरेका हुन् ।
जनक सिग्देल आख्यान र काव्यमा रुचि राख्ने स्रष्टा हुन् । उनी २०४५ सालदेखि नै साहित्यमा प्रवेश गरे पनि नेपाली साहित्यको मूलधारभन्दा बाहिर रहन विवश भए ।
पछिल्लो समय लघुकथाको अध्ययन र लेखनमा सक्रियता देखाएका लघुकथाकार जनक समसामयिक विषयहरूलाई उजिल्याउने प्रयास गरिरहेका छन् ।
प्रस्तुत लघुकथा “जीतको हाँसो”मा जनक सिग्देलले कामदारहरूको मनोबल र मालिकको राजनीतिलाई घुमाउरो पारामा देखाएका छन् ।)
३. मलाई मन परेको लघुकथा
मेरा बाजस्तै
कुमार काफ्ले

कुमार काफ्ले
“आमा मलाई गणित र विज्ञान सारै गार्हो लाग्यो । ट्यूसन पढ्छु नि है ?” प्रभाले आमालाई भनी ।
“मलाई भनेर के गर्छेस् त ! भरे बा आएपछि भन् न ।”
“बा त के मान्नु होला र ! आठ कक्षा पास भएपछि त अब नपढ् भन्नुहुन्थ्यो । तैपनि तपाईं नै एकपल्ट भनिदिनू न है आमा, ल ?”
साँझ बा घर आए । आमाले दिउँसोको कुरा निकालिन्, “छोरी ट्यूसन …. ।”
“त्यसले पढेर के गर्छे र ? अर्काको घर जानुपरिहाल्छ, आ हुन्दे !” बाले आमालाई भनेको उसले सुनिरहेकी थिई ।
भोलिपल्ट बिहान बाले पनि सुन्ने गरी प्रभाले आमालाई भनी, “आमा हाम्रो दाइ त कति सोझा छन् है ? स्कूलमा पनि सबैले लाटालाटा भनेर जिस्क्याउँछन् ।”
“त्यही त नानी, यसले कसरी गरी खाला ! हाम्लाई त त्यसैको पीर छ । अँ, तँ छेस् नि बाठी ….।”
“म त अर्काको घर जाने जात होइन र आमा ?” उसको कुरा सुनेर आमाको बोली बन्द भो, बा झल्याँस्स भए ।
“बुहारी कस्ती आउने हो ! अलि पढे लेखेकी परे त हुन्थ्यो …. !” आमाले सुस्केरा हाल्दै भनिन् ।
प्रभाले तप्प आँसु चुहाउँदै भनी, “उसका बा पनि मेरैजस्ता त होलान् नि आमा !”
###
(कुमार काफ्ले विचारलाई प्रष्ट्याउने लघुकथाकार हुन् । परिवेश र कलालाई अलिपर राखेर उनका लघुकथाहरूले प्रष्टसंग विचार बोकेको हुन्छ । उनी सफल र ऊर्जाशील लघुकथाकार हुन् ।
प्रस्तुत लघुकथा “मेरो बाजस्तै” लघुकथाले परम्परागत नारीशिक्षाको चित्रण उतारेको छ । गरिब मानसिकता बोकेको पितृसत्ता अझै पनि छोरी पराई घर जाने जात हुन् भनी स्वास्थ्य र शिक्षामा नीच भएको देखिन्छ । यसै विषयमा कथा मज्जाले घुमेको छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

