—-
घाटमा केैयौँ लासहरू जलिरहेका थिए। ती लासहरूमध्ये दुईवटा लास विषेशसम्मानका साथ जलाइँदै थियो।  एउटा राजाको र अर्को सहरको धनाड्य रइसको थियो।
ती विशेष भनिएका लासमा सुगन्धमय श्रीखण्ड र चन्दनका दाउरा प्रयोग गरिएको थियो अन्य लासहरू सामान्य दाउराको आगामा जलिरहेका थिए।
कुनै कात्रो महँगा थिए भने कुनै लासमा खाँडीको कात्रो ओढाइएको थियो । जल्ने र गाडिने लासहरूमा महिलाका लास पनि  थिए।
जमिनको अभावमा छेउमै मुस्लिम र क्रिस्चियनका लागि समेत चिहानका खाडलहरू खनिदै थियो।
घाटमा लासहरू ल्याउने जलाउने वा जमिनमा गाड्ने  क्रम चलिरहेको थियो।
घाटको एकछेउमा बसेर एक वृद्ध साधु यी कारुणिक दृश्यहरू नियालिरहेका थिए।
उनले सटासट चिताको खरानी र चिहानको माटो सङ्कलन गरे। अनि मलामीहरूको नजिक आएर भन्न थाले।
” यी खरानी र माटोका पोकाहरू फरकफरक चिता र चिहानबाट उठाएर ल्याएको हुँ । यी पोकाबाट जस्ले राजा धनी गरीब धर्म लिङ्ग र नश्ल विशेषको खरानी र माटोको रङ्ग छुट्याउन सक्छ । ऊ भन्दा महान् मान्छे यो धरतीमा अर्को फेला पर्ने छैन ।तर झुट बोल्यो भने तत्काल शिर फुटेर उसको यहीँ मृत्युु हुनेछ ।”
सबैले पालैपालो माटो र खरानीको रङ्ग नियाले । मलामीको भिडमा कहलिएका नेता ,धर्मगुरु,पादरी,वैज्ञानिकहरू पनि थिए। फरक छुट्याउन सकेनन् । सबै मलामीहरू मुखामुख गर्दै आफ्नो गन्तव्यतिर लागे।
आपसमा उनीहरू भन्दैथिए।
“राजा होस् या रङ्क या फरक धर्म लिङ्ग र नश्लका मानिस किन नहुन्।
चिताको खरानी र माटाको गुप्त सन्देश बुझ्न र रङ्ग छुट्याउन नसकिने भएपछि संसारमा घृणा द्वेष हिंसा र  कोलाहलमय भेदभावको कुरूप प्रथा कस्ले चलायो ।”

दमक,झापा