भरतमणि भट्टराई

तिलेले जेठीपत्नी मरेपछि कान्छी शिलालाई भित्र्यायो । उनले लगातार वर्षौँटे २ छोरा र २ छोरी पाइन् । जेठीतिरको हरि अत्यन्त सुवासिलो भए पनि कान्छी आमा उसलाई देखिसहन्नथिन् । ज्यादै हेला भएपछि ऊ अनाथालयमा पुग्यो । पढाइ राम्रो भएकाले सञ्चालकले राम्रो स्कुलमा भर्ना गरिदिए । निःशुल्क पढ्न र अन्य सुविधा पाएको हरि इञ्जिनियर बनेर बजारमा घरजम गरी बस्यो । पत्नी सरिताले पतिसँग सोधिन्,“हाम्रा बाआमा कहाँ हुनुहुन्छ? घरमा किन आउनुहुन्न ? ल्याउनुपर्छ, खोजी गरौँ न हजुर ?”
मिर्मीको उत्तरतिरको सानो गाउँमा उसका परिवारजन बस्दथे । पत्नीको कुराले हरिलाई घरको सम्झना गरायो र बाआमा एवं भाइबहिनीलाई भेट्नका लागि गयो । घरमा जाँदा बाबा मरिसकेका, सानीआमा मुटुको रोगले थला परेकी, भाइहरू अर्काको घरमा कमारो बसेका, बहिनी सानैमा दलालद्वारा बेचिएकी रहिछन् । हरिले सानीआमालाई ओछ्यानमा गई ढोगिदिएर सोध्छ,“आमा,कस्तो छ हजुरलाई ? बाबा खोई ? अनि भाइबहिनी ……………?” ओछ्यान परेकी आमा हरिलाई देखेर लाचार हुन्छे । बोल्न मन लागे पनि बोल्न सक्दिन । उसले तुरुन्तै हस्पिटल लगी उपचार गऱ्यो । सञ्चो भएपछि आमालाई घरैमा लगेर सेवागऱ्यो। सरिता बैङ्कमा जागिरे भए पनि आमाको रेखदेख गर्थिन् ।

आज शिला सञ्चो भएको पनि पाँच महिना बितिसकेको छ । उसलाई अब हरिसँग माफी मागेर जान मन हुन्छ तर कहाँ जाने ? छोराहरू कहाँ छन् ? पत्तो छैन । उनी ज्यादै अप्ठेरोमा परिन् । शिलाले एकदिन सरितासँग भनिन्,“बुहारी, मेरा लागि ठुलो गुन लगायौ, तिमीहरू ईश्वर रहेछौ, म तिमीहरूलाई सधैँ आत्मा नै राख्नेछु ,अब म आज जान्छु है ? मलाई बिदा देऊ ?” आँखाभरि आँसु लिएर कपडाको पोको च्यापी उभिई शिला । हरि त्यतिबेला टुप्लुक्क आउँछ । आमाको अवस्था देखेर पोको खोसी आमालाई भन्छ, “आमा ! यो घर तपाईँको र हामी सबै हजुरकै हौँ, हामी सदाका लागि यहीँ बस्ने हो । बरु भाइहरूलाई पनि ल्याउनुपर्छ आमा!” शिला पश्चात्तापका साथ माफी माग्दै के थिइन्, हरिले बोल्नै दिएन ।

 

पोखरा–१०, मिलनटोल, कास्की