उनले प्रिन्सिपलसग उजुर गर्दै गर्दा मेरा अँखा रसाए, मन भाचिएर आयो, म मा भएको ऊर्जा, जाँगर, विद्यार्थीप्रतिको स्नेह प्रेमसग गुनासो लाग्यो! आत्मग्लानी भयो। मलाई मेरा गुरु-गुरुआमाको याद आयो ।
सरले मलाई ओए ध्वाँसे भनेर बोलाउनुहुन्थ्यो, सरको प्यारो विद्यार्थीजस्तो महसुस हुन्थ्यो। हामी त कति खुसी हुन्थ्यौँ ! मेरा साथीहरूलाई पनि गुरु-गुरुआमाले उपनामले बोलाउनुहुन्थ्यो ! डल्ली उठेर यो पाठ पढ् , तँ कालीले किन आज होमवर्क नगरेकी ? तँ मुतुईले अक्षर अलि सुधार है, ओए तँ गोरु कक्षा कोठामा पस ! बाहिर किन निस्केको ? हामीलाई त यस्तो उपनाम र गालीहरूमा प्रेम थियो कि घृणा थाहा थिएन तर ती शब्दहरूमा गुरु, गुरुआमाको मायाको आभास गर्थ्यौँ, मख्ख परेर हास्थ्यौँ, होमवर्क नगर्दा माफी माग्थ्यौँ, कान समाएर उठ बस गर्थ्यौँ, सरले सोधेका शब्दार्थको जवाफ नजान्दा छेउको साथीले भन्दा मैले एक भाटा कम खाए भनेर खुसीले गदगद हुन्थ्यौँ, उखरपात नै हुन्थ्यो मैले कम पिटाइ खाएँ भनेर भरखरै खाएको पिटाइको दुखाइ पनि बिर्सिन्थ्यौँ । घरमा फलेका अमला गोजीमा भरेर गुरुआमालाई लगेर दिन्थ्यौँ, गुरुआमा खुसी हुँदै कति माया गर्छ यो लठुवाले मलाई भन्दा खुसीले सिमा नाग्थ्यो। कति धेरै प्रेम थियो गुरु-गुरुआमा र हामीबीच, बिरामी भएर एक दिन स्कुल गएन भने भरे गुरुआमा स्कुलबाट फर्किँदा घरमा निस्केर जानुहुन्थ्यो आज यो काले किन स्कुल आएन ? यसलाई सन्चो भएन कि क्याहो भन्दै घरमा आमालाई सोध्नुहुन्थ्यो,
रबिना मैनाली
मैले स्कुलमा, कक्षा कोठामा गरेका गल्तीहरू आमालाई सुनाइदिनु हुन्छ भनेर डरले कुनामा गएर लुक्ने गर्थेँ । सन्चो भएपछि स्कुल पठाइदिनुहोला परीक्षा आउन लागेको छ घरमा बस्न नदिनु है भनेर गुरुआमा निस्किनुहुन्थ्यो।
..तर आजभोली शिक्षक र विद्यार्थीबिचको त्यो माया प्रेम कहाँ हराएर गाएछ, त्यो मायाले विषको रूप लिन थालेको रहेछ । अब त शिक्षक पो डरले कप्नुपर्ने दिन आयो कुन विद्यार्थीले के पोल घर लागेर सुनाउछन् र अभिभावक उजुरी लिएर स्कुल आउँछन् भनेर डरमा बस्नुपर्ने भयो। हिजो रश्मीलाई मैले तेरो होमवर्क खै, होमवर्क गर्नु पर्दैन फ्याउरी भनेर गाली गरेको थिए । आज उसको ड्याड मम् नानीलाई सरले तँ भन्नुभयो रे, फ्याउरी भन्न्नुभयो रे, नानी घरमा रुँदै रुँदै पुगेकी थिई। साथीहरूको अगाडि मेरो बेइज्जत भयो अब म त स्कुल जाँदिनँ भन्दै रुँदै घरमा बसेकी छे, सर मिसले पनि को विद्यार्थीसँग कसरी बोल्ने भनेर जान्नुपर्दछ । उसको नाम छ नामबाट नै बोलाउने गर्नुस् । कुन शब्दले को विद्यार्थीमा कस्तो असर पर्छ त्यति त जान्नुपर्छ नि भनेर उनका अभिभावक खँनिदै थिए।
प्रिन्सिपलसगको त्यो उजुर सुनेर म अलमल्ल परेँ, मैले बोल्ने कुनै शब्द भेटिनँ! त्यो बेला मलाई मेरा गुरु-गुरुआमाको याद आयो, अँखा रसाएर आयो, मन कुँडियाे मैले ठुलै गल्ती गरेकोजस्तो आभास भयो अनि प्रिन्सिपलको आदेशानुसार फेरिबाट यस्तो हुन्न नानीलाई भोलिबाट स्कुल पठाइदिनुहोला भनेर उनका अभिभावकसँग माफी मागेँ । उनका अभिभावकले भने सरले माफी हामीसँग होइन नानीसँग माग्नुपर्छ भनेर माग गरे। कक्षा आठमा पढ्ने चौध वर्षको आफ्नै छात्रासँग म पैँतालीस वर्षको बुडढोले पन्ध्र वर्षको शैक्षिक यात्रामा विद्यार्थीलाई तँ भनेर बोलाएकै भरमा माफी माग्नुपर्ने भयो। मैले मेरो विद्यार्थीसँग माफी मागेँ। मेरा लागि हिजो विद्यार्थी हुँदाको पन्ध्र वर्षेे यात्रा र शिक्षक हुँदाको यो पन्दध्र वर्षे शैक्षिक यात्राको सबैभन्दा तितो र अनौठो दिन आज थियो ।